शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माघे संक्रान्तिमा खाने परिकारका फाइदा यी हुन्

सोमबार, ०१ माघ २०७४, १२ : १०
सोमबार, ०१ माघ २०७४

माघे संक्रान्ति हिन्दूहरूको प्रमुख चाडमध्येको एक हो । यसको धार्मिक, सांस्कृतिक महत्व त छ नै, यसलाई संकृतिविद्हरूले सभ्यतासँग पनि जोडेर हेर्छन् । चिसोबाट थाकेका अंगलाई न्यानो प्रदान गर्नका लागि यस दिन घिउ, चाकु, तिल, तरुल, सखरखण्ड आदि खाद्यपदार्थ प्रसादका रूपमा प्रयोग गरिन्छ । माघे संक्रान्तिमा प्रयोग गरिने खाद्यपदार्थको फाइदा के छ त ?

विश्वास खड्काथोकीले संस्कृतिविद् र चिकित्सकलाई सोधेका छन् : डा. केदार सेन्चुरी,वीर अस्पताल/डा. गोविन्द टन्डन,संस्कृतिविद्

ऐतिहासिक कारण : मानिसको शरीर पञ्चतत्वले बनेको हुन्छ । घिउलाई सन्तुलित रूपमा प्रयोग गरेमा शरीरलाई ताप प्राप्त हुन्छ । जाडो याममा मानिसलाई बढी ऊर्जाको आवश्यकता हुने भएकाले पनि घिउ, चाकुको प्रयोग गरिन्छ । माघे संक्रान्तिमा प्रयोग गर्नुमा आफ्नै धार्मिक र सांस्कृतिक कारण पनि छन् ।

 

उखुलाई आगोमा खारेर चाकुमा परिष्कृत गरिन्छ । त्यही चाकु संक्रान्तिमा भगवान्लाई अर्पण गर्दै प्रसादका रूपमा लिने गरिन्छ । शरीरमा ताप सिर्जना गर्नका लागि मुख्य खाद्यपदार्थका रूपमा पुर्खाले चाकु खाने परम्पराको सुरुवात गरे । वैज्ञानिक कारणचाहिँ माघ १ मध्यजाडो भएकाले पनि यसको प्रयोग गरिएको हो ।

मेडिकल फाइदा : चाकुबाट सुगरमा पाइने तत्व प्राप्त हुन्छ । विशेषगरी चाकुबाट पाइने भनेको ग्लुकोज नै हो । चाकुबाट क्यालोरी, कार्बोहाइड्रेड र आइरन पनि पाइन्छ । यो खानु स्वास्थ्यका लागि फाइदाजनक छ । तर, मधुमेह र मिर्गौलाका बिरामीले बढी प्रयोग गर्नु हुँदैन ।

 

ऐतिहासिक कारण : पहिलेका मानिसले खाद्यपदार्थका रूपमा कन्दमुल र फलफूललाई प्रश्रय दिन्थे । त्यसैले, वनमा उपलब्ध हुने तरुल र घरमै उत्पादन गर्ने सखरखण्डलाई संक्रान्तिमा मुख्य खाद्यपदार्थका रूपमा संस्कार बसाइयो । नेपालमा प्राकृतिक तरुलको प्रयोग गरिन्छ भने पाश्चात्य मुलुकमा यसको ट्याब्लेड बनाएर खाने गर्छन् ।

यो रेसादार खाद्यपदार्थ हो र यसबाट बढी मात्रामा फाइबर पाइन्छ । जाडोमा तरुल मानिसका लागि अत्यन्त फाइदाजनक हुने भएकाले यसको प्रयोग थालिएको हो । तरुललाई पनि माघे संक्रान्तिमा प्रसादकै रूपमा खाने गरिन्छ ।

मेडिकल फाइदा : तरुल एक प्रकारको जरा हो । तरुलबाट प्रोटिन, मिनरल र विभिन्न प्रकारका भिटामिन पाइन्छ । जमिनमुनि फल्ने भएकाले यसबाट ग्लुकोज पनि पाइन्छ । यस्ता खाद्यपदार्थ माघे संक्रान्तिमा मात्र नभएर साप्ताहिक रूपमा प्रयोग गर्दा पनि राम्रो हुन्छ । डाइबिटिजका बिरामीले पनि तरुललाई कम प्रयोग गर्दा राम्रो हुन्छ ।
ऐतिहासिक कारण : तेलमध्येमा तिलको तेल सबैभन्दा उत्कृष्ट मानिन्छ । बजारमा ओलिभ, क्यास्ट्रोल, तोरी, सस्र्युं, बदाम आदिका तेल पाइन्छन् । तर, धार्मिक कार्यका लागि भने तिलको तेल नै पवित्र मानिन्छ । खसगरी तिलले शरीरलाई शक्ति प्रदान गर्छ । त्यसैले पनि संक्रान्तिमा तिलको लड्डु बनाएर खाने प्रचलन छ, जुन जाडोमा अत्यन्तै स्वस्थकर मानिन्छ ।

 

मेडिकल फाइदा : तिलको लड्डु या अचार बनाएर प्र्रयोग गरिन्छ । तिलमा मल्टी भिटामिन हुन्छ । यसबाट आइरन र प्रोटिनको मात्रा पनि पाइन्छ, जुन निकै स्वास्थ्यबद्र्धक छ । यस्ता खाद्यपदार्थले शरीरलाई हिट दिने भएकाले गर्मी मौसममा भने प्रयोग नगर्दा राम्रो हुन्छ ।

धार्मिक महत्व
माघ १ गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्छ । त्यसैले यसलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । माघ १ देखि सूर्य उत्तरतिर ढल्किँदै जान्छ । जसको कारण रात बिस्तारै छोटिँदै जान्छ । माघे संक्रान्तिको बिहानै नदी, पोखरी वा पानीको स्रोतमा पुगी नुहाउने प्रचलन छ । नुहाइसकेपछि तिलको आगो तापी न्यानो बन्ने गरिन्छ ।

त्यसपछि धुनी ताप्दै मिष्ठान्न भोजन लिने गरिन्छ । धुनीको तापले वर्षभरि गरिएको पापबाट मोक्ष पाउने किंबदन्ती पनि छ । माघ १ अर्थात् माघे संक्रान्तिका दिन तिल दान गर्ने चलन छ । धर्मशास्त्रमा भनिएको छ कि माघे संक्रान्तिमा जसले तिल, घिउ, चाकु, तरुल आदि खाँदैन र जलाशयमा स्नान गर्दैन त्यस्तो व्यक्ति जन्मभर रोगी हुन्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप