बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस हारबारे के भन्छन् स्थानीय कार्यकर्ता ?

मङ्गलबार, ०२ माघ २०७४, १७ : ०८
मङ्गलबार, ०२ माघ २०७४

स्याङ्जा–नेपाली काँग्रेसले गत निर्वाचनमा प्रत्यक्षतर्फ तेश्रो स्थानमा खुम्चिनु परेसँगै नेपाली काँग्रेसका पराजयका कारणहरु आ–आफ्ना तवरबाट आइरहेका छन् । नेपाली काँग्रेसको एक पक्ष वामगठबन्धन र अन्र्तघातलाई कारण देखाइरहेको छ भने अर्को पक्ष नेतृत्वको कार्यक्षमतालाई दोष देखाइरहेको छ । केन्द्रिय नेताहरुको विचार वाहिर आइरहेको वखत नेपाली काँग्रेसका तल्लो तहका कटिवद्ध कार्यकर्ता तथा समर्थकहरुले नेपाली काँग्रेसको पराजयलाई कसरी बुझेका छन् ? स्थानीय तहमा बसेर नेपाली काँग्रेसका लागि खटिरहेका केहि प्रतिनीधि पात्रहरुको प्रतिक्रिया :
 

नेतृत्वमा चेत नपसे काँग्रेस प्रजा परिषदको अवस्थामा पुग्छ – विष्णु भण्डारी ,प्राध्यापक वालिङ वहुमुखी क्याम्पस 
नेपाली काँग्रेस भावनात्मक रुपमा एक हुन सकेको छैन । अन्य दलहरुसँग मिल्न सक्ने तर आफ्नै दल भित्र अन्तरकलह छ । नेपाली काँग्रेसले आफुले गरेका राम्रा कार्यको प्रचार गर्न सकेन । विपक्षी दलले नेपाली काँग्रेस प्रति लगाएका आरोपहरुलाई नेतृत्वले ट्याकल गर्नै सकेन ।

स्थानीय तहको चुनावमा  काँग्रेसले जित्ने स्थानमा माओवादी केन्द्रलाई सुम्पिदियो । त्यो गरि गठबन्धन प्रभावकारी हुुन सकेको थिएन माओवादी जित्ने स्थानमा काँग्रेसलाई स्थान दिइएन । काँग्रेस माओवादी गठबन्धन दश वर्षसम्म अघि बढ्छ भन्दै गर्दा गठबन्धन टुट्यो । काँग्रेसले धोका खायो ।
टिकट वितरण देखि दलमा गुटबन्दी स्पष्ट देखिएको थियो । आफ्ना पक्षका व्यक्तिलाई मात्रै अवसर दिने काम भयो । जसले गर्दा राम्रा कार्यकर्ता पछि परे । नेपाली काँग्रेसका लागि कटिवद्ध कार्यकर्ता जसले अवसर नै पाउन सकेनन् भने त नैराश्यता पैदा हुन्छ ।

दुई वाम दलका बीच भएको गठबन्धनले केहि सिट घटेको त हो तर प्रधान कारण त्यो होइन । नेतृत्व तल्लो तहका कार्यकर्ताको पहुँचमै भएनन् । पुँजीपति केन्द्रित नेतृत्व भयो । ग्रास रुटका कार्यकर्ताको सम्पर्कमा  आउनै नचाहने प्रवृत्तिले कार्यकर्तामा नैराश्यता उत्पन्न भएको थियो । 

विपीको समाजवाद मात्रै भनियो तर भोलिका सपनाहरुका बारेमा नेतृत्व मौन रह्रयो । निर्वाचनमा काँग्रेस पराजय हुनुमा पार्टी सभापतिको पुरै दोष छैन । उहाँमा देखिएको मुख्य समस्या नै अरुको कुरा नसुन्ने प्रवृत्ति हो । अब पनि केन्द्रिय नेतृत्वमा युवा पुस्ताले हस्तक्षेप गरेनन् भने पार्टी अझ धराशायी हुनेछ । नेपाली काँग्रेसमा अझैपनि विग्रह आयो भने नेपाली काँग्रेस प्रजा परिषदको अवस्थामा पुग्दछ ।

समिक्षा बैठकमा स्याङ्जामा झडप भयो । देशभर यस्तै अवस्था हुने सम्भावना छ । वैठकमा मुकाविला गर्न नसक्ने देखेर नै नेतृत्वले केन्द्रिय कार्य  समितीको बैठक डाक्न नसकेको जस्तो लाग्छ । 
 

वर्तमान नेतृत्व इतिहासको व्याज खान तल्लिन छ –राजु मार्मीक ,नेपाली काँग्रेस, शुभेच्छुक स्याङ्जा
वर्तमानमा नेपाली काँग्रेसले मुख्यतया इतिहासमा पुर्खाले कमाएको व्याज खान खोजेको देखिन्छ । काँग्रेसका दिवंगत  नेताहरु  विपी कोइराला, गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईको देनलाई  नेताहरुले आत्मसाथ गर्न सकेनन् ।

वर्तमान नेतृत्वमा स्पष्ट दृष्टिकोणको कमि देखिन्छ । नेपाली काँग्रेसले देश र जनताका पक्षमा गरेका कार्यहरु आम जनतामा पुर्याउन नेतृत्व चुकेको छ । जसको कारण नेपाली काँग्रेस तेश्रो स्थानमा खुम्चिनु पर्यो । भावी दृष्टिकोण स्पष्ट नहुन तथा वाम गठबन्धनलाई नकरात्मक कोणबाट चिर्न खोज्नु पनि हारको अर्को कारण जस्तो लाग्छ । 

दल भित्रको अन्तर्घात र व्यक्तिमा हावी मपाइत्वका कारण पनि केहि सिट नेपाली काँग्रेसले गुमाउन पुगेको हो । अब यहि नेतृत्वबाट नेपाली काँग्रेसको पुर्ननिर्माण सम्भव छैन । पुरानो पुस्ता सम्मान सहित विदा गरि नयाँ पुस्तालाई अवसर दिनुपर्दछ । नैतिक रुपमा पतन तथा भ्रष्टहरुलाई किनारा लगानुपर्दछ । नेपाली काँग्रेसले शर्मानाक हार बेहार्दा पनि समिक्षाका लागि केन्द्रिय कार्यसमितीको बैठक अहिले सम्म नडाकिनु नेतृत्वको कमजोरी हो ।  

दलभित्रका नेता निश्कृय हुँदा पराजय भोग्नुपर्यो – अर्जुन अर्याल ,नेविसंघ उपाध्यक्ष ,स्याङ्जा
 दुई दलको गठबन्धनले काँग्रेसको पक्षमा नतिजा कम आँउछ भन्ने त अड्कल गरेका थियौं तर यो अन्तरले काँग्रेसको नजिता आउने अपेक्षा थिएन । काँग्रेसको हारको कारण वाम गठबन्धन साथै नेपाली काँग्रेसमा सन्तुलन मिलाउन नसक्नु पनि हो । 

जस जसले टिकट ल्याउन सक्नुभएन । उहाँहरुले निर्वाचनमा दलका उम्मेदवारलाई सहयोग गर्ने काममा लाग्नुभएन । त्यसले पनि कतिपय क्षेत्रमा हार्नु पर्यो । स्याङ्जामा एउटा प्रदेश मात्रै निर्वाचन जित्न सकियो । मत परिणाम आफ्नो पक्षमा पार्नका लागि भुमिका खेल्न सक्ने नेताहरु नै निश्कृय बसेका कारण चुनाव हारियो ।

केन्द्रिय तहमा भएका विषयहरु तल्लो तहसंग तुलना गर्न सकिन्न । नेतृत्व जुन तरिकाले चलायनमान हुनुपर्ने हो ,त्यस्तो देखिदैन ।नेपाली काँग्रेसले जनताका सुखदुख वुझ्यो भने पहिलको अवस्थामा फर्कन सक्छ । अन्यथा काँग्रेसलाई गाह्रो अवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप