मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जलविद्युत् कम्पनी साधारणसभाको चटारोमा

आइतबार, ३० पुस २०७४, १९ : ३३
आइतबार, ३० पुस २०७४

काठमाडौँ– विभिन्न जलविद्युत् कम्पनीले आज यहाँ वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयरधनीलाई आर्कषक बोनस शेयर घोषणा गरेका छन् ।  आज यहाँ अपि पावर कम्पनी र लिवर्टी इनर्जीले साधारणसभा सम्पन्न गरेका हुन् । अपि पावर कम्पनीले आव २०७३÷७४ को खुद मुनाफाबाट आठ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको आज यहाँ सम्पन्न १४ औँ वार्षिक साधारणसभाले आठ प्रतिशत बोनस शेयरबाट कायम रहने शेयर संख्या ११ करोड ३४ लाख कित्ता हुनेछ । 

त्यसमा विद्यमान एक शेयर बराबर दुई शेयरका दरले हकप्रद शेयर निस्काशन गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रद शेयरबाट रु दुई अर्ब २६ करोड ८० लाख प्राप्त हुनेछ । सो रकममध्ये रु एक अर्ब सिद्धकाली पावर लिमिटेडले निर्माण गर्ने त्रिशूली–गल्छी जलविद्युत् आयोजनामा लगानी गर्ने तयारी गरिएको कम्पनीका कार्यकारी निर्देशक सञ्जिव न्यौपानेले जानकारी दिए । 

यस्तै बाँकी रहने रु एक अर्ब २६ करोड ८० लाख अपि पावरले निर्माण गर्ने १८ मेगावाट क्षमताका विभिन्न सौर्य ऊर्जा प्रणालीमा लगानी गर्ने तयारी गरिएको छ । यस्तै अपि पावरले माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणको प्रक्रियासमेत सुरु गरेको छ । दार्चुलामा आयोजनास्थल रहेको माथिल्लो चमेलिया ४० मेगावाट क्षमताको रहेको छ । सो आयोजनाको लागत रु सात अर्ब २० करोड रहेको छ । 

यस्तै लिवर्टी इनर्जी कम्पनीको पनि आज साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आम सर्वसाधरणमा शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । 

कम्पनीले तीन वटा जलविद्युत् आयोजना निर्माण अगाडि बढाएको छ । लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दोर्दी ए जलविद्युत् आयोजना आगामी असोजमा सम्पन्न गर्ने तयारी गरिएको छ । आयोजनाको शुक्रबार मात्रै मुख्य सुरुङ निर्माण सम्पन्न भएको छ । 

कम्पनीले प्रर्वद्धन गरेको बागलुङमा आयोजनास्थल रहेको बडीगाड खोलामा २१ मेगावाट जलविद्युत् आयोजना निर्माण शुरु गर्ने तयारी गरेको कम्पनीका प्रमुख कुशकुमार जोशीले जानकारी दिनुभयो । 

यस्तै सानिमा माई हाइड्रोपावर लिमिटेडको पनि शुक्रबार साधारणसभा सम्पन्न भएको आज प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख छ । कम्पनीले ११५ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माण गर्ने घोषणा गरेको छ । त्यसका लागि रु एक अर्ब ८ करोड रकम लगानी गर्ने प्रस्ताव पारित गरेको छ । 

कम्पनीले ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजनामा रु ४८ करोड, २८ मेगावाट क्षमताको तल्लो लिखुमा रु ४५ करोड र १४ मेगावाट क्षमताको मैलुङखोला जलविद्युत् आयोजनामा रु १५ करोड लगानी गर्ने प्रस्ताव पारित गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. सुर्वणदास श्रेष्ठले जानकारी दिए । 

मध्यतमोर र लोअर लिखुमा हकप्रद शेयर निष्कासबाट प्राप्त रकम र मैलुङखोलामा गत आवमा गरेको खुद नाफा सञ्चित कोषमा राखेर लगानी गर्ने तयारी गरिएको उनले जानकारी र्दिए । गत आवमा कम्पनीले रु २८ करोड ९९ लाख खुदनाफा गरेको थियो । 

सानिमामाइले २२ मेगावाट क्षमताको माई र सात मेगावाट क्षमताको माइक्यासकेड गरी २९ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप