शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमुख निर्वाचन आयुक्त यादवले राखे सरकारसँग नयाँ माग

सोमबार, ०१ माघ २०७४, १५ : ४१
सोमबार, ०१ माघ २०७४

विराटनगर–प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले सरकारसँग नयाँ माग गरेका छन् । सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने बताएका हुन् ।  क्षेत्रीय निर्वाचन कार्यालयको नवनिर्मित भवनको विराटनगरमा उद्घाटन गर्दै उनले यसले आयोग शक्तिशाली हुनाका साथै निर्वाचन सम्पन्न गर्न सहजता हुने धारणाा व्यक्त गरे । 

आयुक्त डा.यादवले आगामी माघ ७ गतेसम्म प्रदेश प्रमुख नतोकिए माघ २४ गते हुने राष्ट्रसभाको निर्वाचन प्रक्रियालाई असर नपर्ने गरी निर्वाचन आयोग आफ्नो काम कार्वाहीलाई अघि बढाउन बाध्य हुने बताएका छन् । उनले प्रदेश प्रमुख नतोकिँदा निर्वाचनसम्बन्धी कानुनी जटिलता उत्पन्न भएकाले चाँडै प्रदेश प्रमुख तोक्न सरकारलाई आग्रह गरे । 

आयुक्त डा. यादवले प्रदेश प्रमुख नतोकिँदा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूची बुझाउने तथा प्रदेशसभा सदस्यले कसरी शपथ लिने भन्ने विषयमा समस्या उत्पन्न भएको बताए । उनले निर्वाचन आयोग संविधान सम्बध अगाडि बढिरहेकाले यसप्रति कुनै पनि किसिमको शंका नगर्न आग्रह गर्दै आयोग कसैको पक्षमा नभएकाले यसलाई निर्बाध रुपमा काम दिनुपर्ने बताए । 

आयुक्त डा.यादवले राष्ट्रसभाको निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभा पूर्ण नहुने भन्दै राष्ट्रसभाको निर्वाचन सम्पन्न गर्नका लागि आयोग निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि बढाइरहेकाले त्यसका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए । 

विराटनगर महानगरपालिका–१० स्थित सोमबारे हाटमा चार कट्ठा जग्गामा निर्मित तीन तल्ले भवनमा सभा हलसहित जम्मा १२ वटा कोठा छन् । उक्त भवन निर्माणका लागि जम्मा रु एक करोड ४५ लाख खर्च भएको क्षेत्रीय निर्वाचन आयोग विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप