बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लागुऔषध कारोबारको आरोपमा इन्डोनेसियाली प्रहरीको कारवाहीमा नेपाली मारिए

बुधबार, ०३ माघ २०७४, १० : ४१
बुधबार, ०३ माघ २०७४

काठमाडौँ । लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा इन्डोनेसियामा एक नेपाली प्रहरीको कारवाहीमा मारिएका छन् ।

सेन्ट्रल जकार्ता मेट्रो प्रहरीले गत शुक्रबार ३४ वर्षीय शरण कुमार तामाङलाई गोली हानी मारेको इन्डोनेसियाली मिडियाहरुले जनाएका छन् ।

रिपोर्टमा तामाङले सोधपुछका क्रममा एक प्रहरी अधिकारीको हतियार खोस्न खोजेपछि प्रहरीले उनीमाथि गोली चलाएको उल्लेख गरिएको छ । गोली उनको छातीमा लागेको बताइएको छ ।

‘हामीले उनलाई लागुऔषधको कारोबार हुने स्थान देखाउन सोधपुछ गरिरहेका थियौँ,’ जकार्ता मेट्रो प्रहरीका प्रमुख कोम्बेस रोमा हुताजुलुले मिडियासँग कुराकानी गर्दै भने, ‘तर, उनले एक अफिसरलाई धकेल्दै हतियार खोस्ने प्रयास गरे । बाध्य भएर उनीमाथि गोली चलाउन पर्यो ।’ यो घटना शुक्रबार बिहान १२ः४५ मा भएको उल्लेख गरिएको छ ।

उनलाई गोली लागेपछि तुरुन्त प्रहरी अस्पताल लगिए पनि उनलाई मृत घोषित गरिएको थियो ।

कोम्बेसले सेन्ट्रल जर्कार्ताको गुनुङ सहरी, सवाह बेसार क्षेत्रमा लागुऔषध कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा कारवाही अघि बढाएको थियो ।

तामाङलाई त्यसक्षेत्रमा रहेको एक बैंकको अगाडी लागुऔषध कारोबार गरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा उनीसँग होटल अल्फाइनको कार्ड र ५२ ग्राम लागुऔषध पनि फेला परेको प्रहरीको भनाई छ ।

पछि उनको होटलको २०४ नम्बर कोठामा खोजी गर्दा ३.४ केजी लागुऔषध पनि फेला परेको बताइएको छ ।

उनी कसरी इन्डोनेसिया पुगे र नेपालमा उनको स्थायी ठेगाना कहाँ हो भन्ने केही खुलाइएको छैन ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप