शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अदुवाको मूल्य  घटेपछि किसान समस्यामा

आइतबार, ३० पुस २०७४, १४ : २४
आइतबार, ३० पुस २०७४

–खगेन्द्रप्रसाद घिमिरे 

धनकुटा– प्रमुख नगदे बालीका रुपमा खेती भइरहेको अदुवाको मूल्यमा कमी आएपछि धनकुटाका किसान समस्यामा परेका छन् ।  आन्तरिक बजारमा हुने सीमित खपतबाहेक अदुवाको गुणस्तर नभएको भन्दै भारतीय व्यापारीले लैजान नमानेपछि किसानमा निराशा बढेको खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिकाका किसान नरेन्द्र राई बताउछन् । वन्यजन्तुले नखाने बिनापानी पनि खेती गर्न सकिने भएकाले धनकुटाका प्रायः किसानले अदुवाखेतीलाई प्रमुख नगदेबालीका रुपमा लिदै आएका उनको भनाइ छ । 

तीन वर्षयता लगातार मूल्य कमीका कारण किसान बढी प्रभावित भएपछि निराशा बढेको उल्लेख गर्दै मूल्य कमीका कारण व्यापारीले प्रतिकिलो रु २० मा पनि अदुवा लान नमानेपछि निराशा बढेको कृषक राइको गुनासो छ । पहिला चामल किनेर खान पुग्थ्यो, अहिले त नून, तेल टार्न पनि गाह्रो पर्न थाल्यो धनकुटा नगरपालिका–९ का दामोदर सुवेदीको दुखेसो पोख्छन् । 

गतवर्ष भारतीय बजारमा प्रतिकेजी रु १०० भन्दा बढी पुगेको अदुवाबाट अहिले परिश्रमको मूल्य नै उठ्न गाह्रो परेको छ । अदुवाको मूल्य कमीका कारण परम्परागतरुपमा वर्षौंदेखि अदुवा रोप्दै आएका उक्त क्षेत्रका सयौँ किसानमा निराशा बढेको साँगुरीगढी गाउँपालिका–७ डाँडाटोलका नारायण राई बताउछन् । 

बजारको पहुँच राम्रो देखेर शिक्षण पेशा नै छाडेर अदुवाखेतीबाट वार्षिक रु १५ लाख कमाउने चौबीसे गाउँपालिका बूढीमोरङका ठाकुरमान लिम्बू अदुवा बिक्री नभएपछि आफूहरूमा निराशा छाएको उल्लेख गर्छन्। 

दश रोपनी जमिनमा लगाएको अदुवाले प्रतिकिलो रु ९० सम्ममा बेच्दा वार्षिक रु छ लाख कमाइ गर्दै आएका लिम्बू मूल्य कमी मात्र होइन बिक्री नै हुन छाडेपछि यसवर्ष दुई रोपनी जमिनमा मात्र अदुवा खेती खुम्चिएको बताउछन् । 

मूल्य कमीका कारण कुनै बेला अदुवाको पकेट क्षेत्रका रुपमा रहेको उनका करिब ३०० घरधुरी प्रभावित भएको चर्चा गर्दै उनी भन्छन्, “अदुवाले भाउ फेरि आउला कि भनेर बीउ जोगाएर बसेका छौँ ।” 

भारतले अदुवाको गुणस्तर परीक्षणमा एकद्वार प्रणाली लागू गरेपछि पहिलाको जस्तो अदुवा भारत निकासी गर्न सहज नभएको र व्यापारीले अदुवा नै लैजान छोडेपछि साँगुरीगढी गाउँपालिका क्षेत्रका किसानले अहिले वैकल्पिक खेती गर्ने सोच बनाइरहेको अर्का कृषक रमेश राई बताउछन्।

भारतीय बजारमा मात्र निर्भर हुनुपरेको र पछिल्लो समयमा भारतले अदुवा लान नमान्दा नेपालका अदुवा व्यापारसँगै किसान बढी प्रभावित भएको उनको भनाइ छ । 

गतवर्ष २५० हेक्टरमा भएको अदुवाखेतीबाट तीन हजार ६९७ मेट्रिक टन उत्पादन भएकामा रु १४ करोड ४८ लाख बराबरको तीन हजार ५१२ मेट्रिक टन अदुवा जिल्ला बाहिर निकासी भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा छ ।

गतवर्ष अदुवा प्रतिकिलो रु ९० देखि १५० सम्म मूल्य थियो । मूल्य कमीसँगै अदुवाको उत्पादन र निकासी प्रभावित भएको जिल्ला कृषि कार्यालयका प्राविधिक सूर्यप्रसाद सापकोटा बताउछन् । 

मूल्यमा कमी आए पनि उत्पादन बढी भएकाले उत्पादन भएको चार हजार ६६ मेट्रिक टनमध्ये रु १४ करोड ६३ लाख ६० हजार बराबरको तीन हजार ६५९ मेट्रिक टन अदुवा निकासी भएको थियो । मूल्य वृद्धि नभएपछि यसवर्ष जिल्लामा अदुवा खेती खुम्चिएर २३५ हेक्टरमा मात्र सीमित भएको कार्यालय स्रोतको भनाइ छ । 

प्रमुख बालीका रुपमा रहेको अदुवा खेतीमा आधारित उद्योग सञ्चालन गर्न सकिने सम्भावना पहिल्याउन सरकारसँग माग गरे पनि सुनुवाइ नभएको सम्बद्ध किसानको भनाइ छ ।

विभिन्न कृषि उत्पादनले कृषि क्षेत्रबाट देशको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी०मा समेत विशेष योगदान पुर्याउने हुँदा अदुवा खेती र यसको व्यापार विस्तारका लागि सरोकारवालाको ध्यान जान जरुरी रहेको कृषि विज्ञको जोड छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप