बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राना थारु समुदायलाई सूचीकृत गर्न माग

सोमबार, ०१ माघ २०७४, २१ : ०८
सोमबार, ०१ माघ २०७४

कञ्चनपुर – यहाँका भूमिपुत्रका रुपमा रहेका राना थारु समुदायले आफूलाई सूचीकृत गर्न माग गरेको छ । 

शुक्लाफाँटा नगरपालिका–४ असैनामा राना थारु संस्कृति जगेर्ना गर्ने उद्देश्यले सागर ज्योति युवा क्लबको आयोजनामा सञ्चालित सातौँ माघी मिलन समारोहलाई आज सम्बोधन गर्दै अधिकांश राना थारु अगुवाले राज्यका हरेक तहमा पहुँच अभिवृद्धि गर्नका लागि सूचीकृत गरी अधिकार प्रदान गर्न माग गरे ।  

संविधानसभादेखि हालसम्म भएका निर्वाचनमा सूचीकृतको माग उठाउँदै आए पनि पूरा हुन नसक्दा अधिकारबाट वञ्चित रहनुपरेको राना थारु अगुवा रामशाय रानाले बताए ।  

जनजाति आदिवासी महासंघका प्रेमवती रानाले राना थारु समुदायलाई चुनावका बेला मात्रै साधनका रुपमा प्रयोग हँुदै आएको गुनासो गर्दै अरुको साधनका रुपमा प्रयोग नभएर आफ्नो अधिकारका लागि आफैँले संघर्ष गर्नुपर्नेमा जोड दिए । 
 
प्रदेशसभाका नवनिर्वाचित सदस्य लालबहादुर खड्काले पश्चिमा संस्कृतिका कारण राना थारु समुदायको पहिचान गहना, पहिरन, रीतिरिवाज, चालचलन र संस्कृति लोप हुन लागेको बताए ।  

शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले राना समुदायको उत्थानका लागि नगरपालिकाबाट हुन सक्ने सबै विकासका काम अगाडि बढाउन आफू आतुर रहेको बताए ।  

लोपोन्मुख अवस्थामा पुगेका हन्ना, झिझी, होलीलगायत परम्परागत नृत्य प्रस्तुत कार्यक्रममा राना थारु समुदायको संस्कृति झल्कने वेशभूषा, गीत, चालचलन, रीतिरिवाज, लवाइखवाइ, रहनसहनबारे जानकारी दिइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप