बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सभापतिले मनपरी गरे हिसाबकिताब हुन्छ : कुन्दनराज काफ्ले

मङ्गलबार, ०२ माघ २०७४, ११ : १७
मङ्गलबार, ०२ माघ २०७४

लामो समयसम्म नेपाल विद्यार्थी सङ्घको अधिवेशन हुन सकेन । त्यसपछि पार्टीको महाधिवेशनमा धु्रवीकरण भयो । एकीकरणपछि दलमा विधिवत् अधिवेशन चाहियो भन्दै थोरबहुत मुभमेन्ट गरेकै थियौँ । समयमा अधिवेशन हुनुपर्छ । विधानसम्मत अघिबढ्नुपर्छ भनिहेकै थियौँ । नेपाल विद्यार्थी सङ्घको अभ्यासमा आफ्नो मान्छे बनउनलाई विधानलाई क्रस गर्ने चलन पहिलेदेखि भएकै थियो । आफ्नो मान्छे बनाउने क्रममा तीन, चार दिनसम्म भोटिङ नगर्ने । त्यहीबीचमा सबै मिलाएर भोटिङ गर्ने, जित्दै नजित्ने भयो भने उद्घाटन गर्ने छोडिदिने र चिठी दिएर टुङ्याउने गरिएको थियो । विधिवत महाधिवेशन गरौँ भनेर  निर्वाचित हुनुभन्दा पहिले पनि हामीले पहलकदमी लियौँ ।

११औँ महाधिवेशनको समयमा हामी विभिन्न धु्रवमा विभाजित थियौँ । त्यो समयमा जेन्युइन व्यक्ति पदाधिकारीमा नछुटुन भन्ने पार्टीमा सहमति भयो । हामी निर्वाचनमा गयौँ । हामीले निर्वाचन जित्यौँ । चुनाव जितेपछि सभापतिलाई मैले बारम्बार भन्ने गर्थें– चिठी लेखेर दिने कार्य नगर्नुस् । त्यो कार्य अघिबढाउनु भयो भने तपाईंंसँग कुरा मिल्दैन । तपाईं विधिवत अधिवेशनका पक्षमा लाग्नुस् । तपाईं मेरो नेता हो भनेर अध्यक्ष (नैनसिंह महर)लाई भन्दै आएको थिएँ । मैले भोट नहाले पनि तपाईं नेविसङ्घको अध्यक्ष हो तर पनि मैले तपाईं नै मत दिएको हुँ । यो विषयमा उहाँलाई बारम्बार भनिरहेँ । मैले भने पनि केही स्थानमा उहाँले चिठी दिने कार्य गर्नुभयो । कीर्तिपुरमा चिठी दिनुभयो । अन्य अन्य धेरै ठाउँमा चिठी दिनुभयो । उहाँले चिठी वितरण गरेपछि असहमति राखेँ ।

स्वतन्त्र विद्यार्थीको निर्वाचनमा विधानतः अध्यक्ष, महामन्त्री, प्रादेशिक उपाध्यक्ष, प्रादेशिक सहमहामन्त्री र उपत्यकको सहमहामन्त्री टिकट वितरणको कमिटी बन्यो । त्यो बेला पनि उहाँले विधान मिच्नुभयो । टिकट वितरण समितिमा पाँच जना हुनुपर्नेमा नौँ जना बनाउनुभयो । स्वतन्त्र निर्वाचनको समयमा अध्यक्षलाई बारम्बार भन्यौँ । जेन्युइन व्यक्तिलाई टिकट दिऔँ । समस्या सकेसम्म तल्लो एकाइमा मिलाऔँ भन्यौँ । हाम्रो कुरा उहाँले क्रस गर्नुभयो । नेपाली विद्यार्थी सङ्घकै कारण २, ४ क्याम्पसमा निर्वाचन हुन सकेन । त्यो कुरा सभापतिलाई जानकारी गरायौँ । यसो नगरौँ भनेको उहाँले मान्नुभएन । सङ्घको विद्यार्थी विभागले पनि हाम्रो कुरा सुनेन ।

स्थानीय निकायको निर्वाचनको समयमा नेविसङ्घले केही मुभमेन्ट गर्यौँ । शैक्षिक एजेन्डा तथा सामाजिक रुपान्तरणको एजेन्डा उठाउने हाम्रो सङ्घ बनोस् भनेर उहाँलाई भनिरह्यौँ । तर उहाँले कहिले पनि मान्नु भएन । केन्द्रीय समितिको बैठकमा गरिएको निर्णयमा राजनीतिक नियुक्तिमा विरोध गर्ने पारित गरिएको थियो । चिठी लेखेर नदिने, विधानअनुसार अधिवेशन गर्ने माइन्युटमा उल्लेख छ । तर सभापतिले क्रस गर्दै आउनुभयो ।

सभापतिले सङ्गठनलाई व्यक्तिगत मनोमानीले चलाउने प्रयत्न गर्नुभयो । विवाद भएको भनिएका ११ वटा जिल्ला छन् भने विवादको किटान नै गरिएका ११ गरी २२ जिल्ला छन् । केन्द्रीय समितिले अनुमोदन गरेको तर स्थानीय रुपमा विवाद मानिएको ११ र केन्द्रीय समितिले नै खालि भनेका अरु ११ जिल्ला थिए । ती जिल्ला विवाद हाम्रो कार्यकाल अघिदेखि थिए । दलले विवाद समाधान गरी अधिवेशन गर्न भनेका ती जिल्लाहरुमा अधिवेशन गर्न निरन्तर भन्यौँ । त्यो कुरा पनि उहाँले मान्नुभएन ।

नेविसङ्घको अधिवेशनको दुई वर्षमा गर्नुपर्छ । उहाँ अधिवेशन सुन्नै चाहनुहुन्न । उहाँ अधिवेशन उन्मुख नै हुनुहुन्न । स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रशिक्षण गर्न भन्यौँ । रचनात्मक कामका लागि उहाँलाई दबाब दियौँ । ती कुरा सुन्दै सुन्नुभएन । नयाँ उम्रिएका सङ्गठनहरुले मुद्दाका हिसाबले युवाहरुलाई आकर्षित गरिरहेका छन् । त्यतातिर पनि नेपाल विद्यार्थी सङ्घको ध्यान जानुपर्छ । एजेन्डाका विषयमा कुरा गरौँ भनिरह्यौँ । उहाँ आफू पनि नगर्ने, जिम्मेवारी पनि नदिने गरी अघि बढिरहनुभयो ।

सभापतिमा उहाँ निर्वाचित हुँदा धेरै कुरामा सहमति भएको थियो । लिखित रुपमा भएका सहमति उहाँले कुनै कार्यान्वयन गर्नु भएन । प्रदेशसभा समितिले  मनोनित गरेका सभापतिले भेरिफाई गर्नुपर्ने हुन्छ । त्यो विषयमा उहाँले मान्दै मान्नु भएन । यो बनाउँ, त्यो बनाउँ भन्दै टार्दै आउनुभयो ।

पोखरा, पूर्वाञ्चल, सीटीईभीटी कार्यसमितिको जिम्मेवारी नै फरक फरक छ । सबैभन्दा मत बढी ल्याउने व्यक्ति समन्वय समितिमा अध्यक्ष हुन्छ । उहाँले विधानलाई लत्याउँदै तोक लाउन सुरु गर्नुभयो । आमन्त्रित सदस्य भन्ने विधानमै छैन । उहाँले आमन्त्रित सदस्य भनेर २३ जनालाई चिठी दिनुभयो ।
सङ्गठन चलाउन हितमा सभापतिलाई केही छुट हुनसक्दछ । उहाँ नितान्त व्यक्तिगट गुट निर्माणमा लाग्नुभयो । नेविसङ्घ होइन, सङ्गठन भनेकै नैनसिंह महर बनाउन लाग्नुभयो । हामीले प्रदेशसभा अन्तर्गतका कार्यक्रम गर्न भन्यौँ । त्यसैका सुरुवातका लागि तीन नम्बर प्रदेशले कार्यक्रम गर्यौँ । राजेश रौनियार अनुशासन समितिको संयोजक पनि हो । उहाँलाई विधानतः कार्यक्रम गर्न स्वायत्तता छ । सङ्गठनकै हितमा लाग्दाखेरि स्पष्टीकरण किन सोध्नुपर्यो ? रामप्रसाद अधिकारीलाई पनि स्पष्टीकरण सोध्नुभयो । स्पष्टीकरण सोधिसकेपछि नै नेविसङ्घको विवाद छताछुल्ल भएर सतहमा आएको हो । स्पष्टीकरण प्रहरीको पक्राउ पुर्जी जस्तै हो ।

बाँकेमा स्थानीय रुपमा मिलेको सङ्गठनलाई उहाँले चिठी पठाउनुभयो । चिठी पठाउँदै तोक्दै गर्नु भयो । हामी सङ्गठनलाई विधानअनुसार चलाउने भन्छौँ तर उहाँ खल्तीबाट चलाउन सुरु गर्नुभयो । हामी नीतिगत रुपमा सङ्गठन चलाउनपर्छ भन्छौँ । उहाँ खल्तीबाटै चलाउनु हुन्छ, त्यसकै लडाइँ हो यो ।
विवाद निर्वाचनभन्दा पहिले नै थियो । निर्वाचनको मुखमा विद्यार्थी सङ्गठनको विवाद देखिनु सङ्गठन र दलको हितमा हुँदैन भनी बाहिर नआएको हो । सङ्गठनलाई आफ्नो वशमा राख्न उहाँले दुस्साहस गर्नुभयो । परिणामतः यो अवस्था बाहिर आयो ।

सभापति नीतिगत चल्ने कि दम्भ चल्ने भन्ने विषय मुख्य हो । दम्भमा चल्ने हो भने नेविसङ्घ मिल्दैन । सभापति र महामन्त्री सङ्गठनको सेक्रेटेरियट हो । सचिवालय सञ्चालन गर्ने महामन्त्रीले हो । निर्णय गर्ने केन्द्रीय समितिले हो । सञ्चालन गर्ने र निर्णय गर्नेको बीचमा सैद्धान्तिक असहमति हुँदा स्वभाविक रुपमा सङ्गठनमा असर पर्छ । सङ्गठन चलायनमान हुन गाह्रो पर्छ । उहाँले विधान क्रस गर्दै जानुहुन्छ भने सचिवालयले त्यसलाई सहमति जनाउन सक्दैन । उहाँले प्रयोग गरेको लेटरप्याड ठीक कि बेठीक भन्ने काम मेरो हो, उहाँको होइन । म त सचिवालय हो नि त । सचिवालयको व्यक्तिले छुट्याउने हो ठीक र बेठीकलाई । सभापतिको सैद्धान्तिक कुरा छैन । कपोकल्पित कुरा गर्नुभएको छ ।

मूल नेतृत्व विधानअनुसार नचलेको विषय मूल पार्टीले जान्दछ । नेविसङ्घ त विधानअनुसार नचले अघिबढ्न सक्दैन । नवविद्यार्थीहरुलाई सिद्धान्त र विधिले सङ्गठनप्रति आकर्षित गर्न सकिन्छ । विधिविनाको सिद्धान्त कार्यान्वयन हुँदैन । जब उहाँले विधान मिच्नुहुन्छ, सङ्गठनमा दुर्घटना हुन्छ नै । मूल नेतृत्वको नजिक छु भनेर उहाँ मनपरी अघि बढेको हो भने हिसाबकिताब हुन्छ ।

म पूर्वमहामन्त्री भएर बस्न पनि तयार छु । मलाई कुनै पद चाहिँदैन । कसैको आड देखाएर पदमा बस्ने अधिकार हुन्न । सकेसम्म हामी समानान्तर समितिको पक्षमा छैनौँ । सभापतिलाई सही ट्र्याकमा ल्याउने लाइनमा छौँ । अहिले वेट एन्ड सीको अवस्थामा छौँ । उहाँका गतिविधि यस्तै रहिरह्यो भने केन्द्रीय समितिको बैठक डाकिन्छ । परामर्श गर्छौं । त्यसले पनि उहाँ सुध्रिनु भएन भने घरमूलीलाई सुधार गृह लानुपर्छ । उहाँविना पनि सङ्गठन चल्ने प्रक्रिया छ । तर उहाँले सङ्गठनभन्दा मुनि भएको महशुस गर्नुभयो भने सबैलाई हित हुन्छ ।

विधिविधान सम्मत ढङ्गले सङ्गठन चलाउनुपर्छ । प्रक्रियागत ढङ्गले निर्देशन समितिको निर्देशनअनुसार अधिवेशन गर्दा कारवाही गर्नुपर्छ भन्दै सभापति लाग्नुभएको छ । यो सङ्गठनको दुदर्शा हो । प्रक्रियामा जानहुन्न र प्रक्रियामा जानपर्छ भन्नेको लडाइँ हो ।

(नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेसँग लिलु डुम्रेले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप