बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सात गोलको थ्रिलरमा सिटीको अपराजित यात्रामा पूर्णविराम

सोमबार, ०१ माघ २०७४, १० : १७
सोमबार, ०१ माघ २०७४

लण्डन । सात गोल भएको रोमाञ्चक खेलमा लिभरपुलसँग पराजित भएपछि म्यान्चेस्टर सिटी प्रिमियर लिगमा यो सिजन पहिलो पटक पराजित भएको छ ।
लिभरपुलको घरेलु मैदानमा शीर्ष स्थानमा रहेको सिटी ३–४ गोलअन्तरले स्तब्ध बनेको हो ।

दोस्रो हाफमा आठ मिनेटको अन्तरालमा ३ गोल गर्दै लिभरपुलले ४–१ को अग्रता बनाएको थियो । तर, खेलको अन्त्यतिर ६ मिनेटमा २ गोल गर्दै सिटीले खेलका फर्कने असफल प्रयास गरेको थियो ।

फिलिपे काउन्टिन्होलाई १४.२ करोड पाउण्डमा बार्सिलोना बिदा गरेपछिको पहिलो खेलमा लिभरपुलले सिटीको सिजनमा अपराजित रहने सपना चकनाचुर गर्यो भने आफ्नो अपराजित यात्रा १८ खेल पुर्याएको छ ।

आइतबार राती भएको खेलमा लिभरपुलले खेलको नवौँ मिनेटमा नै एलेक्स ओक्सालेड च्याम्बर्लिनको गोलको मद्दतले अग्रता लिएको थियो । तर, पहिलो हाफ सकिन लाग्दा लेरोय सानेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफमा भने आठ मिनेटको अन्तरमा रोबर्टो फर्मिन्हो, साडियो माने र मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ४–१ को अग्रता दिलाए ।

खेलको अन्त्यतिर बर्नान्डो सिल्भा र इके गुन्डोगानले गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल हुन सकेन ।

सन् २००३ को मे यता भएका पछिल्ला १८ खेलमा सिटीले एनफिल्डमा कुनै पनि खेल जित्न सकेको छैन । यता, सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लिभरपुलका प्रशिक्षक जर्गन क्लपबिरुद्ध पाँच खेलमा हार बेहोरेका छन् । जुन अन्य प्रशिक्षकहरुभन्दा धेरै हो ।

पराजयका बावजुद सिटी २३ खेलबाट ६२ अंकसहित शीर्ष स्थानमा कायम रहेको छ । लिभरपुल भने गोल अन्तरको आधारमा चेल्सीलाई उछिन्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको ४७ अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप