बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा जलपंक्षीको गणना शुरु

आइतबार, ३० पुस २०७४, १२ : ३७
आइतबार, ३० पुस २०७४

रत्ननगर– सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन चितवनमा जलपक्षी (पानी चरा)  को गणना शुरु भएको छ । अवस्था पत्ता लगाइ चराको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना थालिएको हो । चितवनको कुमरोजबाट शनिबारदेखि चरा गणना थालिएको पक्षीविद् तथा वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विंडारीले बताए । 

शनिबार जिन्दगानी घाट, सौराहा घाट बूढी राप्ती, ढुंग्रे खोलामा चरा गणना भएको र आज सौराहाबाट शुरु गरी चितवन निकुञ्जको कसरा पुल, लामिताल, तमोर ताल र गरुड तालमा गणना हुने विंडारीले जानकारी दिए । 

चितवन राष्ट्रिय निकुञ्ज र वर्ड एजुकेशन सोसाइटी चितवनको अगुवाइमा शुरु भएको गणना कार्यअन्तर्गत सोमबार भने रामसार सूचीमा सूचीकृत बिसहजारी ताल क्षेत्रमा गणना हुने जनाइएको छ । अघिल्लो गणनामा चितवनमा ५४ प्रजातिका जलपक्षी भेटिएको थियो । 

उनका अनुसार चरा गणना कार्य केही दिन चल्नेछ । चितवनमा चराको क्षेत्रमा काम गर्दै आएका ३६ जना स्वयंसेवकले चराको गणना गरिरहेका छन् ।  नेपालको शुक्लाफाँटा र कोशीटप्पुबाट भने पुस २२ बाट गणना शुरु भएको थियो । गणनामा नेपालमा ३०० स्वयंसेवक तथा चरा विज्ञको सहभागिता रहेको चरा पक्षीविद् संघ नेपालकाका प्रमुख डा.हेमसागर बरालले जानकारी दिए । 

विगतको अध्ययनमा चराको संख्या भने घट्दो क्रममा रहेको चरा विज्ञले बताएका छन् । डा.बरालले चराको संख्या घट्दो क्रममा रहेको भन्दै यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप