बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशमा दुःख भोगेका कटुवालको करोडपति बन्ने लक्ष्य

मङ्गलबार, ०२ माघ २०७४, ०९ : ३६
मङ्गलबार, ०२ माघ २०७४

उदयपुर - अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ । 

यस्तै नेपाली युवामध्येका एक उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल पनि साढे तीन वर्षसम्म मलेसियामा बसेर पनि सोचे जस्तो कमाइ नभएपछि अहिले आफ्नै गाउँमा आएर कुखुरा फारम खोलेर करोडपति बन्ने लक्ष्यका साथ अगाडि बढिरहेका छन् । 

२०५५ सालमा आफ्ना बुबा मेखबहादुर कटुवाल तत्कालीन माओवादी जनयुद्धमा लागेको र २०५६ सालदेखि नै बुबा अहिलेसम्म पनि बेपत्ता भएको र घरको आर्थिक अवस्था कमजोर बनेका कारण आफू २०६६ सालमा १९ वर्षका उमेरमा नै मलेसिया गएको स्वयं विष्णु बताउँछन् । 

मलेसियामा ३३ महिना एक सुपरमार्केटमा सेल्समेनको काममा लागेको र दैनिक १८ घण्टा काम गर्दा पनि राम्रो तलब नपाएपछि आफू कम्पनी छाडेर अवैधानिक १३ महिना बसेको र सो समयमा धेरै दुःख पाउनु परेको कटुवाल बताउँछन् । 

बल्ल साहुको विदेश गएको रु डेढलाख ऋण तिरेर बाँकी ३० हजार लिएर स्वदेश फर्केपछि गाउँमा नै केही पेशा गरौँ भनेर २०७० सालदेखि एक लाख ऋणको लगानीबाट कुखुरापालन शुरु गरेका र अहिले १८ लाखभन्दा बढीको चारवटा कुखुरा फारम सञ्चालन गर्दै आएको कटुवाल बताउँछन् । 

अहिले आफ्ना चारवटा कुखुरा फारममा पाँच हजारसम्म कुखुरा रहेको र दैनिक आम्दानी रु १०÷१५ हजार हुँदै आएको कटुवालको दाबी छ । 

कटुवालको लक्ष्य 
कटुवाल भन्छन्, “मलेसिया बस्दा धरानको एकजना साथीसँग त्यहाँको दैनिक दुःख सहनु परेपछि स्वदेशमा नै गएर दुःख गर्ने प्रण गरेर नै दुवै फर्केपछि अहिले धरानको साथीले समेत ठूलो कुखुरा फारम सञ्चालन गर्दै आएको र आफू पनि अबको चार वर्षभित्र उदयपुर जिल्लाकै एक नम्बर ठूलो कुखुरा फारम उद्यमी बन्ने लक्ष्य छ ।” अबको चार वर्षपछि वार्षिक करोडको कुखुरा बिक्री गर्ने लक्ष रहेकोसमेत कटुवाल बताउँछन् । 

करोडपति बन्ने दाबी
अहिले आफू चारपाँच लाख ऋणमा रहेपनि २० लाख बराबरको पूँजीको विकास गरिसकेको दाबीसमेत कटुवालको छ । यही क्रममा आफ्नो दिनानुदिन व्यवसाय बढ्दै गए आफू सजिलै करोडपति बन्ने दाबीसमेत कटुवालले गरेका छन् । 

अहिले सञ्चालन हुँदै आएका आफ्ना चारवटा फारमबाहेक अब अन्य चारवटा नयाँ फारमसमेत थपेर सञ्चालन गर्ने तयारी भइरहेको कटुवाल बताउँछन् । 

नयाँ फारम सञ्चालन गर्न जग्गा पनि भाडामा करार सम्झौता भइसकेको र फारम निर्माण गर्न शुरु गरिसकेका कारण अब वैशाखदेखि पहिलोपटक नयाँ फारममा दुई हजार ५०० कुखुराको बच्चा हाल्ने योजना रहेको कटुवाल बताउँछन् । 

२०७८ सालसम्ममा आफूले एक दर्जनभन्दा बढी फारम सञ्चालन गर्ने र जिल्लाकै एक नम्बर कुखुरापालक उद्यमी बन्ने लक्ष्यका साथ अगाडि बढेका कटुवालले अहिले गाउँका दुईजना युवालाई समेत रोजगार दिन सफल भएका छन् । 

आफू बेपत्ता परिवारको भएको र राज्यले समेत अहिलेसम्म बेवास्ता गरेको, विदेशमा पनि सोचेजस्तो कमाइ गर्न नसकिएका कारण अब आफूले केही गर्नुपर्छ र अरुलाई पनि रोजगारी तथा स्वरोजगार बनाउने बाटो देखाउनु पर्छ भनेर यो पेसामा लागेको धारणा कटुवालको छ । 

अन्य युवालाई रोजगार
कटुवाल भने यसो भन्छन्, “आफू मात्र उद्यमी बन्ने हैन, अरुलाई पनि बन भन्ने सल्लाह र सुझाव दिने आफ्नो लक्ष्य छ, आफूले अबको दिनमा गाउँका दर्जनौँ आफूजस्ता युवालाई आफ्नो फारममा रोजगार दिनेसमेत लक्ष्य छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप