बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसमा किचलो: पौडेलको यस्तो दबाब, छुट्टै रणनीति बनाउँदै कोइराला परिवार

मङ्गलबार, ०२ माघ २०७४, ०६ : २६
मङ्गलबार, ०२ माघ २०७४

काठमाडौं - आसन्न राष्ट्रियसभा चुनावको रणनीतिबारे छलफल गर्न बसेको सत्तारुढ दल कांग्रेसका शीर्ष नेताहरूको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न दबाब दिएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार कांग्रेस शीर्ष नेताबीच राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारे छलफल भएको थियो ।

बैठकमा आफूले कांग्रेस विधानविपरीत गठन भएको संसदीय समिति र कार्यसम्पादन समिति खोरजीको माग गरेको वरिष्ठ नेता पौडेलले जानकारी दिए ।‘मलाई विश्वास छ, सभापतिजीले यो कार्य चाँडोभन्दा चाँडो गर्नुहुनेछ’, पौडेलले सोमबार साँझ अन्नपूर्णसँग भने । कांग्रेस विधानमा संसदीय समिति बढीमा १४ सदस्यीय हुने प्रावधान रहे पनि अहिले २४ जना र कार्यसम्पादन समितिमा २९ जना छन्।पौडेलले भने, ‘मेरो माग केन्द्रीय समिति बैठक तत्काल बोलाएर कांग्रेसलाई एकढिक्कामा राख्नुपर्ने पनि छ ।’

गाउँ इकाइदेखि केन्द्रसम्म पार्टीलाई करेक्सन गर्नुको विकल्प नभएको पौडेलले बताए । पार्टीका ४२ विभाग र चार वटा समितिलाई पूर्णता दिनुपर्नेमा पनि आफूले जोड दिएको जानकारी पौडेलले दिए । देउवाका मनोनयनप्रति पनि पौडेलले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । देउवाको मनोनयन विधानविपरीत भएको दाबी पौडेलको छ । केन्द्रीय समितिको बैठक बोलाउने आफ्नो मागसम्बन्धमा सभापति देउवाले ठोस जवाफ नदिएको पौडेलले बताए ।

महामन्त्री पनि देउवासँग असन्तुष्ट
स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनावी परिणाम कांग्रेसको पक्षमा नआएपछि पार्टी नेतृत्वप्रति कोइराला परिवारले पनि असन्तुष्टि देखाएको छ । कांग्रेसभित्र कोइरालाको विरासत थामेको दाबी गर्ने महामन्त्री डा.शशांक कोइराला, सुजाता कोइराला र डा.शेखर कोइराला नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै छुट्टै रणनीति बनाउने तयारीमा जुटेका छन् । कोइरालात्रयबीच आइतबारका लागि तय भएको बैठक विशेष कारणले स्थगन भएको थियो । बैठक यसै साता बस्ने स्रोतले जानकारी दिएको छ ।

शशांक, शेखर र सुजातामध्ये एकबाट पार्टीको नेतृत्व हुनुपर्ने तथा कोइराला परिवारकै अग्रसरमा पार्टी सुदृढीकरण अभियान थालिनुपर्ने माग स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव परिणामबाट आहत बनेका कांग्रेसी कार्यकर्ताले गरेको कोइरालात्रयको दाबी छ ।

महासमिति बैठक बोलाउन दबाब
कांग्रेसका १० जिल्लाका नेताहरूले स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा पार्टीले व्यहोर्नुपरेको हारको समीक्षा र कांग्रेसलाई सुदृढीकरण गरी भविष्यमा कांग्रेसलाई बलियो र सशक्त बनाउन वैचारिक जागरण अभियान प्रारम्भ गर्न नेतृत्वसमक्ष माग गरेका छन् । उनीहरूले पार्टी रूपान्तरणका लागि १५ वटा माग अघि सारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप