बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा सदस्यका लागि दौडधुप, कसको भाग्यमा पर्ला चिठ्ठा ?

आइतबार, ३० पुस २०७४, १८ : ०३
आइतबार, ३० पुस २०७४

काठमाडौँ । सरकारले माघ २५ गतेका राष्ट्रियसभा निर्वाचनको मिति तय गरेपछि नेताहरुको दौडाधुप बढेको छ ।

पार्टीबाट राष्ट्रिसभा सदस्यको उम्मेदवार बन्नका लागि आ–आफ्ना शक्ति केन्द्रमा धाइरहेका छन् । त्यसमा मधेशवादी दल पनि अछुतो छैन । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तह र प्रदेशसभामा प्राप्त गरेका सीटका आधारमा राष्ट्रियसभामा लगभग पाँच सीट पाउने देखिन्छ ।

त्यसका लागि पार्टीमा चुनाव हारेकादेखि लिएर समानुपातिकमा नपरेकाहरु समेत दौडधुपमा रहेको देखिन्छ ।

यस्तो दौडधुप सबैभन्दा बढी राजपा नेपालमा रहेको देखिन्छ । राजपा नेपालमा सबभन्दा बढी चर्चामा वृषेश चन्द्र लालको नाम चर्चामा रहेको छ । उनी पार्टीका उपाध्यक्ष पनि हुन् । उनको नाम न समानुपातिकमा राखिएको छ न त उनी प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार बनेका थिए ।

राजपा नेपालका संयोजक ठाकुर पनि उनी प्रति सकारात्मक देखिएका छन् । तर, ठाकुरले प्रदेश प्रमुखमा आफ्ना सम्धी उमाकान्त झालाई सिफारिश गरेपछि लालको पक्षमा पार्टीमा सहमति बन्ने सम्भावना कम देखिएको पार्टी स्रोत बताउँछ ।

लाल र झा दुवै महन्थ ठाकुर पक्षका नेता हुन् ।

त्यस्तै, जनकपुरका डा. विजय सिंहको नाम पनि चर्चामा रहेको छ र उनी पनि त्यसका लागि आफ्ना गतिविधि तीब्र बनाएका छन् । संयोजक उनी पनि महन्थ ठाकुर पक्षकै नेता हुन् । दोस्रो संविधानसभा चुनावमा तत्कालिन तमलोपका तर्फबाट समानुपातिक सांसद बनेका थिए ।

त्यस्तै नरसिंह चौधरी, गोविन्द चौधरी, सर्वेन्द्रनाथ शुक्ला, विनोद सिंह, मृगेन्द्र कुमार सिंह यादव, शेखर सिंह, विशेश्वर रजक लगायतले पनि राष्ट्रिय सभाका लागि दौडधुपमा लागेका छन् । नरसिंह चौधरी पार्टीका उपाध्यक्ष हुन् उनी कपिलवस्तुबाट प्रतिनिधिसभामा चुनाव हारेका हुन् ।

नवलपरासीबाट गोविन्द्र चौधरी र रुपन्देहीबाट सर्वेन्द्रनाथ शुक्ला पनि चुनाव हारेका हुन् । दुवैजना पार्टीका उपाध्यक्ष हुन् । चर्चामा रहेको अर्को नाम हो विनोद सिंहको । उनी पनि राष्ट्रियसभाका लागि दौडमा छन् । तर उनको सम्भावना धेरै नै कम रहेको राजपा नेपालका नेताहरु नै बताउँछन् । प्रदेशसभाको समानुपातिकमा नपरेपछि पार्टी कार्यालयमा तोडफोड गराएको आरोप उनीमाथि लागेको छ ।

त्यही भएर उनलाई दिने सम्भावना धेरै कम रहेको छ । तर, पार्टीमा उनको ‘योगदानलाई कदर’ गर्नुपर्छ भन्नेहरु पनि छन् । त्यही भएर विनोद सिंह आफ्नो प्रयास छाडेका छैनन् । उनी पार्टीका अध्यक्ष मण्डलका सदस्यहरुको घरघर धाइरहेका छन् ।

मृगेन्द्र सिंह यादव पनि पार्टीका उपाध्यक्ष हुन् । उनी पनि प्रतिनिधिसभामा चुनाव हारेका नेता हुन् । राजेन्द्र महतो पक्षका उनी राष्ट्रियसभामा जानका लागि प्रयास गरिरहेका छन् । उनका लागि राजेन्द्र महतो पनि सकारात्मक रहेको बुझिएको छ । त्यस्तै शेखर सिंह पनि राष्ट्रिय सभा सदस्यका लागि शक्ति केन्द्र धाइरहेका छन् । उनी शरतसिंह भण्डारी पक्षका नेता मानिन्छ । उनी पार्टीका उपाध्यक्ष हुन् ।

त्यस्तै फोरम नेपालबाट रत्नेश्वरलाल कायस्थ, श्रवणलाल अग्रवाल, रत्नेश्वरलाल कायस्थ, विरेन्द्र महतो, डा.रामअवतार यादव, अशोक राई, सीमा सिंहलगायको नाम चर्चामा रहेको छ ।

रत्नेश्वर लाल कायस्थ नेपाल सरकारका पूर्व सचिव हुन् भने उनी पार्टीका पनि सचिव हुन् । यद्यपी फोरम नेपालले कार्यस्थलाई प्रदेश प्रमुखका लागि पनि सिफारिश गरेको बुझिएको छ । उनको नाम प्रतिनिधिसभाका लागि समानुपातिकमा नाम रहेको छ तर पर्ने सम्भावना निकै कम छ ।

श्रवण अग्रवाल पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सभासद् पनि थिए । यसपटक उनको नाम समानुपातिकमा कतै राखिएको छैन । त्यसैले उनलाई राष्ट्रिय सभामा पठाउन सकिने सम्भावना रहेको फोरम नेपाल स्रोतले जनाएको छ । त्यस्तै, वीरेन्द्र महतोको  पनि दोडधुप बाक्लिएको छ । दोस्रो सविधानसभा चुनावमा समानुपातिक सभासद् रही सकेका महतो यसपटक चुनाव लड्ने सोच बनाएका थिए तर क्षेत्र राजपा नेपालको भागमा परेपछि उनी पछाडि हटेका थिए । डा. उपेन्द्र महतोका भाई वीरेन्द्र महतोको बारेमा पनि पार्टीमा चर्चा रहेको छ ।

फारम नेपालले स्वतन्त्रबाट डा. रामअवतार यादवलाई पनि राष्ट्रिय सभा लग्ने चर्चा भइरहेको छ । उनी नेताहरुको जस्तो दौडधुपमा नरहेपनि पार्टीमा उनीप्रति सकारात्मक महोला रहेको स्रोतको दावी छ । सुनसरीबाट चुनाव हारेका पार्टीका वरिष्ठ नेता अशोक राईलाई पनि राष्ट्रिय सभाबाट संसदमा ल्याउने प्रयास भइरहेको छ ।

सीमा सिंहको नाम पनि चर्चामा रहेको छ । उनको नाम प्रदेशसभाको समानुपातिकमा थियो । उनको नाम पनि आयोगमा पठाईएको थियो । तर क्रमसंख्या अनुसार नमिलेको भन्दै अन्तिम समयमा आएर नाम हटाएको थियो । समानुपातिकबाट अन्तिम समयमा आफ्नो नाम हटाएको कारण राष्ट्रिय सभा सदस्यमा आउनुपर्ने भनेर पार्टीमा लविङ्ग गरिरहेकी छिन् ।

आआफ्नो लविङमा लागेपनि पार्टीमा यस विषयमा कुनै पनि छलफल नभएको फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । प्रदेशको टुङ्गो लागि सकेपछि मात्र पार्टीले यसको विषयमा छलफल चलाउने बताउँदै उनले आकाँक्षीहरु धेरै हुनसक्ला तर यसको बारेमा पार्टीमा कुनै छलफल नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप