बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चिठ्ठाको प्रलोभन देखाई ठगी गर्ने भारतीय नागरिक यसरी परे प्रहरीको फन्दामा

मङ्गलबार, ०२ माघ २०७४, २० : ५४
मङ्गलबार, ०२ माघ २०७४

सीताराम चौधरी

चन्द्रौटा(कपिलवस्तु) – ठगी आरोपमा एक भारतीय नागरिक कपिलवस्तुको चन्द्रौटाबाट पक्राउ परेका छन् ।  चन्द्रौटास्थित जस्मिन मनी ट्रान्सफरबाट रकम झिक्ने क्रममा विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको हो ।


पक्राउ पर्नेमा भारतको गोरखपुर थाना शाहपुर कौवाबाघ आरपीएफ कलोनी क्वार नं. ३९ डी.सी. बस्ने २८ वर्षीय अजित कुमार सिंह रहेका छन् । पक्राउ परेका भारतीय नागरिक सिंहको साथबाट प्रहरीले ५५ हजार रुपैयाँ, नक्कली कागजपत्र बरामद गरेको जनाइएको छ ।
सुनसरी जिल्ला धरान उपमहानगरपालिका ८ का २८ वर्षीय सरोज रानामगरलाई २५ लाख चिठ्ठा परेको प्रलोभनमा पारी कर बापत ५५ हजार बैंकमा जम्मा गर्न लगाई भारतीय गिरोहले ठगी गरेको आरोप उनलाई लगाइएको छ । सरोजले ग्लोबल आई.एम.ई. बैंक धरानबाट अजित कुमार सिंहको नाममा ५५ हजार पठाएका थिए । ईन्टरनेट भाइबरमा बिजय कुमार नामका अपरिचित व्यक्तिले पीडित सरोजलाई २५ लाख चिठ्ठा परेको प्रलोभन देखाई कर बापत पहिलो किस्तामा ५५ हजार बैंकमा जम्मा गर्न लगाइएको प्रहरीले जनाएको छ । 

कर रकममध्ये दोस्रो किस्ता ४५ हजार जम्मा गरेपछि मात्र २५ लाख पाइने गिरोहले प्रलोभन देखाएको पीडितको भनाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ । ठगीको घटनामा अन्य भारतीय नागरिकहरुको समेत संलग्नता रहेको प्रहरीले जनाएको छ । सर्वसाधारणलाई ठगी गर्ने गिरोहले नेपाली झण्डा प्रयोग गरी वेभ डिजाइन गरी २५ लाख चिठ्ठा परेको नक्कली डकुमेन्ट बनाई अनलाईन माध्यमबाट पीडितसँग सम्पर्कमा आई ठग्ने गरेको बुझिएको छ ।
पक्राउ परेका आरोपीलाई जिल्ला अदालत तौलिहवाबाट ठगी मुद्धामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए । 

प्रहरीले आरोपीलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरी निरीक्षक भट्टराईले नेपालको कानुनमा चिठ्ठा वा उपहार परेमा कर कट्टा गरी बाँकी चिठ्ठा परेकालाई उपलब्ध गराइने व्यवस्था रहेको बताए । उनले यदि कसैले चिठ्ठा परेको प्रलोभन देखाई कर जम्मा गर्न लगाएमा सतर्क हुन आग्रह गरे । पत्रकार सम्मेलनमा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, इलाका प्रशासन कार्यालय प्रमुख जगदीश अर्यालको उपस्थिति रहेको थियो । 

आरोपी गत पुस ३० गते चन्द्रौटास्थित जस्मिन मनी ट्रान्सफरबाट पक्राउ परेका हुन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप