शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेनी–जोमसोम सडक कालोपत्रे गरिने

आइतबार, ३० पुस २०७४, १२ : ५९
आइतबार, ३० पुस २०७४

बाबियाचौर–म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमीको बेनी–जोमसोम सडक कालोपत्रे हुनेभएको छ ।  चार नं प्रदेशको जीवनरेखा कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालोपत्रे गर्ने तयारी भएको जनाएको छ । आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले कालोपत्रे गर्न पूर्वाधार निर्माणको काम तीव्ररुपमा अघि बढेको जानकारी दिए । बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट प्रविधिको कालोपत्रे गरिने भएको छ । नालीसहित ११ मि चौडाइ रहने दुई लेनको सडकको सात मि चौडाइमा कालोपत्रे गरिने इ निरौलाले बताए । 

वि.सं २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट ११ मि फराकिलो दुई लेनको कालोपत्रेका साथै विभिन्न ठाउँका बेलीब्रिजलाई विस्थापन गरेर मोटर जाने पक्की पुल निर्माण गरिने आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए । 

चार खण्डमा स्तरवृद्धिको काम गर्न विभिन्न निर्माण कम्पनीसँग रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको छ । चिसाका कारण ११० किमीको जोमसोम– कोरला खण्डको काम रोकिए पनि म्याग्दी खण्डमा सडक फराकिलो बनाउने काम तीव्र रुपमा अघि बढेको छ । 

निर्माण कम्पनी शर्मा गजुरमुखी जेभीका प्रतिनिधि सचिन क्षेत्रीले ११ डोजर र एक हजार मजदुर परिचालन गरेर चार ठाउँमा सडक फराकिलो बनाउने काम भइहेको बताए । बैसरी, दुवाडी, दाना, तितर र काभ्रेभीर क्षेत्रमा सडक फराकिलो बनाउन पर्खाल लगाउने र भित्तातर्फको पहाड फुटाउने काम भइरहेको छ । 

लेतेदेखि माथिको क्षेत्रमा डाइभर्सन गरेर सवारी सञ्चालनको व्यवस्था गरिए पनि म्याग्दी खण्डको सडक साँघुरो भएकाले सवारी आवतजावत भइरहेको अवस्थामा काम गर्न कठिनाइ भएको प्रतिनिधि क्षेत्रीले बताए । 

अक्करे भीर र कमजोर भूगोलका कारण म्याग्दी खण्डको सडक विस्तारमा जोखिमसमेत उत्तिकै छ । पहाड फुटाउनका लागि ३०५ पिएल क्षमताको स्काभेटर ल्याइएको छ । मजदूरले शरीरमा डोरी बाँधेर भीरमा काम गरिरहेका छन् । 

आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले काम प्रभावित भएपछि सडकमा सवारी सञ्चालनका लागि अस्थायी कार्यतालिका बनाइएको बताउँदै रातिबाहेक बिहान ९ बजे र ११ बजे तथा अपराह्न ३ बजे सवारी सञ्चालनका लागि खुला गर्ने व्यवस्था मिलाइएको सुपरभाइजर शेरचनले बताए । 

आयोजना र निर्माण कम्पनीले सवारी सञ्चालन र काम गर्ने समयतालिका बनाउनुपर्ने माग गरेका छन् ।सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । 

सडक कालोपत्रे भएपछि कोरला नाका सञ्चालन गर्न वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने तथा कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको अध्यक्ष कर्माचार्यले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप