शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

के हाच्छ्युँ रोक्दा ज्यानै जान सक्छ ?

बुधबार, ०३ माघ २०७४, १० : ०५
बुधबार, ०३ माघ २०७४

काठमाडौँ । के तपाईंले कहिले सोच्नु भएको छ, हाच्छ्युँ रोक्ने प्रयास तपाईंको लागि प्राणघातक साबित हुन सक्छ ।

यदी हाच्छ्युँ आएको बेला त्यसलाई रोक्न तपाईंले नाक या मुख बन्द गर्नु भयो भने यसले गम्भिर परिणाम ल्याउन सक्ने डाक्टरहरुको चेतावनी छ ।

केही समयअघि मात्र इंग्ल्याण्डको लेस्टर शहरमा एक ३४ वर्षीय पुरुषले हाच्छ्युँ रोक्ने प्रयास गर्दा उनको घाँटीको कोशिकाहरु फाटेको उपचारको क्रममा पत्ता लगेको थियो ।

साइन्स जर्नल बीएमजे केस रिपोर्टमा डाक्टरहरुले हाच्छ्युँ रोक्ने कोशिस गर्दा तपाईंको कानमा हानी पुग्न सक्ने उल्लेख गरेका छन् । यहाँसम्म कि तपाईंको दिमागको नशा पनि फाट्न सक्ने बताइएको छ ।

३४ वर्षीय पीडितका अनुसार हाच्छ्युँ रोक्न खोज्दा उनलाई आफ्नो घाँटीमा केही फाटेको जस्तो महसुस भएको थियो । त्यसलगत्तै घाँटीमा अधिक पीडा हनु थाल्यो । केही कुरा निल्नुको साथै बोल्न पनि अप्ठ्यारो हुन थाल्यो । जब डाक्टरहरुले उनको जाँच गरे, घाँटीको केही भाग सुन्निएको पाए ।

त्यसपछि उनको एक्सरे गरियो जसमा हाच्छ्युँ रोक्ने प्रयास गर्दा त्यसको दबावले उनको श्वासनलीको कोशिकाहरु फाटेको पत्ता लाग्यो ।

उपचार अवधिभर ती व्यक्तिले एक पाइपको मद्दतले खाना खान परेको थियो । अस्पतालमा एक हप्ता बसेपछि ती व्यक्तिलाई डिस्चार्ज गरिएको थियो ।

उनको उपचार गरिएको लेस्टर रोयल इन्फर्मरीका कान, नाक र घाँटी शाखाका डाक्टरले भने, ‘नाक र मुख बन्द गरेर हाच्छ्युँ गर्न घातक हुन सक्छ । यसबाट बच्न पर्छ ।’

विशेषज्ञहरुका अनुसार हाच्छ्युँ गर्दा बिमारी फैलिन सक्छ तर यसो भन्दैमा हाच्छ्युँलाई रोक्न हुँदैन । यसलाई बाहिर निक्लन दिनुपर्छ । बरु रुमालले मुख ढाकेर हाच्छ्युँ गर्न डाक्टरहरु सल्लाह दिन्छन् । त्यसपछि सो रुमाललाई फालेर राम्ररी हात धुनुपर्ने उनीहरुको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप