बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो देखियो पत्रकार सम्मेलनमा अजयराज सुमार्गीको ‘बडी ल्यांग्वेज’

सोमबार, ०१ माघ २०७४, १७ : ४१
सोमबार, ०१ माघ २०७४

काठमाडौं–‘होटल सोल्टीमा त्यो साँझ एनआरएनको कार्यक्रम थियो,  मलाई कैलाश सिरोहियाले हात समातेर अर्को हलमा लानुभो, जबरजस्ती गर्दै मलाई दुई करोडमा हाइज्याक गरेको भन्नुभयो, मैले त्यो दिन बुझ्नै सकिनँ । भोलि पत्रिकामा आउँदै छ, आज दुई करोड दिन्छस् ? भनेको पो रहेछ ।’

सोमबार मध्यान्ह नयाँ बानेश्वरस्थित ‘हेलो नेपाल भवन’को छैटौं तल्ला पत्रकार र व्यापारी अजयराज सुमार्गीका शुभचिन्तकहरुले खचाखच भरिएको थियो । त्यही नेपाली ‘मिडिया टाइकुन’ कैलाश सिरोहिया र उनको प्रकाशन गृह कान्तिपुरविरुद्ध सुमार्गी आक्रोशित मुद्रामा प्रस्तुत हुने क्रममा राखेको धारणा हो, माथिको । 
सुमार्गीले सोल्टी होटलको २५ असोज २०७१ को त्यो साँझ सम्झँदै थपे, ‘उहाँले बेस्सरी रक्सी मगाएर खानुभो, त्यो बिल मैले तिरेँ, मलाई अहिले सम्झना छ त्यतिबेलाका साक्षी थिए पूर्व आईजीपी उपेन्द्रकान्त  । अर्यालसँगै अरुपनि थिए, त्यो हाइज्याकलाई मैले ठट्टा सम्झेको थिएँ, तर ठट्टा होइन रहेछ ।’

कान्तिपुरका प्रकाशक सिरोहियाले सुमार्गीलाई हाइज्याक गरेको भोलिपल्ट नेपाल साप्ताहिकमा आफ्नोबारे नकारात्मक कभर स्टोरी छापिएको स्मरण गरेका सुमार्गीले आफूसँग पटक–पटक ब्ल्याकमेलिङ गरेको आरोप समेत लगाए ।

२०७० सालमा कान्तिपुर मिडिया ग्रुपका प्रवन्ध निर्देशक कैलाश सिरोहिया र व्यापारी अजेयराज सुमार्गीबीच जग्गा लेनदेनबाट शुरु भएको सम्बन्ध अहिले ‘आरोप–प्रत्यारोप’ मा परिणत भएको छ ।  

सोमबार आफ्नै ब्यापारिक भवनमा आयोजित पत्रकार सम्मेलनमा सुमार्गी प्रवेश गर्दा मध्यान्हको सवा दुई भएको थियो । प्राविधिकहरु आफ्नो तयारी गर्दै थिए, त्यस्तोमा सुमार्गीले प्राविधिक कुराको जानकारी लिएर केही मिनेट अल्मलिए । पत्रकार सम्मेलन हलमा सुमार्गीको कम्पनीका केही स्टाफहरु, श्रीमती, केही आफन्त र शुभचिन्तहरु थिए ।   

सुमार्गीका लागि मात्रै ब्यवस्था गरिएको सोफामा उनी बसे, श्रीमती र अन्य पारिवारिक मान्छेहरु साइडमा थिए ।

पोडियममा लिखित प्रेस रिलिज सहित प्रस्तुत भएका सुमार्गीले सुरुवाती चरणमा कान्तिपुर दैनिकका प्रकाशक कैलाश सिरोहियालाई शालिन शैलीमै गाली गरेका थिए । एकाएक उनको पारा चढ्दै गयो, पत्रकार सम्मेलनको अन्तिमतिर उनले सिरोहियालाई तल्लो स्तरको शब्दले गाली समेत  गरे । 
जग्गा खदिर–बिक्री राजीखुसीमै भएको उल्लेख गर्दै सुमार्गीले जेल जाने अवस्थाबाट आफूले सिरोहियालाई बचाएको बताएका छन् । 

सुमार्गीले आफूलाई एकपटक बेचेको जग्गा फेरि पुरानै मूल्यमा फिर्ता मागेको तर नदिएपछि कान्तिपुरको प्रयोग गर्दै पटक–पटक ब्ल्यकमेलिङ गरेको उनको आरोप छ । उनले ब्ल्याकमेलिङलाई नग्याएरै छाड्ने पनि बताए । 

ठुला लगानीकर्ताले कान्तिपुरलाई मिडिया प्रोटेक्सनका लागि ‘गोल्डेन शेयर’ दिने गरेको दाबी गर्दैै सुमार्गीले भने, ‘सिरोहियाले मसँग सेयरको साटो पुरानै मोलमा जग्गा फिर्ता मागे ।’ 

‘जमिनको धरातल छामेर यहाँसम्म आएको हुँ, चिठ्ठा परेको हैन’ आक्रोशित मुद्रामा उनले भने, ‘पहिलो पटक नेपाल साप्ताहिकमा लेख्दा सुध्रिन्छ की भनेर केही नबोलेको हुँ, पछि मेरा खण्डनहरु पनि अपांग बनाउन थालियो ।’ 

कान्तिपुरले आफ्ना बिरुद्ध पटक–पटक प्रहार गर्न थालेपछि पठाएका खण्डनहरु समेत अपांग बनाएर प्रकाशन गर्न थालिएको उल्लेख गर्दै आफूले ल्याएको विदेशी लगानी अवैध नभएको उनले दाबी गरे । 

सुमार्गीले भने, ‘२३ अर्ब विदेशी लगानी ल्याएर यहाँ दश हजार भन्दा बढी युवालाई रोजगार दिन खोजेको छु, के यहाँ रोजगार दिनु आतंकवाद हो ?’ 
‘म डेरामा बसेर प्रगति गरेको मान्छे हुँ, के अब डेरामा बस्नेले प्रगति नै गर्नुहुन्न ?’ सुमार्गीले भने, ‘सिरोहियालाई टिक्न दिन्नँ ।’

कान्तिपुर दैनिकले केही समययता सुमार्गीले ल्याएको वैदेशीक लगानी गैरकानुनी भएको दाबी गर्दै समाचार प्रकाशन गर्दै आएको छ । 
तर, सुमार्गीले सोमबार आफूले करिब एक दर्जन कम्पनी लन्च गरिसकेको दाबी गर्दैै सबै लगानी कानुनसम्मत नै ल्याएको बताएका छन् । 


 

माथि भिडियो नदेखिएमा यहाँ क्लिक गर्नुहोस्

 

 

सिरोहिया–सुमार्गी सम्बन्ध : त्यो दोस्ती, यो दुश्मनी

सुमार्गीको पत्रकार सम्मेलन : कान्तिपुरलाई नजरना नचढाई व्यवसाय गर्न नपाइने नजिर बस्यो

छैटौं तलाबाट कैलाश सिरोहियामाथि सुमार्गीका १५ हमला

कर्पोरेट मालिकहरुको ‘युद्ध’ : अन्य को–को मुछिए ?

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप