शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मध्यभोटेकोशीको कामले गति लिएन, चार वर्षमा ४० प्रतिशत काम

आइतबार, ३० पुस २०७४, १८ : ३७
आइतबार, ३० पुस २०७४

–रमेश लम्साल 

काठमाडौँ– चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरेका अधिकांश आयोजनाको भौतिक प्रगति राम्रो रहेको बेला मध्यभोटेकाशी जलविद्युत् आयोजनाको भने दयनीय अवस्था रहेको छ ।  गत वर्ष नै निर्माण सम्पन्न हुनुपर्ने आयोजना जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँधस्थलको जग्गा समयमा उपलब्ध नभएका कारण हालसम्म ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । कार्यतालिकाअनुसार आयोजना सन् २०१७ जुनमा निर्माण सक्ने गरी तयारी गरिएको थियो । 

निर्माण व्यावसायीलाई अपेक्षाकृत रुपमा काम गराउन नसक्दा आयोजनाको काममा ढिलाइ भएको हो । संशोधित कार्यतालिकाअनुसार आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएको छ । 

ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम जसरी पनि दुई वर्षभित्रमा सक्न संयुक्त रुपमा निर्देशन दिएका छन् । 

ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सक्ने सुनिश्चित हुने एकीकृत समय तालिका तयार गरी सोहीअनुसार सबै काम समानान्तरुपमा अगाडि बढाउन निर्देशन दिएका छन् । 

सचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङले शनिबार आयोजनाको स्थगलत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता ल्याह्यामेयर र ठेकेदार कम्पनीहरु क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्ट्रक्सन तथा एन्ड्रिज हाइड्रोका प्रतिनिधिसँग छलफल गर्नुभएको आयोजनाले जनाएको छ । 

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा सचिव उपाध्यायले स्थलगत निरीक्षणबाट आयोजनाको काम ठेक्का सम्झौताअनुसार हुन नसकेको पाइएको जानकारी दिए । कामलाई तीव्रता दिन जनशक्ति बढाउनुपर्ने देखिन्छ, ठेकेदारले व्यहोर्दे आएको नगद प्रवाहको समस्यालाई समाधान गरिदिन प्राधिकरण र आयोजनालाई पटक–पटक निर्देशन दिइएको छ । तर काम नहुँदा भने समस्या पैदा भएको छ । 

आयोजनाको बाँधस्थल, सुरुङ, विद्युत् गृहलगायत सबै काम भइरहेको छ । तर अपेक्षाकृत रुपमा गतिमा भने छैन । बाँधस्थल खन्न शुरु भएको छ । विद्युत् गृह रहने ठाउँ खन्ने काम सकिएको छ । कुल ७।१ किलोमिटर लामो मुख्य सुरुङमध्ये करिब हालसम्म तीन किलोमिटर खनिएको छ । विद्युत् गृहमा रहने केही विद्युतीय उपकरण आयोजना स्थलमा ल्याइसकिएको छ । 

कार्यकारी निर्देशक घिसिङले आयोजनाको काम अपेक्षाअनुसार अगाडि बढ्न नसकेको बताए । उनले आयोजनाको काम अहिले सबैतर्फबाट भइरहेता पनि प्रगति सन्तोषजनक नरहँदा गुनासो बढेको उल्लेख गरे । 

आयोजना निर्माण सुरु भएको चार वर्ष बितिसकेको छ, अब दुई वर्षभित्रमा जसरी पनि सक्नु पर्ने दबाब पनि देखिएको उनले बताए । एकीकृत तालिका बनाएर सोहीअनुसार हरेक काम समानान्तररुपमा अगाडि बढाउनु जरुरी देखिएकाले आयोजना ढिलाइ गर्ने कसैलाई पनि छुट दिन नसकिने उनको भनाइ छ । 

दुई वर्षभित्र निर्माण सक्ने गरी कामदार थपी निर्माणलाई तीव्रता दिन, बाँधस्थलको काममा विशेष ध्यान दिन, निर्माण सामग्रीको पर्याप्त व्यवस्था गर्न, ठेकेदारलाई नगद प्रवाहको समस्यालाई तत्काल समाधान गर्न प्राधिकरण तत्पर रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । 

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण ढाँचामा चिनियाँ कम्पनी क्वाङसीले ठेक्का लिएको छ । इलेक्ट्रिमेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ । 

रु १२ अर्ब २८ करोड लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ । चिलिमे कम्पनीको अगुवाइमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण, सिन्धुपाल्चोकका चार इन्भेष्टमेन्ट कम्पनी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, सिन्धुपाल्चोकबासी, सर्वसाधारणलगायतको लगानी रहने छ । 

आयोजनाबाट वार्षिक वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने छ । आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक रुपमा रु दुई अर्ब ९० करोड ४३ लाख आम्दानी गर्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप