केन्द्रीय संस्करण

मधेसको चुनावमा मैले जे देखेँ...

person access_timeपुस ३०, २०७४ chat_bubble_outline0

चुनाव कुनै भोजभतेर होइन् तर भोजभतेरबाट भोटको लेनदेन हुने गरेको पाइन्छ । एकथरी मान्छे यसलाई देशको भविष्य निर्माण गर्ने ऐतिहासिक जिम्मेवारीका रूपमा लिन्छन् । यस्ता मानिसको सङ्ख्या समाजमा अपर्याप्त मात्रामा छन् । अहिलेको समयमा चुनाव लड्न र जित्न उमेदवारसँग मुख्य तिन आधार चाहिन्छ, फुर्सद, पैसा र सहयोगी । यो विषय इमानदार राजनीतिज्ञका लागि अप्रिय लाग्न सक्छ तर चुनावका समयमा देखिने र हुने वास्तविकता यही नै हो । अहिले फेस र बेसको राजनीतिक आधार कमजोर बन्दै गएको छ । यी तीन आधार अधिकारविहीन जनतासँग छैन र हुँनेछैन पनि । त्यसैले निम्न स्तरका जनता र उनीहरूका छोराछोरी कहिले राज्य सञ्चालनको जिम्मेवरीमा पुग्न सक्दैनन् । 

यो राजनीतिक अवस्थाका मुख्य दोषी राज्य र राजनीतिक दल नै हुन् । यस्ता कार्यले गलत राजनीतिक प्रवृत्तिलाई प्रतिस्पर्धाका रूपमा प्रोत्साहन गरिरहेको छ । गलत राजनीतिक अभ्यासले असत्यलाई न्याय र सत्य अन्यायको जन्जिरमा बाँध्छ । फलस्वरूप मुलुकको राजनीतिलाई सही दिशा र गति प्रदान गर्न सक्दैन । न त यसले समाजिक न्याय र अन्तर्विरोधलाई नै सही ढङ्गले हल गरी परिचालन गर्न सक्छ ।

सीमित वर्गको इच्छा पूरा हुँदैमा मुलुकको समृद्धि प्राप्त हुँदैन । सबै वर्ग र समुदायको सपना पूरा  हुन सक्दैन । समान हकअधिकार र समावेशिताका नाममा गणेश प्रवृत्तिलाई काखी च्यापेर आधारभूत जनता अधिकार समपन्न र समावेशीको सिद्धान्त पूरा हुन सक्दैन् । समाजमा रहेका समाजिक विभेद, अन्तर्विरोध अर्थात् गरिब धनिक, शोषित शाषितबीचको खाडललाई नै पुर्न सक्छन् ।

यसखाले राजनीतिक चरित्रबाट अधिकार विमुख वर्गका समस्या राज्यले कहिल्यै हल गर्दैन र विकासले पनि अग्रगति लिन सक्दैन । यतिबेला निर्माणका नाममा एकल जातीय अधिनायकत्व मजबुत हुने प्रवृत्ति डरलाग्दो छ । यसका लागि सही नीति, सिद्धान्त र नेतृत्वको आवश्यकता पर्छ । जनमत पाएका राजनीतिक दलसँग त्यो चीजको अभाव छ । इतिहासदेखि नै यो कुराको पुष्टि हुँदै आएको छ ।

अहिलेसम्म देश र जनताका आधारभूत कामलाई शिरोधार्य गर्नुको सट्टा  राजनीतिक दल र तिनका नेता कर्यकर्ताले निजी स्वार्थप्रति नै लालायित भएको देखिन्छ । समय अनुकूल नारा दिएर जनतालाई भड्काउने र प्रयोग गर्नमा माहिर देखिन्छन् । विना फलिफलाउ आफ्नो दैनिक जीवनमा व्यस्त रहेका सोझा सीधा जनतालाई झुक्याउन केन्द्रित छन् । यसले गर्दा जनता, राजनीतिक दल र तिनका नेताकार्यकर्ता एउटै वर्गका रूपमा देखिन थालेका छन् । परिणाम स्वरूप उनीहरु जति सचेत देखिए पनि पछि पछुताउने आधार बन्ने गरेका छ ।

जनप्रतिनिधि र सर्वसाधारण जनताको  बुझाइ

सप्तरी बोदेबर्साइन नगरपालिका वाडा नं २ काचनका ७८ वर्षीय जैलाल दासले वाडाध्यक्षमा निरन्तर ७ पटक जितेका हुन् । उनका अनुसार चुनाव पहिला पनि हुन्थ्यो, भोजभतेर पनि हुन्थ्यो तर यसरी बस्तीमा पैसाको पोको, मासुको पोका र रक्सीको जर्किन बोकेर भोट माग्ने र भोट दिने  चलन थिएन् । उनी यस पटक पनि वाडाध्यक्षमा उठ्ने योजना बनाएका थिए तर राजनीतिक दलका नेताकार्यकर्ताको क्रियाकलाप र प्रलोभनले घरघर र टोलटोलमा गुटबन्दी भयो । आफू वञ्चित हुनुपरेको सुनाए ।

सिरहा माओवादी केन्द्रका नेता जीवछ यादवका अनुसार, चुनावमा भोट माग्न गाउँ पसेपछि जनताले शर्त राख्ने र भोट अगावै शर्त पूरा गर्नुपर्ने प्रवृत्तिले असल राजनीतिक कार्यकर्ता कहिले जित्न नसक्ने अवस्था सिर्जना भएको छ । जित्नका लागि नीति, सिद्धान्त, आदर्श र विचारभन्दा पैसो नै पहिलो सूत्रधार रहेको महसुस भएको बताए । 

त्यस्तै सप्तरी छिन्नस्ता गाउँपालिका प्रमुख तथा नयाँ शक्ति पार्टीका नेता सूर्यनारायण मण्डलका अनुसार, जनतासँग विश्वासघात नगरेका र विश्वास जमाएका नेतालाई पैसा वा कुनै पनि शक्तिले हराउन नसक्ने तर्क गरे । जनतामा विश्वास नगर्ने र विश्वास गुमाएकाहरू दण्ड, भेद, छलकपट गरेर थोरै जित्ने, प्रतिस्पर्धामा आउने कि त हार्ने नै हुन्छ । यो स्वभाविक हो ।

हामीलाई केही थाहा हुँदैन् । एक सुक्का पाउँदैनाँै । गाउँका अगुवाहरूले पैसा लिन्छन् । हामीलाई जहाँ भोट हाल्न भन्छन्, त्यही हाल्नुपर्छ । कि त जित्ने माहोलतिर हाल्छाँै । नभए समाजबाट बहिष्कारको डर हुन्छ । सिरहा लहान नगरपालिका–५ कि टेड्कि डोमले भनिन् । 

सप्तरी खड्क नगरपालिका–३ गरूराहाका स्थानीय श्यामसुन्दर रामका अनुसार, नेताहरूले मुख्य रूपमा दलित बस्तीलाई निर्णायक भोटका रूपमा खरिद बिक्री गर्छन् । बस्तीमा डरधम्की देखाउने, फसाउने, गुट बनाउने जस्ता खेल गर्छन् र भोट बिगार्छन् । मतदाता शिक्षामा पनि कमी देखियो । दलहरूले आफ्नै तरिकाले भोट माग्ने र भाँड्ने कारणले मत धेरै रद्द हुने अवस्था पनि देखियो । पटक पटक उही अनुहार र खानदानलाई राजनीतिक दलले चुनावी मैदानमा उतारेपछि जनताले आजित भएर नै आफ्नो भोट दिन बाध्य हुन्छ । घरदैलोमा सबैभन्दा धेरै खट्ने र जनताको काम गर्नेले भोट पाउँदैन् । अन्तिम राति जसले बस्तीको बार्गेनिङ गरी आकर्षित गर्न सक्छ, त्यसैको पोल्टामा भोट जाने गर्छ । अनुहारै नदेखेका टुरिस्ट उमेदवारले अन्तिममा जित्ने अवस्था पनि हुन्छ । 

चुनावी दौरानमा राजनीतिक दल र नेताकार्यकर्ताले जनतासँग अहिलेसम्म गरेका आधारभूत जीवनका वाचा कसैले पूरा गर्न सकेका छैन् । दलहरूले चुनावी घोषणा पत्रलाई जनतालाई ठगेर भोट माग्ने भाँडोको रूपमा प्रयोग गर्दै आएका छन् । पछिल्लो समयमा विभिन्न दलहरूले साम्प्रदायिक नारा दिएर राजनीतिक स्वार्थ पूरा गर्दै उद्दत छन् । यसले गर्दा उही पुरानै अनुहार पात्र, प्रवृत्ति र चरित्रले राजनीतिक निरन्तरता पाउँदै आएको छ । 

जनअपेक्षालाई राजनीतिक दलले शिरोधार नगरेसम्म परिवर्तनका आधारभूत समस्या हल गर्न सकिँदैन । यसका लागि सबै राजनीतिक दलले छतीमा हात राखेर निस्वार्थ तरिकाले मन, वचन र कर्मले देश र जनताका हित अनुकूल पाइला चाल्नुपर्छ ।

अर्कोतर्फ राजनीतिक दलमा फस्टाउँदै गएको निरङ्कुश र जातिवादी चरित्रलाई राज्यसताको पहुँचबाट निषेध गर्नुपर्छ । चुनावी मैदानमा पैसा र रक्सीको जर्किन बोकेर बस्ती बस्तीमा भोट माग्दै हिँड्ने प्रवृत्तिलाई उन्मूलन गर्नुपर्छ । उत्पीडित वर्ग, जाति र समुदायलाई राज्यसत्ताको पहुँचसम्म पुर्याउनुपर्छ । अनि मात्र सम्पूर्ण जनताले वास्तविक लोकतन्त्रको प्रत्याभूति गर्नसक्नेछन् र आफ्नो हकअधिकारप्रति सचेत रहने छन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X