शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विकल्प निर्माणको आधार के ?

मङ्गलबार, ०२ माघ २०७४, १२ : ००
मङ्गलबार, ०२ माघ २०७४


मनिकर कार्की निवर्तमान

यो पङ्क्तिकारलाई भेट्नेबित्तिकै एक जना मित्रले टिप्पणी गरे– ‘नयाँ शक्तिको ल्वाङ बैठक त अनुमान गरेभन्दा निकै भव्य भएछ नि ।’ उनी थप्दै थिए– ‘सानो पार्टीको बैठकमा केही दर्जन नेता भेला भएर निराश मुद्रामा कसैसँग मिल्ने निर्णय गर्लान् भन्ने अनुमान गरेको थिएँ । तर, तपाईंहरुको बैठक त निकै भव्य पो भएछ, अनि वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने दृढ सङ्कल्प गरेछ ।’ ती मित्रले जुनसुकै आशयका साथ यी कुरा गरेको भए पनि उनको कुरामा बैठक अघि र पछिका दृश्यहरु चित्रित छन् ।

हो, सायद यस पटक धेरैलाई यही लागेको थियो, अब नयाँ शक्ति पार्टीको अस्तित्व समाप्त हुनेछ । यो पार्टी कुनै ठूलो दलमा विलय हुनेछ । अनि त्यसैलाई बल पुग्ने गरी बैठक हलभित्र विकल्प निर्माणको गम्भीर समीक्षा चल्दै गर्दा केही अनलाइनले नयाँ शक्ति माओवादी वा एमालेमा विलय हुने कन्टेन्ट फिड गरिरहेका थिए । तर यस्ता बकम्फुसे अनुमान र स्वार्थपूर्ण चाहना विपरीत नयाँ शक्ति पार्टीको ल्वाङ बैठकले देशको रुपान्तरणमुखी राजनीतिका लागि वैकल्पिक शक्ति निर्विकल्प रहेको निष्कर्ष निकालेको छ । मध्य पुसको चिसो ठिहीमा देशभर तापक्रम घट्दै गर्दा अन्नपूर्ण अनि माछापुच्छ«े हिमालको काखमा २ वर्षे वैकल्पिक राजनीति यात्राको समीक्षात्मक बहस गर्दै बैठकले दृढताका साथ वैकल्पिक राजनीतिक शक्ति निर्माणको दिशामा अग्रसर हुने निर्णय गरेको छ । 

चुनावी समीक्षा
बैठकले चुनावी पराजयको गम्भीर समीक्षा पनि गर्यो । चुनावी परिणामको गणितलाई हेर्दा नयाँ शक्तिले अपेक्षाकृत मत पाउन नसकेको साँचो हो । तर नयाँ शक्तिले अबको राजनीतिक गन्तव्यका लागि जुन मुद्दा अगाडि सारेको छ, त्यसले पक्कै पनि दीर्घकालीन महत्व बोकेको छ । मूलतः देशमा नयाँ संविधान जारी भएसँगै अब देशको राजनीतिक गन्तव्य बदलिएको निष्कर्षसहित आर्थिक विकास, समृद्धि र आम नागरिकको प्रगतिलाई नै राजनीतिको मुख्य मुद्दा बनाइनुपर्ने आवश्यकता औँल्याउँदै नयाँ शक्तिले वैकल्पिक राजनीतिको बहस सुरु गरेको हो । दुई वर्षसम्म कसैको मनमस्तिष्कमा प्रवेश नपाएको समृद्धि शब्द अहिले आम चासो अनि आकर्षणको विषय बन्न पुगेको छ । अहिले सबै राजनीतिक पार्टीले देशको आर्थिक विकास र समृद्धिलाई नै राजनीति लक्ष्य घोषणा गरेका छन् । त्यसै अनुरुप आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । यसबाट पनि नयाँ शक्तिले सुरु गरेको राजनीतिक मुद्दा अहिले मूलधारमा स्थापित भएको प्रष्ट हुन्छ । 

त्यसैगरी राजनीतिक विकल्प निर्माणका लागि असल राजनीतिक संस्कार र अभ्यास अपरिहार्य छ । राजनीतिमा व्याप्त अपारदर्शी लगानी र भ्रष्टाचारजन्य गतिविधि नै यो देशको परिवर्तन र विकासको बाधक भएकाले सुशासन र सदाचारलाई राजनीतिको अर्को विषय बनाएको हो । अहिले सबै पार्टीहरुले आफू अब्बल प्रकृतिको सदाचारी घोषणा गर्न तम्सिरहेका छन् । सबैले देशलाई भ्रष्टाचाररहित बनाउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै नयाँ शक्तिले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको आवश्यकतालाई सुरुदेखि नै उठाएको छ । चुनावी अभियानका क्रममा वाम गठबन्धनले पनि यो विषयमा प्रतिबद्धता जनाएको थियो । यद्यपि चुनावपछिको सत्ताकेन्द्रीत संसदीय अङ्कगणितमा यो विषय गौण बन्ने लक्षण देखिइसकेको छ । 

विगतको राजनीतिक यात्रा
नयाँ शक्तिले ल्वाङ बैठकमा गरेको समीक्षाको पाटो भनेको वैकल्पिक राजनीतिको दुई वर्षे यात्राको समीक्षा हो । नयाँ शक्तिले तीतो कुराबाटै समीक्षा सुरु गरेको छ । तीतोपनमा औषधीय गुण हुन्छ । त्यसैले तीतो नै लाभदायक पनि हुन्छ, यदि हामी उपचारमा छौँ भने । हो, नयाँ शक्ति पनि अहिले राजनीतिक उपचारमा छ । त्यसैले तीतो कुरा पचाउने क्षमता वृद्धि गर्नुपर्छ । यसले नै नयाँ शक्तिलाई पनि नयाँ गन्तव्यमा पुर्याउन सक्छ । जब समीक्षाको कुरा आउँछ, नयाँ शक्तिले विगतको दुई वर्षे राजनीतिक यात्रामा कहाँकहाँ गल्ती गर्यो ? कहाँनेर राजनीतिक मुभ मिस भयो ? यसको पहिचान हुनु जरुरी छ । खासगरी वैकल्पिक राजनीतिक धारको स्थापना गर्ने उद्देश्यका साथ उदाएको नयाँ शक्तिले जब शक्ति आर्जनका लागि अन्य छोटो बाटो अख्तियार गर्ने कसरत गर्यो, नयाँ शक्तिको पहिलो मुभ त्यहीँनेर मिस हुन गयो । 

त्यसैको शृङ्खलास्वरुप पछिल्लो चुनावी समयमा वाम गठबन्धनमा जाने निर्णय त्यसपछि नेपाली काङ्ग्रेससँग चुनावी एकता गर्ने निर्णयले आम नागरिकमा एक प्रकारको भ्रम उत्पन्न हुन गयो र चुनावी अभियानका क्रममा नयाँ शक्तिले आफ्नो वैकल्पिक राजनीतिको ब्रान्ड गुमाउन पुग्यो । परिणामतः पारम्परिक राजनीतिप्रतिको असन्तुष्टिको मत नयाँ वैकल्पिक शक्ति साझा विवेकशीलले पायो । 

अनि अर्को कुरा यस पटकको चुनावमा जसरी दुई ठूला पार्टीले चुनावी गठबन्धन गरे त्यसले पनि एक खालको राजनीतिक स्थायित्वको सम्भावना बोकेको हुनाले एमाले–माकेको गठबन्धनले मत पायो । यद्यपि चुनाव यताको राजनीतिक परिदृश्य हेर्दा गठबन्धनले जनअपेक्षा अनुसार राजनीतिक स्थायित्व र देशको समृद्धिका लागि काम गर्ने सम्भावना कम हुँदै गएको छ । खासमा अहिले वाम गठबन्धनका दलहरु आफ्नै सत्ता स्वार्थकेन्द्रीत राजनीतिलाई अघि बढाइरहेका छन् । 

कस्तो राजनीतिक विकल्प ?
यिनै समीक्षाका साथ बदलिएको राजनीतिक गन्तव्यमा पुग्नको लागि र देशलाई विकास र समृद्धिमा लैजानको लागि राजनीति गर्ने तौरतरिका, शैली, विचार अनि नेतृत्व परिवर्तन हुनुपर्छ भन्दै नयाँ शक्तिले वैकल्पिक राजनीतिको सुरुवात गरेको हो । वैकल्पिक राजनीतिको बहस चल्दै गर्दा हाम्रो आर्थिक, सामाजिक, राजनीतिक अनि सामाजिक चेतनास्तर र हाम्रो धरताल हेर्दा कतै वैकल्पिक राजनीतिका लागि नेपाली समाज तयार भएको छ कि छैन ? अहिले यो प्रश्न पनि जन्मिएको छ । 

निश्चित रुपमा वैकल्पिक राजनीतिका लागि समाज एउटा चेतनास्तर र एउटा उत्पादनसम्बन्धबाट माथि उठ्न जरुरी छ । अहिले हामी सामान्य गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य अनि सामाजिक सुरक्षाकै विषयमा बहस गरिरहेका छौँ । अनि हामीले बहस गरिरहेका यी मुद्दाहरु मूलतः वैकल्पिक राजनीतिको मुद्दाभन्दा पनि मूलधारकै राजनीतिक मुद्दाहरु हुन् । त्यसैले यी सामान्य सेवा सुविधाको सहज आपूर्ति नहुँदासम्म समाजले अर्को फड्को मार्दैन र वैकल्पिक राजनीतिको अन्तरवस्तु आम चासोको विषय बन्दैन भन्ने एकथरी बुझाइ छ भने अर्कोथरी बुझाइ यी सबै काम गर्नकै लागि वैकल्पिक मूलधार जरुरी छ । 

तथापि हाम्रो धरातलीय यथार्थ के हो भने पारम्परिक राजनीतिले विकास र समृद्धिका लागि गर्नुपर्ने जुन प्रारम्भिक कार्य पनि पूरा गर्न नसक्दा अब यसका लागि वैकल्पिक बाटो अपरिहार्य छ । पारम्परिक राजनीतिले त्यो काम गर्न सकेन, त्यसैले एउटा सशक्त राजनीतिक विकल्पको आवश्यकता देखिएको हो । पुराना पार्टीहरुको सत्तामुखी चरित्र अनि भ्रष्ट आचरणका कारण देशको उन्नति र प्रगति हुन सकेन । नागरिकका सामान्य चासोका विषयहरु सम्बोधित हुन सकेनन् । 

त्यसैले तिनै प्राथमिक आवश्यकता पूरा गर्नका लागि फरक शैलीको राजनीति गर्ने, सुशासन, सदाचार अनि सामाजिक न्यायलाई आफ्नो मुख्य राजनीतिक लक्ष्य बनाउने राजनीतिक पार्टीको आवश्यकता महशुस गरिएको हो । त्यसैगरी बदलिएको राजनीतिक गन्तव्यमा पुग्नको लागि युवापुस्ता राजनीतिमा सक्रिय हुनुपर्छ । युवापुस्ताले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ भन्दै सशक्त राजनीतिक विकल्पको आवश्यकता महशुस गरिएको हो । अब सशक्त राजनीतिक विकल्प हुँदै वैकल्पिक राजनीतिको बहस गर्नुपर्ने देखिएको छ । 

विकल्प निर्माणका आधार
विकल्प निर्माणको सबैभन्दा बलियो आधार भनेको अहिलेको विद्यमान सामाजिक, राजनीतिक, आर्थिक अन्तरविरोधहरु नै हुन् । हाम्रो अपेक्षा र यथार्थताबीचको अन्तरविरोध नै विकल्प निर्माणको आधार हो । नागरिकको बदलिएको चाहना अनि पुराना शक्तिहरुको उही नारामुखी राजनीति नै अहिलेका लागि वैकल्पिक राजनीतिको आधार हो । त्यसैले अब राजनीतिको परिभाषा बदलेर मात्र हुँदैन, त्यसका लागि शैली, संस्कार, साङ्गठनिक स्वरुप र नेतृत्व प्रणाली पनि बदल्नुपर्छ । 


विकल्प निर्माणका लागि राजनीतिक शक्तिलाई सबै तहमा निक्षेपण गर्दै नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा स्थान दिनुपर्छ । राजनीतिलाई नागरिकको अपेक्षा र आवश्यकतासँग जोड्दै उनीहरुको दैनिकीलाई सम्बोधन गर्ने राजनीति नै विकल्प निर्माणको आधार हो । अनि केवल इमानदारिता र नैतिकताको स्कुलिङले मात्र राजनीतिको रथ हाँक्न सकिँदैन । त्यसका लागि समाज र सामाजिक अन्तरसम्बन्धबारे बृहत रुपमा पक्ष बुझ्न जरुरी हुन्छ । यसर्थ वैकल्पिक दर्शन, विचार र स्पष्ट राजनीतिक कार्यदिशाले मात्र विकल्प निर्माणलाई सार्थक बनाउन सकिन्छ । 

वैकल्पिक राजनीति भविष्यमुखी लामो यात्रा हो । त्यसैले यसका लागि धेरै मिहिनेत र धैर्यता चाहिन्छ, जुन स्वभावैले नयाँ पुस्तासँग हुन्छ । त्यसकारण नयाँ पुस्ताले नै वैकल्पिक राजनीतिलाई अघि बढाउन सक्छ । यसर्थ, नयाँ शक्तिले सङ्कल्प गरेको सशक्त वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि पनि नयाँ पुस्तालाई नै कार्यकारी भूमिकामा अग्रसर गराउनुपर्छ । अनि अघिल्लो पुस्ताले संरक्षकत्व प्रदान गर्दै उचित मार्गदर्शन गर्न भने जरुरी हुन्छ । त्यसकारण पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाको संयोजन नै सशक्त विकल्प निर्माणको आधार हुनेछ । 
[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनिकर कार्की निवर्तमान
मनिकर कार्की निवर्तमान

Twitter : @nibartaman

[email protected]

लेखकबाट थप