शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्धन उत्थान बैंकको वार्षिक साधारण सभा सम्पन्न

आइतबार, ३० पुस २०७४, १२ : २०
आइतबार, ३० पुस २०७४

काठमाडौं– निर्धन उत्थान बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २९ गते शनिबार काठमाडौमा सम्पन्न साधारण सभामा बैंक संचालक समितिका अध्यक्ष गणेश बहादुर थापाले पेश गरेको आ.व. २०७३।७४ को वार्षिक प्रतिवेदन पारित भएको छ । 

साधारण सभाले सामान्य प्रस्तावतर्फ आ.व. २०७३।७४ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७३।७४ को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु, संचालक समितिले प्रस्ताव गरेबमोजिम आषाढ मसान्तको चुक्ता पूँजी रु. ६० करोडको १४.०४ प्रतिशतले हुन आउने रु. ८,४२,१०,५२६।– नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस बैंकको आ.व. २०७४।७५ को लेखापरीक्षण कार्यको लागि सोही ऐनको दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम आर पराजुली एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टसलाई लेखापरीक्षक नियुक्त गर्दै पारिश्रमिक समेत निर्धारण गरेको छ । 

सो सभामा अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै शेयरधनीहरु अमृत नाथ रेग्मी, दामोदर प्रसाद रेग्मी,ईन्द्र कृष्ण श्रेष्ठ, डमरु बल्लभ घिमिरे, मनोहर कृष्ण श्रेष्ठले आफनो राय, सुझाव पेश गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिएका थिए ।

बैंकले ग्रामीण क्षेत्रका विपन्न परिवारका महिलाहरुको आर्थिक, सामाजिक, जनचेतना विकासको लागि बिना धितो सामुहिक दायित्वमा कर्जा लगानी गर्दै आई रहेको छ ।

बैंकले आफना ग्राहक सदस्यहरुलाई लघुवित्त संस्थाहरुले प्रदान गर्दै आई रहेका मुख्य चार वटा सेवाहरु कर्जा, बचत, बिमा, र विप्रेषण सेवा प्रदान गर्दै आई रहेको छ । बैंकले आयआर्जन, उद्यमशीलता विकास तथा विस्तारको लागि, वैदेशिक रोजगार, शिक्षा, धारा, चर्पी, उर्जा अन्तर्गत बायो ग्याँस, सोलार, सुधारिएको चुल्हो, कृषि उत्पादन, सिंचाई, कृषि उपकरण, दुग्ध उत्पादन, बाली आदि जस्ता विभिन्न प्रयोजनको लागि बैंकले आफना ग्राहक सदस्यहरुलाई कर्जा प्रवाह गर्दै आई रहेको छ ।

बैंकले आफना ग्राहक सदस्यहरु तथा अभिभावकहरुलाई ब्यवसाय विकास तालिम, सीप विकास तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, नेतृत्व विकास तालिमहरु प्रदान गर्दै आई रहेको छ । बैंकले देशको सात वटै प्रदेशमा बसोबास गर्ने ३,०१,५३१ घर परिवारहरुका १५ लाख ७ हजार ६५५ जनसंख्यालाई १७८ वटा शाखाहरुका १५,०५५ केन्द्रहरु मार्फत ८५२ जना कर्मचारीहरुबाट सरल तथा सुलभ किसिमले लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ ।

बैंकले चालु आ.व. २०७४।७५ को मंसिर मसान्तसम्ममा रु. ७८ अरब ३० करोड २३ लाख ६० हजार ४३९ लगानी गरी रु. ६५ अरब १० करोड ३२ लाख ८५ हजार ७०५ कर्जा असुली गरेर रु. १३ अरब १९ करोड ९० लाख ७४ हजार ७३४ कर्जा लगानीमा रही रहेको र सोही अवधिसम्म बैंकले आफना ग्राहक सदस्यहरुको रु. ७ अरब ४ करोड ५ लाख ८८ हजार ७६३ बचत तथा निक्षेप परिचालन गरेको छ । बैंकले गत आ.व. २०७३।७४ मा ५७ करोड १५ लाख ४३ हजार ९८० रुपैयाँ खुद मुनाफा गरेको थियो भने चालु आ.व.को ५ महिनामा रु. २४ करोड २२ लाख ८९ हजार ९८४ रुपैयाँ खुद मुनाफा गरेको छ ।

बैंकको चुक्ता पूँजी रु. ६० करोड रहेकोमा यस साधारण सभामा प्रस्तावित बोनश शेयर ६६.६७ प्रतिशतका दरले ४० करोड बोनश शेयर वितरण गर्न स्वीकृति अनुमोदन भएपछि बैंकको चुक्ता पूँजी १०० करोड पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप