शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संकटमा रियल, दबाबमा जिदान

आइतबार, ३० पुस २०७४, ११ : ४९
आइतबार, ३० पुस २०७४

म्याड्रिड । घरेलु मैदानमा रियल म्याड्रिडको समस्या जारी छ । जिनेदिन जिदानको टोली शनिबार सान्टियागो बर्नेबाउमा भिल्लेरियालसँग १–० पराजित भएसँगै रियल ला लिगाको तालिकामा झन् पछि  परेको छ भने फ्रेन्च प्रशिक्षकको जागिर पनि धरापमा परेको छ ।

हिजोको खेलअघि सन् २०१७–१८ मा रियलले घरेलु मैदानमा भ्यालेन्सिया, लेभान्ते, बेटिस, टोटनहम, फुयेनलाब्राडा, बार्सिलोना र नुमान्सियालाई पराजित गर्न असफल भएको थियो । र, अहिले रियललाई बार्सिलोना र बेटिसपछि रियललाई उसैको घरेलु मैदानमा पराजित गर्ने भिल्लेरियाल तेस्रो टोली बनेको छ ।

स्पेनिस र युरोपिन च्याम्पियनले सन् २०१७ मा क्लबको किर्तिमानी पाँच वटा उपाधि जितेको थियो । सिजनको शुरुवातमा बार्सिलोनालाई एक पक्षीय क्लालिसिकोमा हराउँदा रियलले यस्तो संकट बेहोर्ने छ भन्ने कसैले अनुमान गरेका थिएनन् ।

आइतबार बार्सिलोनाले रियल सोसिडाडलाई पराजित गरे ला लिगाको आधा खेल सकिँदा रियल (एक खेल कम खेल्दा) बार्सिलोनाभन्दा १९ अंकले पछि पर्नेछ । यतिमात्र होइन रियल शीर्ष चारमा पर्ने सुनिश्चितता पनि छैन । पाँचौ स्थानमा रहेको भिल्लेरियाल रियलभन्दा मात्र एक अंकले पछि छ ।

गत सिजन लगातार दुई पटक च्याम्पियन्स लिग जितेको रियलले यो सिजन सबैमाथि वर्चश्व जमाउने अनुमान गरिएको थियो । त्यसमाथि गत सिजन जिदानको नेतृत्वमा सन् २०११–१२ पछि पहिलो पटक ला लिगा जितेको रियलका लागि यो नयाँ शुरुवात हुने आशा गरिएको थियो । तर, अहिले लाग्दैछ यो अन्त्यको शुरुवात बन्दैछ ।

भिल्लेरियालसँगको खेलमा टोलीको कमजोरी प्रष्ट रुपमा देखिएको थियो । रियलको खेल पूर्वानुमेय थियो । लुका मोड्रिच, टोनी क्रुस र इस्कोजस्ता खेलाडी भएको जिदानको टोली आशातित रुपमा रचनात्मक थिएन ।

फ्रेन्च प्रशिक्षक उत्कृष्ट उत्प्रेरक र मास्टर ‘म्यान म्यानेजर’ हुन् । तर, उनी रणनीतिक रुपमा त्यति सशक्त छैनन् । उनको सफल कार्यकालमा उनी खेलाडीहरुको उत्कृष्ट प्रदर्शनमा निर्भर थिए ।

तर, यो सिजन उनको चर्चित फरवार्ड लाइन कि त घाइते रह्यो कि फर्मभन्दा बाहिर रह्यो । ला लिगामा गोलको खडेरी नै लागेको छ । हिजोको खेलअघिसम्म ला लिगामा रियलका कुनै पनि खेलाडीले चारभन्दा धेरै गोल गर्न सकेका थिएनन् ।

रियलको इतिहासमा कहिले पनि यस्तो भएको थिएन र हिजोको खेल पछि त्यो केही बदलिएन । रियलले शनिबारको खेलमा यस सिजन कुनै पनि टोलीले गरेको भन्दा धेरै २८ पटक विपक्षीको पोष्टमा आक्रमण गरेको थियो, तर नतिजा शुन्य रह्यो ।

यसमध्ये क्रिस्टियानो रोनाल्डोले एक्लै ११ पटक विपक्षीको पोष्टमा आक्रमण गरेका थिए । तर, धेरै पोष्टभन्दा बाहिर गएको थियो भने एउटा भिल्लेरियालका गोलकिपर सर्जियो असेन्जोले उत्कृष्ट बचाउ गरेका थिए । ३२ वर्षीय खेलाडीको खराब खेलमध्ये एक थियो हिजोको खेल । अन्त्यमा फाब्लो फोर्नालको गोलबाट उनीसँगै टोली स्तब्ध बन्न पुग्यो ।

यस्तो खेल प्रदर्शन गर्ने हो भने रियलसँग खेल्न कुनै पनि टोली डराउनेछैन । च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेनको सामना गर्न लस ब्लाङ्कोसले केही परिर्वतन गर्न जरुरी छ ।

ला लिगाको आशा समाप्त भइसकेको अवस्थामा रियलले अब युरोप र कोपा डेल रेमा आफ्नो ध्यान केन्द्रीत गर्न जरुरी छ । फरवार्डले धोका दिइरहेको अवस्था जिदानले नयाँ रणनीतिक योजना ल्याउन जरुरी छ ताकि रियललाई फेरि प्रतिस्पर्धात्मक बनाउन सकियोस् ।

रियललाई आफ्नो नेतृत्वमा २०१७ मा पाँचौ उपाधि, समग्रमा सातौँ उपाधि, दिलाएको एक महिनामा नै जिदानले आफ्नो जागिर जोगाउन ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप