शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो राष्ट्रिय योग खेलकुद प्रतियोगितामा १५० को सहभागिता

मङ्गलबार, ०२ माघ २०७४, १९ : २१
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौँ– नेपालमा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय योग खेलकुद प्रतियोगितामा १ सय ५० खेलाडीले भाग लिएका छन् ।  बुधबारदेखि माघ ५ गतेसम्म सुनसरीको इटहरीमा गरिने प्रतियोगितामा पुरुष र महिला समूह गरी १५० खेलाडीले भाग लिएको संघका कोषाध्यक्ष एवम् प्रतियोगिता छनोट समितिका संयोजक मणिराज कुँवर ‘योगी शान्तिदूत’ ले राससलाई जानकारी दिए । 

योगलाई खेलकुदसँग जोडेर यसका फाइदाका विषयमा जनचेतना जगाउने उद्देश्यले एक वर्षअघि राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको नेपाल योग खेलकुद संघले प्रतियोगिता आयोजना गरेको हो । परिषद्मा दर्ता भएका १७९ मध्ये संघमध्ये योग खेलकुद संघ कान्छो संस्था हो । 

यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई योग भन्ने प्राचीन ऋषि परम्परा रहेपनि आधुनिक समाजमा शारीरिक व्यायाम विशेषलाई मात्र योगको अर्थमा बुझिने गरेको छ । आठवटै चरण योगका अंग भन्ने प्रचारप्रसार गर्न पनि प्रतियोगिता सहयोगी हुने संघले जनाएको छ । 

“सबै खेलको माऊ योग खेल हो, योग नगर्ने खेलाडी खेल क्षेत्रबाटै वियोग हुन पुगेका घटना छन्, विश्वमा उत्कृष्ट बनेका खेलाडीले योगका आठ अंगमध्ये कुनै न कुनैको सहायता लिएका हुन्छन्”–उनले भने । 

आठवटा चरणमा प्रवेश गरेर योग अभ्यास गर्दा व्यक्तिको आचरण र स्वभावमा परिवर्तन हुनुलाई योग भनिन्छ । योगलाई स्वास्थ्यसँग जोडेर विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघ लगायतका विश्वव्यापी संस्थाले मान्यता दिएकाले खेलकुदसँग जोडेर पनि प्रचार गर्न खोजिएको आयोजक समितिले जनाएको छ । 

नियमित योग अभ्यासले शरीर स्वस्थ हुने भएकाले आम मानिसमा यसप्रति सचेत बनाउने उद्देश्य प्रतियोगिताको छ । उमेर समूह अनुसार तीन चरणमा प्रतियोगिता गरिने संघका अध्यक्ष डा.सूर्यबहादुर कार्कीले जानकारी दिए । 

पहिलो चरणमा ११ वर्षदेखि १७, दोस्रो चरणमा १८ देखि ४९ वर्षसम्म र तेस्रो चरणमा ५० वर्षभन्दा माथिकाको छुट्टाछुट्टै प्रतियोगिता हुन्छ । प्रतियोगिताका लागि एकल र समूह दुवै तरीकाले भाग लिन सकिने उनले बताए । महिला र पुरुषको पनि छुट्टाछुट्टै प्रतियोगिता आयोजना गरिने छ । प्रतिष्पर्धा उमेर समूह अनुसार नै हुनेछ । 

योग सप्ताहको अवसर पारेर ‘सबैका लागि योग, सधैँका लागि योग’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको बुधबार परिषद्का सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गर्नुहुनेछ ।  संघले गत वैशाखमा दक्षिण एसियाली योग प्रतिष्पर्धा पनि सम्पन्न गरेको थियो । प्रतियोगितामा दक्षिण एसियाली क्षेत्रका नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी चार देशको सहभागिता थियो । 

योग भगवान् शिवले शुरु गर्नुभएको वैदिक मान्यता छ । भगवान् शिवले पहिलोपटक पत्नी पार्वतीलाई योग शिक्षा दिनुभएको उल्लेख पुराण एवम् धर्मशास्त्रमा गरिएको छ । 

विश्वमा ३०० प्रकारका योगका प्रकार प्रचलनमा रहेपनि घेरण्ड ऋषिले ३२ वटालाई बढी प्रचलनमा ल्याएको विश्वास गरिन्छ । सरकारले विसं २०७२ देखि राष्ट्रिय योग दिवसको घोषणा गरेको थियो । प्रत्येक वर्ष माघ १ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ ।  यस शिक्षा मन्त्रालयले सप्ताहव्यापी रुपमा दिवस मनाउने निर्णय गरेको छ । माघ ७ गते काठमाडौँमा योगसम्बन्धी गोष्ठी गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप