शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् डिमान्डका हिरोइन् : निर्माता, निर्देशक यिनका लागि लाखौँ खन्याउन तयार

सोमबार, ०१ माघ २०७४, १४ : ०३
सोमबार, ०१ माघ २०७४

काठमाडौँ– पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका अभिनेत्रीहरूमा पनि  स्टारडम देखिन थालेको छ ।
 

हिरोका प्रेमी, श्रीमती र सहयात्रीको रूपमा हिरोइनलाई प्रयोग गर्ने परम्परा तोडिँदै जाँदा अभिनेत्रीहरू पनि स्टार बन्न सफल भएका हुन् । हिरोका कारणले मात्र होइन, हिरोइनका कारणले पनि अहिले चलचित्र सफल हुन थालेका छन् । 

त्यसैले पनि होला निर्माता निर्देशकले अहिले केही अभिनेत्रीलाई हिरोभन्दा पनि बढी पारिश्रमीक दिन तयार देखिएका छन् । ती अभिनेत्री जसको नेपाली चलचित्रको बजारमा डिमान्ड छ र निर्माता निर्देशक आफ्नो चलचित्र खेलाउनका उनीहरूलाई  लाखौँ खन्याउन पनि तयार छन् ।

सम्राज्ञी राज्यलक्ष्मी शाह 
सम्राज्ञी पछिल्लो समयकी डिमान्डकी हिरोइन् हुन् । उनलाई चलचित्र खेलाउन निर्माताहरू मोटो रकम तिर्नसमेत तयार छन् । तैपनि उनलाई आफ्नो चलचित्रमा अभिनय गराउन कमै निर्माता मात्र सफल भएका छन् । ‘ड्रिम्स’बाट अभिनयमा डेब्यु गरेकी सम्राज्ञीको दोस्रो चलचित्र ‘ए मेरो हजुर २’ पनि दर्शकले राम्रो मन पराए ।

उनको तेस्रो चलचित्र ‘तिमीसँग’ प्रदर्शनको तयारीमा छ । उनी अहिले चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ चलचित्र अभिनयरत छिन् । यो चलचित्र लगतै उनले अभिनेता आर्यन सिग्देलको चलचित्रसमेत अभिनय गर्ने चर्चा छ ।

यो चलचित्रका लागि उनले १० लाख पारिश्रमिक लिएको समाचार पनि बाहिरिएको थियो । समाचार सत्य भएमा उनी अहिलेसम्मकै महँगी अभिनेत्रीसमेत बनेकी छन् । 

प्रियङ्का कार्की  
प्रियङ्का अहिलेकी सबैभन्दा व्यस्त अभिनेत्री हुन् । एभरेजमा भन्ने हो भने उनका चलचित्र महिनामा २ वटा सार्वजनिक भएकै हुन्छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बटरफ्लाइ’मा समेत उनको अभिनय देख्न सकिन्छ । यस वर्षको हिट चलचित्र ‘छक्का पन्जा २’मा पनि उनको अभिनय रहेको थियो ।

उनलाई चलचित्र खेलाउन निर्माता लाइनमा देखिएका छन् । रकमको त कुरौ छाडौँ कतिपय चलचित्रलाई उनले डेट मात्र दिए पुग्छ । उनले हालै चलचित्र ‘लिलिबिल’ सकाएकी छन् । अभिनयमा व्यस्त भएका कारणले उनले आफू अभिनित कतिपय चलचित्रको प्रचारमा समेत हिँड्न भ्याउँदिनन् ।

वर्षा राउत 
 म्युजिक भिडियो हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका वर्षा पनि दिन प्रतिदिन व्यस्त बन्दै छिन् । विषेशगरी ‘छक्का पञ्जा’ अभिनयका कारणले उनले चौतर्फी चर्चा बटुल्न सफल भइन् । ‘नाई नभन्नु ल ४’बाट चलचित्र अभिनयमा भित्रिएकी वर्षाका ‘छक्का पन्जा’, ‘जात्रा’, ‘छक्का पन्जा २’ ‘मेरो पैसा खोइ’ जस्ता चलचित्र सार्वजनिक भएका छन् । ठूला र सफल व्यानरका चलचित्रमा काम गरे पनि उनी अहिलेसम्म सोलो हिट अभिनेत्री भने बन्न सकेकी छैनन् ।

तैपनि उनी दर्शक तथा निर्माताको रोजाइमा पर्न सफल छिन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर झोले’मा समेत उनको अभिनय देख्न सकिन्छ । उनी अभिनेता शिव श्रेष्ठले निर्माण गर्न लागेको एक चलचित्रमा पनि देखिँदै छन् । यस चलचित्रमा उनले रियल प्रेमी संजोग कोइरासँग रिलमा पनि रोमान्स गर्नेछिन् ।

नम्रता श्रेष्ठ 
डिमान्डकी हिरोइनको कुरा गर्दा नम्रता श्रेष्ठको नाम पनि छुटाउन मिल्दैन । भलै उनको चलचित्र धेरै आएको छैनन् । तर पनि निर्माता निर्देशक चलचित्र बनाउन सोचेदेखि उनीसँग कुरा गर्न छुटाउँदैन् । नम्रताका जति पनि चलचित्र आएका छन् प्रायः सफल छन् भन्दा फरक पर्दैन । ‘सानो संसार’मा रितुको भूमिकाबाट अभिनयमा डेब्यु गरेकी नम्रताले करिब डेढ दर्जन चलचित्र अभिनय गरेकी छन् । उनका पछिल्लो हिट चलचित्र पर्व हो भने ‘क्लासिक’ र ‘नोभेम्बर रेन’ सफल मानिएका छन् ।

वर्षा सिवाकोटी 
वर्षा सिवाकोटी पनि पछिल्लो समय डिमान्डमा छिन् । ‘नाइँ नभन्नु ल २’ र ‘पुशपति प्रसाद’मा छोटो भूमिकामा देखिएकी वर्षा चलचित्र क्षेत्रमा छिट्टै दर्बिलो पाइला गाड्न सफल भइन् ।

यी चलचित्रपछि उनको ‘कारखाना’, ‘सुब्बा साब’, ‘लप्पन छप्पन’ जस्ता चलचित्र आए । चर्चा र अभिनय हिसाबले वर्षाले छलाङ मारे पनि यी चलचित्रको व्यवसाय भने राम्रो हुन सकेन ।

तर पनि निर्माता निर्देशकको रोजाइमा पर्न सफल देखिएकी छन् । अफर आएका र गर्छु भनेका धेरै चलचित्र उनले छाडेको खबरले गसिप बजार नतातेको पनि होइन । उनी अहिले दयाहाङ राइसँग ‘भैरे’ चलचित्र अभिनयरत छन् । 

केकी अधिकारी 
केकी अहिले निर्माता समेत बनेकी छन् । उनले आफ्नै ब्यानरमा निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ प्राविधिक कार्यमा छ । त्यसो त उनी बाहिरी ब्यानरमा पनि त्यतिकै व्यस्त छिन् ।

अघिल्लो साता प्रदर्शनमा आएको चलचित्र ‘राज्जा रानी’की समेत मुख्य अभिनेत्री हुन् । तर चलचित्रले दर्शक रिझाउन सकेन । म्युजिक भिडियो हुँदै चलचित्र ‘स्वर’बाट ठुलो पर्दार्काे अभिनयमा डेब्यु गरेकी केकीले ‘मसान’, ‘आई एम सरी’, ‘बितेको पल’, ‘भाग सानी भाग’, श्री ५ अम्बरे’, ‘ऐश्वर्या’ लगायत करिब दुई दर्जन हाराहरीका चलचित्र अभिनय गरेकी छन् । केकीका धेरै चलचित्र व्यावसायिक रूपमा असफल भए पनि उनको अभिनय यात्रा भने सफल भएको छ । किनभने उनले एकपछि अर्काे चलचित्र पाइरहेकी छन् । केकीलाई कुर्दैै चलचित्र छायाङ्कन केही महिनापछि सुरु गर्ने निर्माता समेत छन् ।

रजनी केसी 
‘परदेशी’ अभिनेत्री रजनी पनि पछिल्लो समय व्यस्त छिन् । उनका एकपछि अर्काे चलचित्र लगातार सार्वजनिक भइरहेका छन् ।  छविराज ओझाको ब्यानरमा बनेको चलचित्र ‘लोफर’बाट अभिनयमा डेब्यु गरेकी उनी ‘परदेशी’ चलचित्रमा इन्डियन आइडल प्रशान्त तामाङसँग जोडी बाँधिएकी थिइन् । यो चलचित्रको सफलतापछि उनका हातमा दर्जनांँ चलचित्रको अफर पनि परे । तर छानेर केही चलचित्र मात्र अभिनय गरिन् उनले ।

‘ब्रासलेट’, ‘लालाजोडी’, ‘दीपज्योती’, ‘चर्खा’ लगायत उनका दर्जन माथिका चलचित्र सार्वजनिक भएका छन् । केही चलचित्रबाट सफलता र केहीबाट असफलता पाएकी उनको एक चलचित्र ‘पटुकी’ पनि प्रदर्शनको सँघारमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप