बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्र पुनर्निर्माता पृथ्वीनारायण शाह र राष्ट्रभार नेता

आइतबार, ३० पुस २०७४, १३ : ०६
आइतबार, ३० पुस २०७४

महान् चीनको एकीकरण त्यहाँका सम्राट सिह्व ह्वाङ÷ चिह्व ह्वाङले गरेको विषयमा त्यही देशका युगनायक माओले सम्मान गर्छन् । त्यति मात्र होइन तिनै सम्राट्का नामबाट देशको नाम चीन रहेको हो । अनि देशको एकीकरणका अभियन्ता तथा त्यसलाई साकार पार्ने महामतम र अत्यन्त दूरदर्शी महान् व्यक्तित्वलाई टाउका, शिर, काँध वा घुँडामा कहाँ राख्ने भनेर प्रलाप गर्नै परेन । 

बुद्धिवन्तले आफैँ सोचे भइगयो ? कुनै नेपाली नेता नेपाल एकीकरणका मूल अभियन्ता पृथ्वीनारायण शाहसित दाँजिन योग्य छन् ? शाहको अत्यन्त दूरदर्शी तथा दूरगामी दृष्टिकोण र त्यसलाई जसरी पनि साकार पार्ने सोच कुनै नेपाली नेतासित छ ? शाहले जस्तै नेपाललाई एकीकृत, अखण्ड र स्वाधीन राख्न चाहने कोही नेपाली नेता यो धर्तीमा छ ? शाहले अनेक प्रतिकूलतासित जुधेर र ज्यान हत्केलामा लिएर राष्ट्र निर्माण गरे तर कुन कुन नेताले आआफ्ना कलखण्डमा नेपालको उत्थानमा कति इँटा थपे कोही भन्न तयार छ ? असम्भवलाई सम्भव बनाउने क्षमता शाहमा देखियो ।

शाहका सोच आम जनताको अपूर्व त्याग र बलिदानका कारण साकार भएकैले हाम्रो देश नेपाल र हामी नेपाली हुन पाएका हौँ । यति हुँदाहुँदै पनि पृथ्वी नारायण शाहलाई दायाँ र बायाँ भड्काउ सोचहरू अझै धारे हात लगाइरहेका छन् । के नेपाली नेताहरू शाहले झैँ अहिले बिसेनगर्चीसित सरसल्लाह लिन्छन् ? के शाहले झैँ आफूले मन पराएका विराज बखेतीलाई पन्छाएर लोक वा जनताले रुचाएका कालु पाण्डेलाई मुख्तियार वा प्रधानमन्त्री बनाउन आँट गर्लान् ? राज्यको प्रमुख हुँदा वा प्रधानमन्त्री हुँदा देशको धन आफ्ना इर्दगिर्द र आफन्त जनलाई आँखा चिम्लेर मन लाग्दी बाँड्ने नेताहरू एकीकृत नेपाल देशलाई अंशवण्डा गर्नु पर्छ भन्ने आफ्नै भाइलाई तिरस्कार गर्ने शाहको व्यक्तित्व देखेर लज्जित हुन्छन् ? अझ नेपाल जस्तो कहिल्यै पराधीन नभएको अखण्ड देशलाई बहुराष्ट्र बनाउने विषयमा खुल्ला वा मौन समर्थन गर्नेहरू साँच्चै नेपाली हुनसक्छन् ? जात, भात, नाक र नश्लका अगाडि देशको अखण्डतालाई गौण ठान्ने अतिवादी र अन्धवादी नेताहरू शाहले झैँ देशका लागि आफ्नू गोत्र त्याग्न सक्छन् ? पचास बर्से जीवनमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण जस्तो महानतम अभियान सफल पारे । अहिलेका कति नेताले 
पचास वर्षको उमेर देश र जनताका लागि सही रूपमा कति सदुपयोग गरेका छन् ? नेपाल एकीकरण विरुद्धका ब्रिटिस भारत प्रायोजित फिरङ्गीहरूलाई कूटनीतिक भाषा प्रयोग गरी काठमाडौँबाट शाहले बहिर्गमन गराए । के नेपाली नेता आफू सरकार प्रमुख हुँदा नेपालको स्वाभिमान कायम राख्न समर्थ भए ? शाहले बहुधार्मिक आम नेपालीलाई आआफ्ना कुलाधर्म नछोड्नु भने यसको अन्तर्यमा फिरङ्गी धर्मले नेपालको अस्तित्व धरापमा नपरोस् भन्ने आशय रहेको पाइन्छ । शाहले दक्षिणको बादशाह महचतुर छ, त्यो एक दिन नेपालमाथि आइलाग्छ भन्ने कुरा उहिल्यै देखे ।

के अहिलेका नेतामा त्यस खालको उच्च सतर्कता छ ? घर जलेपछि कुवा खन्न खोज्ने नेताहरूमा शत्रु र मित्र चिन्न सक्ने सामथ्र्य छ ? दिव्योपदेशमा समग्रमा नेपालको उत्थान र राष्ट्रियताको समृद्धि गर्ने मूलमन्त्र हो । यसको महत्व बुझ्ने कोही नेपाली नेता छ ? नेपालमाथि भारत प्रयोजित अमानवीय नाकाबन्दी विरुद्ध दृढ अडान लिने तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई लक्षित गरेर खोक्रो, उग्र, भारत विरोधी, महेन्द्रीय राष्ट्रवादको फतुर आरोप लगाउनेहरू पृथ्वीनारायण शाह, बीपी कोइराला र कीर्तिनिधि विष्टको राष्ट्रवादी भूमिकाको कसरी मूल्याङ्कन गर्लान् ? पूर्वराजा महेन्द्र शाहलाई सराप्नेहरू शाहका स्रष्टा मैत्री र विद्वत् मैत्री जस्ता गुण देख्न सक्छन् ? महेन्द्रले विषयगत तथा विधागत विशिष्ट विज्ञ र ज्ञानीहरूलाई प्राज्ञिक, शैक्षिकलगायत उच्च तहका प्रतिष्ठानको प्रमुखमा नियुक्त गर्थे तर अहिले चवन्नी र अठन्नी कार्यकर्ता विराजमान हुँदा पनि हामीलाई सरम लाग्दैन ? यसो गरेपछि पठन संस्कृति समाप्त हुँदैन ? राष्ट्र राष्ट्रियता र राष्ट्रिय स्वाधीनता जाति र पार्टीभन्दा माथि हुन्छ । यस सवालमा जसकसैले पनि गरेका सकारात्मक कामको सराहना गर्नैपर्छ । भातका पछि हत्ते हाल्ने नेता सदासर्वदा भातकै लागि मरिहत्ते गर्छ र पटक पटक अयोग्यताका बाबजुद पार्टी र सरकारको प्रमुख हुन आतुर हुन्छ तर भविष्यका लागि लागिपर्ने नेता 
शाहझैँ भावी सन्ततिका खातिर निःस्वार्थ रूपमा मृत्युसित जुधेर निरन्तर लागिपर्छ । पृथ्वीनारायण शाहको बाल र युवा व्यक्तित्व निर्माणमा पारिवारिक वातावरण, शिक्षादीक्षा, उनले पाएको असल आदर्श अभिभावकत्व जस्ता विषय विशिष्ट रहेको देखिन्छ । शाहको व्यक्तित्वको उत्थान र विकासमा उनको तीक्ष्ण चेत, चिन्तन र सूक्ष्मनिरीक्षण जस्ता विशेषताको पनि अहम् भूमिका देखिन्छ । पीपल आफैँभित्र विशलता वीज अन्तर्निहित वनस्पति हो । समी नामको वृक्ष गमलामा अटाउँदैन । शाह जस्ता सामूहिक स्वार्थका लागि समर्पित प्रतिभा सानो घेरामा सीमित हुनै सक्तैन । 

 शाहले व्रतवन्ध गरेपछि वेद, सप्तशती आदि श्तोत्र पाठ, शुक्रनीति, कामन्दकीय नीति, रामायण, महाभारत, सामान्य व्यावहारिक गणित पढे । शिक्षा, उमेर अनुसारको शस्त्रविद्याको शिक्षा पाए । गोरखा दरबारमा बिहान बेलुका नियमित रूपमा पुराण पाठ भइरहन्थे । प्रतिवर्ष चौमासा पुराण पनि लगाइन्थे । यिनमा रामायण, महाभारत, भागवत आदि अठार पुराण पाठ गरिन्थे । व्याकरण, ज्योतिष, वेद, रुद्री, गीता, चाणक्यनीति, पञ्चतन्त्र, हितोपदेश र सप्तशती आदि पढ्ने काम राजाप्रजा र भाइभारदारले गर्थे । नीतिशास्त्रमा उल्लेख गरिएका राजा वा शासकले नगरी नहुने ५ कर्तव्य वा ५ यज्ञलाई पृथ्वीनारायणले पालना गरेको उनको व्यवहारबाट थाहा पाइन्छ । शाहले दरबार वा घरदबारमा पठन, अध्ययन, चिन्तन र मनन संस्कृति पाएका थिए र त्यसमा रमाएका थिए । के अहिले वाम वा काङ नेताहरूमा पठन संस्कृति छ ? ती कति पढ्लान् ? कसैसित यसको उत्तर छ ? यस लेखकले तिनको नाडी छाम्दा छक्क परेको छ । मात्र पेटपालो र

जागिर खाने उद्देश्य लिएका नेतामा देश र दुनियाँको उत्थानमा सोच हुनसक्तैन । चन्द्रमा छुने उद्देश्य नहुँदा कतिपय नेता जिन्दगीभरि पोथ्रा सरह बाँच्छन् । दर्शन, राजनीति, अर्थनीति र साहित्य तथा संस्कृतिसम्बन्धी समुचित ज्ञानका अभावमा कुनै पनि नेतृत्व अपूरो हुन्छ । पृथ्वीनारायण शाहलाई सराप्नेहरू शाहको महानतम योगदान र भूमिका नबुझ्नेहरू बढी छन् किनकि गुणी जनले मात्र गुणको कदर गर्न जान्दछ र गर्छ । नत्र प्रचलित भनाइ अनुसार अनमोल मणि पनि कसिङ्गरमा मिल्किन्छ । यही कुरालाई मनन् गरेर महामना मोदनाथ प्रश्रितले पृथ्वीनारायण शाहको महनतम योगदानलाई एमाले पार्टीका एकाध गौरवशाली इतिहास चेतशून्य नेताका असहमतिका बाबजुद खुल्ला रूपमा उजागर अर्को ऐतिहासिक भूमिका निर्वाह गर्नुभयो । यस कुरालाई प्रसिद्ध लेखक सौरभले समेत आफ्नो असङ्ति नामको कृतिमा सह्राहना गर्नुभएको छ । तर तिनै मोदनाथको महत्व बुझ्ने कति नेता नेपालमा होलान् ? तत्कालीन चिनियाँ सम्राट सिह्वह्वाङ ÷चिह्वह्वाङले विशाल चीनलाई एकीकरण गरे । अनि उनै सम्राटका नामबाट देशको नाम चीन रहन गएको हामीले देखिरहेका छौँ । माओ त्से तुङले तिनै सम्राटलाई सलाम गर्छन् तर हामी भने आफ्नै गौरव र गरिमाको उपेक्षा गर्न अझै तम्सिरहेकै छौँ, धन्य नेपाली । 

 पृथ्वीनारायण शाहमा कौटिल्यको अर्थशास्त्र, मनुस्मृति, याज्ञवल्क्य स्मृति राजधर्म जस्ता कृतिको प्रभाव परेको पनि पाइन्छ । यसैको प्रभावका कारण शाहमा आवश्यक धार्मिक, सांस्कृतिक, भाषिक लचिलोपन व्यावहारमा नै देखिन्छ । यही उदार, सहिष्णु सांस्कृतिक प्रभाव स्वरूप नेपालका सबै जात, जाति, धर्म र सम्प्रदायका प्रचलन परम्परा रीत, भाषा र भेषहरूलाई यथायोग्य स्थान, मान र सम्मान शाहले व्यवहारमा नै देखाएका हुन् । शाहले काशी पुगेर त्यहाँको राजनीतिक वस्तुस्थितिको अध्ययनका साथै शस्त्र सङ्ग्रहसमेत गर्न पुगेका हुन् । 

 राजमाता चन्द्रप्रभावतीको प्रत्यक्ष रेखदेखमा हुर्के बढेका शाहलाई राजाले रैतीलाई राजी राखेर रजाइँ गर्नुपर्ने बताउँथिन् । उनले राजा भएपछि दिग्विजय गर्नुपर्छ भनेर नयाँ राजालाई मन्त्रणा पनि गर्थिन् । राजमाताले शाहलाई वनारसबाट गोरखामा काम लाग्ने मानिस झिकाउनुपर्छ भनेकी थिइन् । उनले त्यस्ता मानिसलाई स्थान र मान दिएर राख्नुपर्ने सुझाव दिन्थिन् । राजमाताका प्रभावका कारण शाहले आजीवन बिनाभेदभाव योग्य व्यक्तिलाई राज्यमा स्थान दिएको देखिन्छ । रानी चन्द्रप्रभावतीले पृथ्वीनारायण शाहलाई राज्यारोहण गरेपछि पिता नरभूपाल शाहको नुवाकोट विजय गर्ने चाहना पूरा गर्नुपर्ने कुरा सुनाइन् ।

उनले माइतीपट्टि चर्चा हुँदै गरेका महाराष्ट्रका छत्रपति शिवाजी र राजस्थानका अमर सम्राट महाराणा प्रतापको वीरता, दृढता, र प्रख्यातिको कुरा छोरालाई सिपालु पाराले सुनाउँथिन् । यी सबै कुराको सार चाहिँ छोरालाई नेपालको विस्तार गराई राज्य थामेर राख्ने अर्ती दिन्थिन् । उनले नै पृथ्वीनारायण शाहलाई उत्तर दक्षिणबाट व्यापार मार्फत् राज्यलाई आर्थिक रूपबाट बलियो बनाउन सकिने अर्तीबुद्धि गर्थिन् । राजमाताले प्राचीन लिच्छवी, मल्ल र शाह राजाहरूका आफूले जानेसम्मका पुरुषार्थका र यशकीर्तिका कुरा नवराजालाई सुनाउँथिन् । अतीतका पुर्खाका महत्वपूर्ण योगदानको प्रेरणा सुने देखे र बुझेपछि बाह्र हजारको थिति बाँधि जाउँला भन्ने अभिलाषा रहेको कुरा उनले दिव्योपदेशमा अभिव्यक्त गरेका छन् । कति नेपाली नेताहरूले यस देशको समग्र गौरवशाली इतिहास पढेका छन् ? तिनलाई आफ्नै इतिहास त थाहा छ ?

माताकै प्रेरणा प्रेरणा र प्रोत्साहनमा शाहमा महान् शक्तिशाली राष्ट्रनिर्माण गर्ने भावना जागृत भएको विज्ञ बताउँछन् । हरेस नखाने, धैर्यशील रहने, लक्ष्यमा अडिग रहने आदि क्षमताका विकासमा पनि माताले महत्वपूर्ण सरसल्लाह दिएको देखिन्छ । सफल, आदर्श र कूटनीतिक क्षमतायुक्त राजाका विशेषताका बारेमा पनि माताले महत्वपूर्ण अर्तीबुद्धि प्रदान गरेको देखिन्छ । माइतीघर पाल्पामा रहँदैदेखि तत्कालीन भारतीय राजनीतिक घनचक्कर सुनेबुझेकी कूटनीतिक, दूरदर्शी राजमाताको तथा एकता नै बल हो भन्ने विचारबाट पृथ्वीनारायण प्रभावित भएका थिए । अन्तर्देशीय परिस्थितिका बारेमा जानकार भएपछि छोराको नेतृत्वमा दक्षिण छिमेकीको आक्रमण र अतिक्रमणबाट यो हिमाली भूखण्डलाई बचाउन सकिएला भने कुरामा राजमाता आशावादी थिइन् । शाहले नेपालको एकीकरण गर्ने आवश्यक सैद्धान्तिक जुक्तिबुद्धि पाएको इतिहासविद् बताउँछन् । माताको मूल आशय पूर्वपुर्खाहरूको अधुरो इच्छा साकार पार्न पृथ्वीनारायणलाई सबैभन्दा पहिले त भावनात्मक रूपमा तयार पार्नुमा रहेको देखिन्छ । 

शाहको राजकीय व्यक्तित्व निर्माणमा पाल्पाली मामा उद्योत सिंहको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । मामा मार्फत् शाहले युद्धमा कसको सहयोग लिनुपर्छ, युद्ध गर्दा कस्तो रणनीति अख्तियार गर्नुपर्छ आदि इत्यादि कुरा सिकेका थिए । राजमाताले गोरखालीलाई आत्मसम्मान भर्ने, मुलकका निम्ति ज्यान दिने, अनावश्यक कुरामा अरूसँग नझुक्ने, मित्रप्रति उदारभाव राख्ने, विद्वान् गुणी, साधु, सज्जनहरूको मान, इज्जत गर्ने, मातापिताको मान्यजनको सेवा गर्ने आदि शिक्षा र संस्कार छोरालाई युवा अवस्थामा नै दिएको थिइन् । राजपुत परिवारकी खाँची राज्यकी चेली आÇनू पुख्र्यौली पुस्तेनी परम्पराबाट प्रशिक्षित थिइन् । उनले माइतीमै पनि औपचारिक तथा अनौपचारिक शिक्षा पाएकी थिइन् । उनको क्षमतालाई नरभूपाल शाहले पनि पत्याएका थिए र नै राज्यको अभिभावकीय भूमिका निर्वाह गर्न निर्देश गरेको देखिन्छ । 

 बाइसे चौबिसे राज्य रजौटाका बीचमा बारबार झैझगडा हुँदा जनताको दैनिक जीवन अत्यन्त कष्टपूर्ण भएको शाहलाई जानकारी थियो । त्यस बेला एकअर्का राज्यमा आउजाउ, भेटघाट, बरव्यवहार, बन्दव्यापार जस्ता विषयमा साह्रै सङ्कट भोगिरहेको स्थितिबाट पनि शाह विज्ञ थिए । एकअर्का राज्यरजौटाका जनता, व्यापारी कुटिने, पिटिने, लुटिने र मारिन पनि सक्थे । यस्तो झगडा परस्परका दाजु भाइका बीचमा जीवन समाप्त पार्ने तहसम्मको हुन्थ्यो भन्ने कुरा चेपेनदीमा भएको घटनाका जानकार थिए शाह । न्यून चेतनाको त्यो समयमा एकअर्का राज्यमा आउजाउ गरेको भेटिए लुटिने र कुटिने टड्कारो समस्याले स्थितिबाट आम जनता परस्परमा शान्ति, समुन्नति र एकताको एकीकृत राज्यको पक्षमा मानसिक तथा भौतिक रूपमा रहेको वास्तविकता शाहले प्रत्यक्ष अनभव गरे । के नेताहरू जनताका समस्याहरूलाई शाहलेझैँ अनुभूत गर्न सक्छन् ?

 गोर्खा राज्यका आÇना पुर्खाले वरपरका राज्य र रजौटालाई एकीकृत गर्ने अधूरो कार्य पूरा गर्नुपर्ने कर्तव्य र दयित्व शाहले राजमाता चन्द्रप्रभावती मार्फत् सुनेबुझेको अवगत हुन्छ । काठमाडौँमा रहँदा बस्दा त्यहाँका राज्य र रजौटाबाट पनि पृथ्वीनारायण शाहले गरीव राजाका रूपमा परोक्ष रूपमा हेलाहाचो सहनुपरेको देखिन्छ । यिनै परिस्थतिका कारण शाहमा उच्च नेतृत्वको आकाङ्क्षा उत्पन्न भएको देखिन्छ । 

वि.सं.१७९१ मा मकवानपुरबाट फर्र्किँदा चन्द्रगिरी डाँडाबाट उपत्यकालाई हेरेर नेपाल कुन हो भनी सोध्दा तीन सहर देखेर त्यहाँको पनि राजा हुन पाए हुन्थ्यो भावना जागृत भएको देखिन्छ । सुरुमा विशाल राज्यको राजा हुने इच्छा भए पनि समयक्रममा भारतस्थित इस्टइन्डिया कम्पनी सरकारको अतिक्रमण र आक्रमणबाट जोगाउन विशाल नेपालको निर्माण गर्न चाहेको स्पष्ट हुन्छ । यसरी शाहमा विशाल कर्म गर्ने महान् अभिप्रेरणा जागृत भएको परिणाम नै एकीकृत विशाल नेपाल हुन सकेको हो । के यस खालको उच्च, उदात्त तथा भावी पुस्ताका लागि केही ठोस योगदान गर्ने अभिप्रेरणा कुनै नेता छ ? अनि खालि सत्ता, शक्ति र सम्पत्तिका स्वार्थमा लम्पट नेतालाई राष्ट्रका भारभन्दा अत्युक्ति हुन्छ र ?
[email protected] 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप