बन्ने भयो चलचित्र क्रिमिनल
काठमाडौं । सानोपर्दा तथा नेवारी चलचित्रमा चिनिएका निर्देशक अमृतमान महर्जनको निर्देशनमा चलचित्र ‘क्रिमिनल’ बन्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको मुहूर्त समेत गरिएको छ ।
मुहूर्तमा नेपाल चलचित्र बिकास बोर्डका सदस्य उत्तम के.सीले क्ल्याप हानेका थिए, भने सञ्चारकर्मीद्वय कृष्ण भुसालले नरिवल फुटाए । अर्काे पत्रकार सानुकाजी श्रेष्ठले क्यामेराको स्विच अन गरेका थिए । कलाकार किशोर खतिवडा, अनु पराजुली, सानिया खान र मोहन केसीले कार्यक्रममा मुहूर्न सर्ट दिएका थिए ।
अर्नभ फिल्मस् प्रोडक्शनको तेस्रो प्रस्तुतीका प्रस्तुतकर्ता अर्नभ बस्नेत, निर्माता सिताराम तिमल्सिना ‘ज्याक’, कार्यकारी निर्माता राजन परियार रहेको चलचित्रको १२ माघबाट छायांकन सुरु हुनेछ ।
पूर्वाञ्चलको विभिन्न स्थानमा छायाँकन गरिने चलचित्रमा किशोर खतिवडा, अनु पाराजुली, रामचन्द्र अधिकारी, सानिया खान, मोहन के.सी., सुरेन्द्र चापागाईं, उग्रसेन ढुंगाना, शंकर शाह, सम्राटजंग थापा, क्रान्तिजंग बराईली, शान्ति भट्टराई, दिव्य नेपाल लगायतका कलाकारको मुख्य भूमिका रहने छ ।
भरत बस्नेतको संगीत, शंकर महर्जनको द्वन्द्व, हरिस खनाल तथा गौरब गिरीको नृत्य र रामेशवर हुमगाईंको छायांकन रहने चलचित्रले समाजमा घट्ने अपराधिक घट्नाक्रमलाई मुख्य विषयवस्तुमा उठाउने छ ।