केन्द्रीय संस्करण

मोहनचन्द्र, अम्बर कार्कीहरूले न्याय पाउलान् ?

person access_timeपुस ३०, २०७४ chat_bubble_outline0

प्रभुनारायण बस्नेत

सन् १९१७ को अक्टुबर २५ तारेखमा अखिल रसियाली सामाजिक जनवादी पार्टी (बोल्सेभिक)ले क्रान्ति सम्पन्न गरेपछि रुसमा अन्योल र अराजकता व्याप्त थियो । स्मोल्नी भवन कब्जा गर्न प्रयोग भएका पेत्रोग्रादका मजदुरको घोड्चडी फौजले जोमाथि पनि आक्रमण गर्ने स्थिति थियो । त्यस्तो आक्रमणको शिकार हुनेहरू समाजका सम्मानित एवं प्रतिष्ठित व्यक्ति पनि थिए । परिस्थितिजन्य बाध्यताले क्रान्तिका नेता भी.आई. लेनिन निकै चिन्तित थिए । उनको चिन्ता प्लेखानोभ लगायतका व्यक्ति आक्रमणको शिकार नहुन् भन्नेतर्फ थियो । प्लेखानोममाथि हुने सम्भावित आक्रमणलाई रोक्न उनले तत्काल पास (परिचयपत्र)को व्यवस्था गर्न निर्देशन दिए । रुसमा कम्युनिस्ट पार्टी स्थापना गर्ने, कम्युनिस्ट घोषणा पत्र रुसी भाषामा अनुवाद गर्ने, प्रचार गर्ने, कम्युनिस्ट साहित्य लेखन र अनुवाद गर्ने कार्य गरेर उनले रुसी कम्युनिस्ट आन्दोलनमा ठूलो योगदान गरेका छन् ।

लेनिनको मृत्युको चार दशकपछि रुसी कम्युनिस्ट पार्टीका महासचिव एवं सोभियत युनियनका राष्ट्रपति निकिता ख्रुस्चेभले जेभी स्टालिनको शव सिसाको बाकसबाट झिकेर सडकमा फाल्न लगाए । दाहसंस्कारको अवसर समेत नदिई लाशमाथि गिद्ध, चिलहरूको रर्जा चलाए । उनले स्टालिनलाई तानाशाह, अधिनायकवादी, हत्यारा, जुवाडे जस्ता निकृष्ट आरोप लगाएर त्यस पर्यान्त उनको नाम सोभियत युनियनबाट मेटाउने प्रयत्न गरे । संस्कृति र अपसंस्कृतिका यी दुई रसियाली दृष्टान्तसँग अहिले हाम्रो राजनीतिलाई तुलना गर्ने हो भने हामीले पछिल्लोलाई आदर्श मानेको प्रष्ट देखिन्छ । 

रुसी राजनीतिमा लेनिन प्रभावशाली भइन्जेल योगदानको उचित कदर गर्ने परम्परा थियो भने प्रष्ट देखाउँछ । संसारको पहिलो कम्युनिस्ट क्रान्ति सम्पन्न भएको एक सय वर्षपछि नेपालमा कम्युनिस्टहरू मिलेर चुनाव जितेका छन् । यी चुनाव जित्ने दलहरूको निर्माण र विकासमा योगदान पुर्याउने थुप्रै महत्वपूर्ण नेता कार्यकर्ता अहिले कष्टकर जीवन बिताइरहेका छन् । तिनको योगदानको उचित कदर गर्नेतर्फ अहिलेको नेतृत्वको ध्यान गएको दैखिँदैन । कम्युनिस्ट नामधारी पार्टीमा मात्र होइन, त्यस्तो समस्या नेपाली काङ्ग्रेसमा पनि छ । काङ्ग्रेस–कम्युनिस्ट जे नाम दिए पनि अहिले नेपाली राजनीति एउटै खालको समस्याबाट ग्रसित छ । सङ्कट आउँदा भाग्ने र अवसर छोप्न अघि सर्ने । यो प्रवृत्तिले राजनीतिक क्षेत्र बदनाम हुँदै जाँदैछ । पार्टीहरूले हुर्काएको यो अपसंस्कृतिले सामाजिक क्षेत्रलाई समेत गम्भीर रूपले प्रभावित तुल्याएको छ । पार्टीले आफ्नान नेताकार्यकर्तालाई न्याय गर्न सक्दैन भने जनतालाई कसरी न्याय देला ? जनता न्यायपूर्ण निरूपणबाट वञ्चित हुँदा सामाजिक व्यवस्था कस्तो होला ? यो आजको टड्कारो सवाल हो । 

अहिले एमाले नेताहरू गणेशमान, कृष्णप्रसाद, सुन्दरराज, जगन्नाथ, भीमबहादुरहरूमाथि काङ्ग्रेसले अन्याय गर्यो, मर्ने बेलामा तिनले पार्टी छोड्नु पर्यो भनेर खुब प्रचार गर्छन् । त्यो वास्तविकता पनि हो । तर सम्पूर्ण रूपले सत्य भने होइन । सत्य त के हो भने अहिले एमाले, माओवादीलगायतका कम्युनिस्ट भनिने दलभित्र योगदान, इमानदारी निष्ठा–प्रतिष्ठा र क्षमताको कदर नगर्ने प्रवृत्ति झन् डरलाग्दो छ । 

खड्ग ओलीसँगै रौतहटबाट गिरफ्तारीमा परेका र सत्र वर्ष जेल जीवन बिताएका नेपालका नेल्सन मण्डेला भनेर चर्चित मोहनचन्द्र अधिकारी अहिले दर्जनभन्दा बढी रोगले ग्रस्त छन् । औषधी किन्न नसकेर छटपटाइ रहेका छन् । झापा आन्दोलनका अग्रणी नेता अधिकारीप्रति एमालेले सम्मानजक व्यवहार नगरेको मात्र होइन, कतिपय अवस्थामा अपमानपूर्ण ढङ्गले दुव्र्यवहारसमेत गरेको छ । बाल्यकालदेखि कम्युनिस्ट आन्दोलनप्रति समर्पित अधिकारी उमेरको उत्तरार्धमा गुमनाम जस्तो देखिएका छन् । सत्ताको चकाचौंधमा रमाइरहेको एमाले पार्टीले उनको योगदानको कदर गरेन । त्यस्तै सत्र वर्ष जेल बसेका झापा आन्दोलनका योद्धा अम्बर कार्की गुजराको लागि चितवनको एउटा अस्पतालमा पिउन जागिर खाइरहेका छन् ।

झापा आन्दोलनकै अर्का योद्धा दुर्गा अधिकारी (सानो) एकाध वर्षअघिसम्म एमाले झापाको कार्यालय सफा गर्ने काम गर्दै थिए । भिष्म धिमाल श्रीमतीले गरिरहेको च्याउखेतीका सहयोगी बनेका छन् । झापा आन्दोलनकै एक अग्रणी नेता राधाकृष्ण मैनालीलाई त सिङ्गो नेतृत्व लागेर उनको राजनीतिक जीवन समाप्त पारिदियो । झापा आन्दोलनकै राजवंशी थरका कार्यकर्ता त पार्टी कार्यालयमै पासो लगाएर झुण्डिएर मरे । विद्या भण्डारी अवसरै अवसरले भरिपूर्ण जीवन गुजार्दै अहिले राष्ट्रपति भएकी छन् । तर दासढुङ्गामा विद्याका श्रीमानसँगै दुर्घटनामा परेका जीवराज आश्रितकी विधवा माया ज्ञवालीले भने यो दुई दशकमा अवसरको त के कुरा पार्टीले प्रदान गर्ने सम्मानबाट समेत वञ्चित हुनुपर्यो ।  एमालेभित्र लामो योगदान गरेका र हाल अपमानित, दुखित हुँदै कष्टकर जीवन जीउन बाध्य हुनेको सङ्ख्या निकै ठूलो छ ।

दश वर्ष उथलपुथलपूर्ण युद्ध गरेर आएको माओवादीको दशा पनि एमाले काङ्ग्रेसको भन्दा फरक छैन । नेताको चाकडी गर्ने, धम्क्याउन सक्ने, पैसा र पावर सो गर्न सक्नेबाहेक अन्यको स्थिति त्यहाँ पनि दयनीय छ । ‘जनयुद्ध’को सूत्रधार मध्येका मोहन वैद्यले अपमानको विष पिएर बस्न नसकी अहिले छुट्टै पार्टी खोलेका छन् । सीपी गजुरेल वैद्यकै पछि लागेका छन् । झण्डै आधा दशक जेल बसेका लोकेन्द्र विष्ट मगरलाई अध्यक्ष प्रचण्ड पुत्रले कठालो समातेर अपमानपूर्वक निकालेको कथा चर्चितै छ । 

अहिले माओवादीको एउटा महत्वपूर्ण घटक रहेको पूर्व चौथो महाधिवेशन पक्षको कहानी झन् डरलाग्दो छ । मर्ने बेलामा नेता निर्मल लामाको सदस्यता नै खोसिदिएको थियो । भनेजति पैसा दिन नसक्दा विष्णुबहादुर तामाङको विजोग नै बनाइदियो । अमिक शेरचन, चित्रबहादुर आले, लीलामणि पोख्रेलहरू नेता मण्डली नारायणकाजी–गिरिराजमणिको कोपभाजन भएर सडकमा पुर्याइए । जीवनका ऊर्जाशील चार दशक पार्टीमा खर्चिएका धर्मचन्द्र लावतीलाई दूधमा परेको झिँगा टिपेर फालेझैँ फालियो । माओवादीसँग एकीकरण गर्ने बेला आयोजना गरिएको सम्मेलनमा एकीकरण अनुचित छ भनेर आफ्नो धारणा राखेबापत सुतिरहेकै बेला अमिक–लीलामणि आक्रमणको शिकार भए ।

यस्ता घटना साना ठूला सबै पार्टीमा बग्रेल्ति छन् । अहिले आफन्त, श्रीमती, छोरी–बुहारी, छोरा, भाइभतिजलाई अवसर दिने, मन्त्री सांसद बनाउने, जीएम–राजदूत बनाउने परम्परा बसालिएको छ । त्यस्तो परम्परा सत्तारुढ–प्रतिपक्षी, राष्ट्रिय–क्षेत्रीय, साना–ठूला सबै पार्टीमा कायम छ । झन् अहिले समानुपातिक प्रणालीले त नेताहरूलाई निकै सजिलो भएको छ । कतिसम्म भने अन्तर्जातीय विवाह गरेकाहरूले श्रीमानको थर लिँदा पद पाउन सहज हुन्छ कि माइतीको थरले सजिलो हुन्छ भन्ने आधारमा एउटै पार्टीमा दुईथरी व्यवस्था गरिएको छ । जनजातिबाट सांसद बन्न लीलामणि पोख्रेलकी श्रीमतीले माइतीको थर राखिन् भने देव गुरुङकी श्रीमतीले श्रीमानको । 

यसरी पार्टीभित्रै सारा शक्ति, पद, अवसर एउटा निश्चित समूह र परिवारमा केन्द्रित गर्न थालेपछि समृद्धिको कुरा नारामा मात्र सीमित हुने निश्चित छ । नेताको चुनाव क्षेत्रमा बजेट ओइर्याउने, अयन्त्र र आवश्यक परेको ठाउँमा बजेटै नपठाउने, दुर्गम, पिछडिएको क्षेत्रमा सरकारको नजर नै  नपुग्ने प्रवृत्ति पनि यसैको एउटा पाटो हो । आफ्नो भनेपछि नियम, कानुन पनि नचाहिने आफूसँग असहमति हुने तर सत्यको पक्षमा लाग्नेलाई समाप्त नै गर्ने प्रवृत्ति अहिले हाबी छ । यो प्रवृत्ति नहटाएसम्म जो आए पनि हाम्रो अवस्थामा खासै फरक पर्ने देखिँदैन ।

निर्वाचन अगाडि वाम गठबन्धनले दिएको स्थायित्व र समृद्धिको नाराले उसलाई  बहुमत प्राप्त भएको छ । तर समृद्धिका लागि योजना छनौटमा निष्पक्षता र बजेट विनियोजनमा इमानदारीको खाँचो पर्छ । नेताका आफन्त, आसेपासेको चुरीफुरी हेर्न लायक रहेको अवस्थामा त्यति सहजै समृद्धि हासिल होला भनेर कल्पना गर्न पनि सकिँदैन । अहिले प्रचण्ड र ओलीहरूको जीवन शैली र मोहनचन्द्रहरूको अवस्थाको तुलना गर्दा पनि यथार्थको नजिक पुग्न सकिन्छ । आफ्नै पार्टीभित्र न्याय गर्न नसक्ने, आफन्त, गुट आदिको चङ्गुलबाट उम्कन नसक्नेले सिङ्गो मुलुकलाई न्यायपूर्ण तवरले विकासको मार्गमा डोर्याउने र समृद्धि हासिल गर्ने कुरा खु्रस्चेभी संस्कारको नेपाली संस्करण मात्रै हो यसबाट यो कार्य सम्भव छैन । लेनिनबाट अनुप्राणित जनशक्ति र नेतृत्व समाप्त नै भइसकेको छ । यस्तो अवस्थामा चित्ताकर्षक नाराले मात्र जनता भुलाउने काम हुन सक्छ । 

अतः नयाँ शासन व्यवस्थामा प्रवेश गरिसकेको नेपालमा निष्ठापूर्वक अग्रसर हुने नेतृत्वको खाँचो छ । एकात्मक प्रणाली, राजतन्त्र नै अस्थिरताका जनक हुन् भन्ने अहिलेको नेतृत्वलाई लागेको छ भने उसले आफ्नो नियत सफा छ कि छैन भनेर पनि हेर्नुपर्छ । राजनीतिक आन्दोलनको अध्याय समाप्त भयो भनेर स्याल हुइँया पिट्नुभन्दा समाजमा खतरनाक रूपमा रहेको अनुदार व्यवहार, भेद्भावपूर्ण र नातावाद–कृपावादले चुर्लुम्म डुबाएको मुलुकलाई यस दलदलबाट निकाल्न पार्टीभित्रै सशक्त र प्रभावकारी कदम उठाउन सक्नुपर्छ । त्यसका लागि इतिहासमा महत्वपूर्ण भूमिका खेलेका र योगदान दिएकाहरूको यथोचित कदर गरेर त्यसको थालनी गर्न सकिन्छ । आफ्नो हो कि होइन भन्ने मूल्याङ्कन मापदण्ड फेरेर योग्यता, क्षमता, निष्ठा प्रतिबद्धता, अनुशासन आदिलाई मापदण्ड बनाइनुपर्छ । तब मात्र स्थापित्व, विकास र समृद्धिको नाराको सार्थकता रहन्छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ