शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आहा! घलेभञ्ज्याङ: पर्यटनको सम्भावना बढ्दै

बुधबार, ०३ माघ २०७४, ०९ : ०२
बुधबार, ०३ माघ २०७४

नुवाकोट - पञ्चकन्या गाउँपालिका–३ स्थित घलेभञ्ज्याङको अहिले पर्यटकीय गन्तव्यका रुपमा सम्भावना बढदै गएको छ । 

काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको उक्त स्थानबाट विभिन्न हिमालका साथै मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटनको राम्रो विकास हुन थालेको छ । समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको उक्त स्थानबाट राउचुली, लाङटाङ, लाङटाङ री, पुमरी, दोर्जे लाक्पा नामका हिमाललाई नजिकबाट हेर्न सकिन्छ । 

निकै उचाईमा रहेकाले उक्त स्थानबाट धादिङ, गोर्खा, रसुवा, सिन्धुपाल्चोक लगायतका स्थान पनि देख्न सकिने हुँदा त्यस क्षेत्रका चारैतिरका टारी खेत तथा जंगलको हरियाली अर्को विशेषताका रुपमा रहेको छ । विभिन्न चराचुरुङ्गीको आवत–जावत हुने त्यस आसपास क्षेत्रमा पूर्वाधारको विकासका लागि भने केही लगानी गर्नुपर्ने देखिएको छ । 

हाल पञ्चकन्या गाउँपालिका तथा साबिक पञ्चकन्या गाविस–१ मा पर्ने उक्त क्षेत्रका तत्कालीन वडाध्यक्ष राम थापाले पर्यटन क्षेत्रको विकासका लागि पर्याप्त अवसर रहेको हुँदा स्थानीय तहले प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरी यातायातको विकास तथा भौतिक पूर्वाधारको संरचना तयार गर्नुपर्ने बताए । 

२० किमि कच्ची सडक
काठमाडौँको नयाँ बसपार्क गोँगवुबाट मानेभञ्ज्याङसम्म सार्वजनिक बस सेवा सञ्चालन हुने गरेको भए पनि स्थानीय छहरेबाट अगाडि बढेपछि कच्ची सडक हुँदै करिब २० किलोमिटर माथिसम्म जानपर्ने बाध्यता छ । 

वेलुमकोट, भैरुमकोट, सिमलकोट, मालाकोट, धुवाकोट, कालीकाकोट, धैवुङकोट, प्यासकोट र सल्यानकोट तथा स्थानीय भञ्ज्याङलाई विभिन्न कोणबाट हेर्न सकिन्छ । डाँडामा चलिरहने बतासबाट वायु ऊर्जाको समेत सम्भावना छ । यी नौवटा कोटबाट नुवाकोट नामाकरण हुन गएको विश्वास छ । 

स्थानीय कुण्डला उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थापाका अनुसार पहिले तत्कालीन तिब्बतसँग आर्थिक कारोबार गरिँदै आएको मानेभञ्ज्याङ पुरानो व्यापारिक नाकाका रुपमा त्यसै क्षेत्रमा अवस्थित छ । बिजुली बत्तीको समस्या नरहेको त्यस क्षेत्रमा घलेको उल्लेख्य बसोबास रहेको घलेगाउँ छ । 

होम स्टेका लागि पनि प्रयत्न
पञ्चकन्या गाउँपालिकामा करिब तीन हजार ५०० जनसङ्ख्या छ । चामल, कोदो, मकै, अदुवाको उत्पादन हुने उक्त क्षेत्रमा ‘होम स्टे’ का लागि पनि प्रयत्न भइरहेको छ । त्यति अग्लो क्षेत्रमा भएका टारी खेतमा फल्ने स्थानीय चामल अर्को विशेषताका रुपमा लिइएको छ । 

मिश्रित बसोबास 
स्थानीयवासीले सामान्य खाजाघर सञ्चालन गर्दै आएको घलेगाउँमा क्रमिक रुपमा पर्यटन विकास हुँदै जाँदा आवासीय होटल तथा रेस्टुरेन्ट स्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ । तामाङ समुदायको बाक्लो बस्ती भएको यहाँ क्षत्री, बाहुन र विष्टको पनि मिश्रित बसोबास पाइन्छ । 

विभिन्न जात्रा, पर्व 
डाँडामा भ्यू प्वाइन्ट निर्माण गरेमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न बल पुग्ने स्थानीयवासी टेकबहादुर भण्डारीको भनाइ छ । पञ्चकन्या मन्दिर, कालिका मन्दिरमा विभिन्न समयमा लाग्ने जात्रा पर्व त्यहाँको अर्को रमाइलो पक्ष छ । नुवाकोटको दरबार क्षेत्र पनि यहाँबाट देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप