शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकार छाड्ने विषयमा बोले प्रधानमन्त्री

आइतबार, ३० पुस २०७४, १५ : ५५
आइतबार, ३० पुस २०७४

धनगढी– प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने बताएका छन् ।  सात नम्बर प्रदेश सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरीधाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेला, २०७४’ को आज उद्घाटन गर्दै उनले राष्ट्रियसभाको चुनावपछि आफूले सरकारबाट बाहिरिने स्पष्ट पारे  । 

उनले आफ्नो व्रतबन्ध भएको ठाउँ कैलालीको गोदावरीधामको विकासका लागि आफ्नो सक्दो सहयोग रहने बताउँदै सो क्षेत्रको पवित्रता र धार्मिक महत्व बढ्दै जानुपर्ने बताए ।  सो अवसरमा कैलाली निर्वाचन क्षेत्र नं ५ बाट नवनिर्वाचित सांसद नारदमुनि रानाले चुनावमार्फत आएको नयाँ जनादेशबमोजिम मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । 

गोदावरीधाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला गर्ने योजनाअनुसार यस वर्ष बाह्रराशी दर्शन मकर मेला गरिएको आयोजक समितिले जनाएको छ । 

प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भमेलाको योग पर्ने भएको शास्त्रीय मान्यतानुसार प्रत्येक वर्ष कुम्भमेलाको प्रतीकका रुपमा १२ दिवसीय बाह्रराशि दर्शन मेलाको आयोजना गरिएको आयोजक समितिका संयोजक पदमराज जोशीले बताए । 

गोदावरी धाममा बाह्रराशिको स्थापना गरी प्रत्येक राशिका व्यक्तिलाई दर्शन एवं पूजाको व्यवस्था मिलाइएको छ । त्यहाँ स्थापना गरिएको कुम्भबाटिकामा बाह्र राशि र नवग्रह, २७ नक्षत्र र बाह्र आदित्यको स्थापना गरी दर्शन एवम् पूजाको व्यवस्थासमेत गरिएको छ । मेला माघ १ देखि १२ गतेसम्म लाग्ने जनाइएको छ । 

हरेक वर्ष मकर सङ्क्रान्तिका दिन गोदावरीमा मेला लाग्दै आएको छ । सप्त गोदावरीमध्येको प्राचीन गोदावरी धामस्थित गोदावरी नदीमा भगवान् श्रीकृष्णले स्नान गरेको जनविश्वास छ । 

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउद, मकर मेला आयोजक समितिका संयोजक जोशी, सहसंयोजक मदनराज पाण्डेय, हरिलाल गिरीलगायतले धामको विकासका लागि सहयोग गर्न आग्रह गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप