शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस बैठकका एजेण्डाः चुनावी समीक्षादेखि देउवाको राजीनामा माग्नेसम्म

मङ्गलबार, ०२ माघ २०७४, १४ : ३६
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं– असन्तुष्ट पक्षको निरन्तरको दवावपछि काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेका छन् ।

माघ ४ गतेका लागि बोलाएको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकका प्रारम्भिक एजेन्डा पनि तय भएका छन् । तर, नेताहरुले बैठकमा राख्ने व्यक्तिगत मुद्दा पनि तयार पारेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेसले बेहोरेको पराजय, सांगठानिक फेरवदल र प्रतिपक्षमा बस्दा अपनाउनुपर्ने भूमिका बैठकका मुख्य एजेन्डा हुनेछन् ।
काँग्रेस प्रवक्ता विश्वप्रकास शर्माले बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचन तथा सम्पन्न भइसकेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समीक्षा हुने बताए । 
आफ्नो फेसबुकपेजमार्फत प्रवत्ता शर्माले वैठकका एजेन्डा बाहिर ल्याएका छन् ।
लामो समयदेखि बैठकको माग गर्दै आएका काँग्रेसका युवा सातनेता मध्येका एक प्रदीप पौडेलले ढिलै गरी बैठक बोलाएको भएपनि यसलाई सकारात्मक रुपमा लिनुपर्ने प्रतिकृया दिए । बैठकमा प्रस्तुत हुने एजेण्डा र निकालिने निश्कर्षमा अब आफूहरुको ध्यान जाने उनले बताए ।
पौडेलले रातोपाटीसँग भने ‘हामीले शुरुबाटै निर्वाचनको समीक्षाका लागि बैठक राख्न सभापतिसमक्ष माग गरेका हौँ । जसमा निर्वाचनमा ब्यहोरेको हार नै प्रमुख छलफलको विषय बन्नेछ ।’

नेता पौडेलका अनुसार निर्वाचनको समीक्षासँगै काँग्रेसमा अन्य धरै कुरामा परिवर्तन जरुरी छ । ‘अव काँग्रेस पुरानै ढर्रामा कदापी चल्न सक्दैन । 
यसलाई गतिशिल बनाउन पनि संगठनात्मक स्वरुपमा परिवर्तन ल्याउन जरुरी छ । त्यो नेतृत्वको राजीनामा पनि हुन सक्छ जसका लागि हामी बैठकमा जोडदार माग गर्छौँ’ पौडेलले भने ।

पौडेल लगायतका नेताहरुले निर्वाचनमा काँग्रेस पराजय हुनुमा सभापति देउवालाई जिम्मेवार ठानेका छन् । यहीँकारण यूवा नेताहरुले सभापति देउवाको राजीनामा माग्नेसम्मको चेतावनी दिदै आएका छन् ।

यता काँग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्कासमूह पनि देउवाको विपक्षमा उभिने तयारीमा छन् । त्यसका लागि केही दिनयता यी समुहको गोप्य भेला र बैठक बस्दै आएको छ ।
मंगलाबारमात्रै काँग्रेसका कोइराला परिवारका नेताहरुको ‘लंच मिटिङ’ भएको छ, जहाँ चुनावमा काँग्रेसको हारको जिम्मेवार सभापति देउवालाई ठहराइएको छ । कोइराला परिवारको यो ठहर काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि देखिनेछ ।  

काँग्रेस प्रतिपक्षमा बस्ने निश्चित भएकाले अव काँग्रेस सत्तामा जाने–नजाने भन्ने बहस सकिएको नेता पौडेलको भनाई छ । उनले प्रतिपक्षमा बस्ने भएपछि अव सशक्त प्रतिपक्षको भूमिका कसरी निभाउने र एजेण्डा कस्ता बनाउने भन्नेमा ध्यान दिनुपर्ने पनि बताए ।

काँग्रेसको महाधिबेसन भएको झण्डै २ बर्ष हुन लाग्दा समेत काँग्रेसमा धेरैजसो विभाग गठन हुन सकेका छैनन् । त्यस्तै विधान अनुसार गठन भएका विभाग पनि पार्टीको विधानविपरित रहेको आरोप लाग्ने गरेको छ ।

काँग्रेसको विधानमा कार्यसम्पादन समिति गठन गर्ने र सो समितिमा संख्या समेत तोकिएपनि सभापति देउवाले एकलौटी ढंगले विधान विपरित सदस्य संख्या बढाएका छन् । काँग्रेसको विधानमा २२ सदस्यी केन्द्रीय कार्यसम्पादन समिति हुने भनिएपनि देउवाले २९ सदस्यीय बनाएका छन् ।

त्यस्तै सभापति देउवाले संसदीय बोर्डमा पनि काँग्रेसको विधान विपरित देउवाले १४ भन्दा बढी सदस्य राखेर गठन गरेका छन् । 

‘संसदीय बोर्डमा कति सदस्य छन् भन्ने कुरा देउवालाई बाहेक अरुलाई थाहा छैन’ काँग्रेस नेता पौडेलले भने ‘जथाभावी मान्छे राखिएको छ , कसैलाई जानकारी छैन । यति सम्मकी काँग्रेसका सक्रिय सदस्य जति समेत निर्वाचनमा भोट आउँदैन भने यो भन्दा अराजकता काँग्रेसमा के हुनसक्छ ?’   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप