शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेसमा यसरी देखियो राजेन्द्र महतोको ‘शक्ति’

बुधबार, ०३ माघ २०७४, ११ : १८
बुधबार, ०३ माघ २०७४

काठमाडौँ । ‘भारतको डिजाइनमा गएको भए यसपालि पनि चुनाव हारिन्थ्यो । २०७० दोहोरिन्थ्यो’ – राष्ट्रिय जनता पार्टी नेपालका अध्यष मण्डलका सदस्य राजेन्द्र महतो आफ्ना नजिकका नेता कार्यकर्तालाई बेलाबेला सुनाउँछन् ।

चुनाव जितेपछि भारतबारे महतोको यस्तो अभिव्यक्ति आउनु अर्थपूर्ण छ, किनभने २०७० मा चुनाव हारेपछि उनले दिएको अभिव्यक्तिले उनीमाथि ‘प्रो इन्डियन’ भएको गम्भीर आरोप लागेको थियो ।

०७० मा दोस्रो संविधानसभाको परिणामपछि तत्कालीन सद्भावना पार्टीका अध्यक्ष महतोले भनेका थिए, ‘आज तराईमा मधेसवादी होइन भारत पराजित भएको सन्देश गएको छ ।’

दोस्रो संविधानसभा चुनावमा सर्लाहीको तत्कालीन क्षेत्र–४ बाट महतोले महेन्द्र राय यादवसँग प्रतिस्पर्धा गरेका थिए । उनी पराजित भए । सायद त्यसैको आक्रोश उनी भारतमाथि पोखेका थिए ।

त्यतिबेला पत्रकारसँग कुरा गर्दा उनले भनेका थिए, ‘चुनावमा भारतले मधेसवादी दललाई असहयोग गरेका कारण पराजित भइयो । निर्वाचनमा मधेसवादी दलका लागि जस्तो भूमिका हुनुपर्ने थियो, त्यस्तो भूमिका देखिएन ।’

दोस्रो संविधानसभामा हार खाएपछि महतो जुन निष्कर्षमा पुगेका थिए, त्यसले उनको भारतसँगको सम्बन्ध सकर्तपूर्ण बनायो । चुनाव हारेपछि उनी भारतप्रति हरेक राजनीतिक निर्णयमा सतर्क देखिन थाले ।

यसको असर नाकाबन्दीको समयमा पनि देखियो । सीमा नाकामा सबैभन्दा कठोर महतो बनेका थिए । यतिसम्मको भारतले नै महतोलाई नाका अलि खुकुलो पार्न आग्रह गर्नुपर्ने अवस्था आएको थियो । तत्कालीन सद्भावनाका एक नेता भन्छन्, ‘महतोले नै नाकाबन्दी कडा बनाउन भूमिका खेलेका थिए भन्ने भारतको बुझाइ थियो । भारतको लगातारको चासोपछि महतोले रक्सौल नाका छाडेर विराटनगर गए । जहाँ उनलाई प्रहरीले लखट्यो । महतोको इच्छा थियो, समस्या हल नभएसम्म नाकाबन्दी छाड्नुहुन्न ।’

यति हुँदाहुँदै पनि महतो र भारतीय पक्षबीच संवाद भइरहेको थियो । संविधान संशोधनलगयातका मधेसका मुद्दा हल गर्ने मामलामा भारतीय भूमिकाप्रति महतो सन्तुष्ट थिएनन् । तैपनि  उनी दूतावासका डिनर र लन्च मिटिङमा सहभागी भइरहेका हुन्थे ।

स्थानीय तहको चुनावमा भारतीय चासो थिएन ।

जब प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव आयो, भारतले मधेसमाथि चासो राख्यो । यद्यपि भारतीय चासो राष्ट्रिय राजनीतिमाथि नै थियो ।

‘अगुल्टोले हिर्काएको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भनेजस्तै भारतबाट तर्सिएका महतोले यसपालि भारतीय सुझाव ग्रहण गर्न आवश्यक ठानेनन् । भारतको सल्लाहलाई अस्वीकार गरी चुनावमा हाम फाले । भारतलाई दिएको यो टक्करले उनलाई राजपा नेपालमा शक्तिशाली नेता बनाएको छ ।

‘भारतीय चासो मानेको भए आज म यो अवस्थामा हुने थिइनँ होला’ महतोले आफ्ना निकटलाई भन्ने गर्छन्, ‘भारतका सबै कुरा मान्नैपर्छ भन्ने होइन, उनीहरुको कुरा सुन्ने मात्र हो ।’

धनुषा–३ मा काङ्ग्रेस नेता विमलेन्द्र निधिसँग प्रतिस्पर्धा गरेर जितेका हुन् महतोले । मधेस मामलाका जानकारहरु भारत निधि र महतोबीच एकै क्षेत्रमा भीडन्त नहोस् भन्नेमा थिए । कतिपयको दाबी के छ भने भारतले महतोलाई धनुषा–३ बाहेक अरु क्षेत्र रोज्न या राष्ट्रियसभामा जान दबाब नै दिएको थियो ।

महतोले यो दबाब अस्वीकार गरे । मनोनय दर्ता गराउने एक दिनअघि कात्तिक १५ गते बालुवाटार बैठकमा महतोलाई बोलाइएको थियो । ‘धनुषा–३ छाड्न अनावश्यक दबाब दिइन्छ’ भन्ने बुझेर हुन सक्छ महतो बैठकमा गएनन् । रातारात काठमाडौँ छाडेर जनकपुर पुगे ।

विमान चढेर जनकपुर जाने कार्यक्रम बदलेर महतो गाडीमा गएका थिए ।

महतोले जनकपुर पुगेर उम्मेदवारी दर्ता गराए । त्यसपछि पनि उनीमाथि सो क्षेत्र छाड्न निकै दबाब पर्यो । भारतले दबाब दिइरहेको विषय उनका कार्यकर्ता र सहयोगीले चुनावीसभामा भन्ने गर्थें । फेसबुकमा पनि लेख्ने गर्थे ।

यद्यपि भारतीय चासोलाई अस्वीकार गर्दै हिँडेका महतो झुकेनन् । अन्ततः उनले चुनाव जिते ।

जोखिमपूर्ण ठाउँमा चुनाव मात्र जितेनन्, यसले उनको मधेसको भूमिमा उचाइ पनि बढायो । राजपा नेपालका सबैभन्दा शक्तिशाली नेताका रुपमा स्थापित भएका छन् ।

सङ्गठनात्मक रुपमा पनि राजपा नेपालभित्र उनको पकड बलियो बन्न थालेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभामा उनले नेतृत्व गरेको सद्भावना पार्टीका नेताहरुले नै बढी जितेका छन् । समानुपातिकमा पनि उनका नेता तथा कार्यकता नै बढी छन् । त्यसलै उनी पार्टीमा मात्र होइन, संसदीय दलमा पनि बहुमतमा रहेका छन् ।
राजपा नेपालका एकजना महासचिवले भने, ‘राजपा नेपालको संसदीय दलको नेता महतो नै हुन् । सर्वसम्मतिले दिए पनि महतो नै हुने हुन् । मतदान प्रकृयाबाट भए पनि संसदीय दलको नेता उहाँ नै हो ।’

दुई नम्बर प्रदेशमा पनि संसदीय दलको नेता महतो पक्षका व्यक्ति हुने निश्चित छ ।

राजपा नेपालले प्रतिनिधिसभामा जितेको ११ सिटमध्ये पाँच र प्रदेशसभामा जितेको १६ सिटमध्ये आठवटा सिट महतो पक्षबाट जितेका छन् । ‘यसले पार्टीमा महतोको पकड भयो’– राजपाकै नेताहरु मान्छन् ।

राजपा नेपाल छवटा पार्टी मिलेर बनेको दल हो । प्रतिनिधिसभामा महन्थ ठाकुरले एकजनालाई मात्र जिताउन सके भने राजकिशोर यादव, अनिल झा, शरतसिंह भण्डारी र महेन्द्र राय यादव आफूबाहेक एकजनालाई पनि जिताउन सकेका छैनन् । राजकिशोर यादव र अनिल झाले त प्रदेशसभामा पनि एकजना जिताउन सकेनन् ।

महतोप्रति महन्थ ठाकुर पक्षका नेता सशङ्कित देखिएका छन् । महतोले पार्टी नै कब्जा गर्लान् कि ? अन्य नेताले आशङ्का गर्न थालेका छन् ।

राजपा नेपालका महासचिव मनिष सुमन भन्छन्, ‘अब राजपा नेपालमा कुनै पार्टीका अवशेष बाँकी छैन, अहिले नै नयाँ पार्टी हो । केही दिन यो पार्टी वा त्यो पार्टी गर्छन् होला तर जति–जति पुरानो हुँदै जान्छ सबै हट्दै जान्छ ।’

महतो संसदीय दलको नेता बन्लान् ? उनले भने, ‘उहाँ त्यतिकै संसदीय दलको नेता बन्नुहुन्थ्यो । पुराना सद्भावना पार्टीको अङ्क गणितले उहाँको संसदीय दलको राजनीतिमा केही प्रभाव पार्दैन ।’

सुमन पनि महतो पक्षका नेता हुन् । उनले प्रदेशसभाको सांसदमा जितेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप