काठमाडौंबाट भारतीय खुफिया एजेन्सी (रअ)को नाममा ठगी गर्ने गिरोह प्रहरी नियन्त्रणमा
काठमाडौं । नेपालस्थित विभिन्न राजदूतवासहरुमा जागिर लगाइदिने आश्वासन दिँदै ठगी गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । प्रहरीले सप्तरी निवासी रमाकान्त नौनियाको लगायतको एक समुहलाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेहरुमा सप्तरीको राजविराज घर भई हाल काठमाडौंको महाराजगञ्ज बस्ने ४१ वर्षीय नौनिया, दोलखाको सुरी घर भई हाल काठमाडौंको मण्डिखाटार बस्ने २८ वर्षीय सन्तोष कार्की, दोलखा सुरीकै हाल काठमाडौंको ज्ञानेश्वर बस्ने ३० वर्षीय विनोद कार्की, काभ्रे नागर्चे गाउँपालिका घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४१ वर्षीय पदमबहादुर श्रेष्ठ, रामेछाप दोरम्बा गाउँपालिका हाल काठमाडौंको कपन बस्ने २९ वर्षीय चित्रबहादुर श्रेष्ठ र काठमाडौं महानगरपालिका महाराजगञ्जकी हाल मण्डिखाटार बस्ने ३२ वर्षीय गीता महर्जन रहेका छन् ।
उनीहरुले भारतीय खुफिया एजेन्सी (रअ)का अतिरिक्त विभिन्न राजदूतावासहरुमा जागिर लगाइदिने आश्वासन दिँदै ६० जना व्यक्तिबाट ३ देखि ५ लाखसम्म रकम असुलेको प्रहरीको दाबी छ । उनीहरुलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ७ दिन म्याद थप गरेको छ भने प्रहरीले आवश्यक अनुसनधान र कार्वाहीका लागि काठमाडौंस्थित महानगरीय प्रहरी परिसर टेकु पठाएको जनाएको छ ।