शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेसका तीन प्रभावशाली नेताको ‘गोप्य’ बैठक, देउवाले पार्टी सिध्याएको निश्कर्ष

आइतबार, ३० पुस २०७४, १६ : ३०
आइतबार, ३० पुस २०७४

काठमाडौं–चुनावमा पराजय भोगेपछि कांग्रेसभित्र विवाद बढेको भनिएको बेला  तीन प्रभावशाली नेताहरु एकै ठाउँमा उभिएका  छन् ।  नेताहरु  रामचन्द्र पौडेल,  कृष्ण प्रसाद सिटौला र अर्जुन नरसिंह केसीबीच  आइतबार राजधानीको महाराजगञ्जस्थित एक होटलमा गोप्य बैठक भएको छ । 

करीब दुई घण्टा लामो भएको उक्त ‘गोप्य’ बैठकमा सभापति शेरबहादुर देउवाकै कारण पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको निष्कर्ष निकालिएको छ ।  
 अब पनि चुप लागेर बसिरहे पार्टी गम्भीर संकटमा पर्ने भन्दै पार्टीलाई बचाउन एक भएर अघि बढ्ने तीन नेताबीच समझदारी भएको  स्रोतले रातोपाटीलाई बतायो ।  
‘ बाहिर देखिएका अभियानमा  ऐक्वबद्धता जनाउँदै पार्टीलाई एक ढिक्का बनाएर लैजाने विषयमासमझदारी भएको छ ,’ स्रोतले भन्यो, ‘ पार्टीभित्रका युवा तथा विद्यार्थीको विवाद पनि देउवाकै कारणले भएको र यो विवाद कायमै रहिरहे थप संकट निम्तनेतर्फ पनि नेताहरुले निश्कर्ष निकाल्नु भएको छ ।’

पार्टीको १३ औं महाधिवेशनमा सिटौला र पौडेलले पनि सभापतिमा उम्मेदवारी दिएका थिए । विगतमा एकै समूहमा भएका भनिएका सिटौलाले समेत सभापतिमा  उम्मेदवारी दिएपछि  पौडेल–सिटौलाबीच सम्बन्ध विग्रिएको ठानिएको थियो । तर, पछिल्लो समय देउवाकै कारणले पार्टीमा समस्या आएको भन्दै  सम्बन्ध सुधार गर्दै पौडेल–सिटौला समेत एकै ठाउँमा उभिएका  हुन् ।  यसो त १३ औं महाधिवेशनमा  देउवा समूहबाट महामन्त्री लडेका केसी पनि सभापतिको कार्यशैलीबाट रुष्ट रहेको बताइन्छ । 

यही कारण देउवाप्रति असन्तुष्ट नेताहरु पार्टीलाई नयाँ शिराबाट अघि बढाउन लागिपरको बताइएको छ ।  यसमा देउवाकै समूहमा रहेका केसीलगायत नै अग्रसर  भएका हुन् । 
असन्तुष्टहरु कांग्रेसलाई पहिलेको जस्तै बलियो अवस्थामा फर्काउन कसरी एकजुट भएर जाने भन्ने  विषयमा निरन्तर छलफलमा रहेको नेताहरु बताउँछन् । 
यही क्रममा गत बुधबार पनि  गोंगबुमा प्रकाशमान सिंह, शशांक कोइराला र केसीबीच छलफल भएको थियो ।  

पटक पटकको छलफलमा प्रभावशाली नेताहरुनै एकठाउँमा देखिएपछि देउवा घेराबन्दीमा परेको बुझिएको छ । 

 यसो त कांग्रेसका युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदिप पौडेल लगायतका नेताले काँग्रेसको नेतृत्व अब युवा पुस्ताले लिनुपर्ने साथै सिंगो पार्टीमा पुर्नसंरचना र परिमार्जजसहित आम जनताको चाहानाअनुसार अघि बढ्नुपर्ने बहस चलाउँदै आएका छन् । 

यही क्रममा प्रभावशाली नेताहरु समेत देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै छलफलमा लागेका हुन् । 


गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा काँग्रेसले हार बेहोरेपछि देउवाले विशेष महाधिवेशन बोलाउनुपर्ने तथा राजीनामा दिनुपर्नेसम्मको माग कांग्रेसभित्र जोडतोडका साथ उठिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप