शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्पोरेट मालिकहरुको ‘युद्ध’ : अन्य को–को मुछिए ?

सोमबार, ०१ माघ २०७४, १६ : ३०
सोमबार, ०१ माघ २०७४

काठमाडौँ । मुक्तिश्री प्रालिका अध्यक्ष अजयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबीचको विवाद यतिबेला उत्कर्षमा पुगेको छ ।

सुमार्गीले सोमबार पत्रकार सम्मेलन गर्दै कान्तिपुर मिडिया ग्रुपले आफूमाथि लगाएका आरोपहरु खण्डन गर्नुका साथै सिरोहियामाथि गम्भिर आरोप लगाएका हुन् ।

सुमार्गीको पत्रकार सम्मेलनको निश्कर्ष थियो सिरोहियाले आफ्नो स्रोत परिचालन गरेर आफूमाथि ब्ल्याकमेलिङ गर्न खोजेका हुन् । ‘२०७० सालमा कान्तिपुर मिडिया ग्रुपमा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र मबीच जग्गा कारोबार भएको तथ्य यहाँहरूको जानकारीमा आइसकेको छ । जग्गा कारोबार भएको केही समयलगत्तै ‘सुमार्गीले अप्ठ्यारोमा पारेर सस्तोमा जग्गा हत्यायो’ भन्दै हिँडेका उनी अहिले उक्त जग्गा फिर्ता लिन जुनसुकै हदसम्म अपराध गर्न  उद्यत देखिएका छन्,’ उनले भनेका छन् ।

यो पत्रकार सम्मेलनमा सिरोहिया र कान्तिपुर मिडिया ग्रुप मात्र होइन, अन्य केही हाइप्रोफाइल नाम पनि जोडिन पुगेका छन् । सुमार्गीले पत्रकार सम्मेलनमा अन्य केही हाइप्रोफाइल व्यक्ति र संस्थामाथि प्रश्न उठाएका छन् ।

१. एसिया न्युज नेटवक
कान्तिपुर मिडिया ग्रुप आबद्ध रहेको एसिया न्युज नेटवर्कलाई पनि सिरोहियाले आफूविरुद्ध भ्रम छर्न प्रयोग गरेको सुमार्गीको आरोप छ । सुमार्गीले भने, ‘द काठ्मान्डु पोस्ट सदस्य रहेको एसिया न्युज नेटवर्कको वेबसाइटमा समेत शीर्षक परिवर्तन गरी गरी भ्रम छर्ने गरेको देखिएको छ । एसिया न्युज नेटवर्क त्यस्तो संस्था हो, जसले लगानीकर्ताहरूलाई एसिया क्षेत्रमा लगानीको अवसर र सम्भाव्यताबारे जानकारी दिने उद्देश्य राख्दछ । कान्तिपुर मिडिया ग्रुपले आफू सदस्य रहेको त्यस्तो संस्थालाई समेत गुमराहमा राखेको छ । मेरा व्यावसायिक फर्ममार्फत नेपालमा लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई समेत निरुत्साहित गर्ने प्रयत्न गरेको देखिन्छ ।’

२. मिडिया सोसाइटी
कान्तिपुर ब्ल्याकमेलिङ प्रकरण अदालतमा पुगेपछि नेपाल मिडिया सोसाइटीले जारी गरेको विज्ञप्तिप्रति सुमार्गीले प्रश्न उठाएका छन् । यो ब्ल्याकमेलिङ प्रकरणमा सिरोहिया नेपाल मिडिया सोसाइटीका सदस्यहरूलाई भ्रममा पार्न एक हदसम्म सफल देखिएको सुमार्गीको ठहर छ । ‘एक सञ्चार उद्यमीसमेतको नाताले म नेपाल मिडिया सोसाइटीसामु जिज्ञासा राख्न चाहन्छु, एउटा सञ्चार माध्यमको दुरुपयोग गरेर कुनै सञ्चार उद्यमी ब्ल्याकमेलिङ गर्ने तहमा झर्छ भने मिडिया सोसाइटीले त्यसको जिम्मा लिन कसरी मिल्छ ? के सोसाइटीको कुनै एक सदस्यले निजी जीवनमा गर्ने आपराधिक कार्यको जिम्मा लिनु विवेकसम्मत हुन्छ ?’ उनले भनेका छन्, ‘म यो ब्ल्याकमेलिङ प्रकरणबारे गम्भीरताका साथ सोच्न मिडिया सोसाइटीका आदरणीय सदस्यहरूलाई आग्रह गर्दछु ।’

३. फायरसाइडको ‘मान्छे’
२६ असोज, ०७१ मा कान्तिपुर ग्रुपअन्तर्गतको ‘नेपाल’ साप्ताहिकमा आफू विरुद्ध समाचार छापेपछि सिरोहियाले आफूसँग गल्ती भयो भन्दै माफी मागेको पत्रकार सम्मेलनको क्रममा सुमार्गीले दाबी गरे । ‘पत्रिकामा छापेर गल्ती भयो भन्दै अन्तवार्ता छापौँ भनेर आएको छ,’ सुमार्गीले भने, ‘उसले फायरसाइडको मान्छेलाई पठाएको थियो ।’ फायरसाइड कान्तिपुर टेलिभिजनको चर्चित टक शो हो । सुमार्गीले फायरसाइडबाट को आएको भनेर नाम खुलाएनन् । भुषण दाहाल यस शोका अन्तर्वार्ताकार हुन् ।

४. पूर्व आइजीपी उपेन्द्रकान्त अर्याल

होटल सोल्टीमा एनआरएनको कार्यक्रम थियो । २०७१ साल असोज २५ गते ककटेल डिनर आयोजना गरिएको थियो । त्यहाँ सिरोहिया र सुमार्गी दुवै थिए । सुमार्गीका अनुसार त्यस साँझा नकिजै उपेन्द्रकान्त अर्याल थिए । अर्यालले देख्ने गरी सिरोहियाले सुमार्गीलाई हातमा समातेर एक कुनामा लगे । त्यसदिनको घटना सुनाउँदै सुमार्गीले भने, ‘उपेन्द्रकान्त अर्याल त्यतिबेला आइजिपी भइसकेका थिएनन् । उनले पनि देखेका थिए कैलाशले मलाई हातमा समातेर एउटा हलमा लग्यो र तपाईंलाई दुई करोडमा हाइज्याक गरेको भन्यो । हाइज्याक गरेको मैले कुरा बुझिँन । भोलिपल्ट नेपाल साप्ताहिकमा समाचार आयो, समाचार आएपछि मैले बुझेँ मलाई दुई करोडका लागि हाइज्याक गरिएको रहेछ ।

५. राजादेखि प्रचण्ड

पत्रकार सम्मेलनमा पूर्व राजादेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाम समेत सुमार्गीले लिए । तर, उनले उनीहरुबाट एक पैसा पनि नलिएको दाबी गरे । उनले भने, ‘प्रचण्ड, राजा, उपेन्द्र जसको धन हो, जे जे भन्ने मन लाग्छ भने हुन्छ । तर, यो सत्य होइन ।’ उनले राज ग्रुपमा रहेर सम्पत्ति आर्जन गर्न शुरु गरेको स्पष्ट पारे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप