बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उरुग्वेको फेरिएको फुटबल र अबको बाटो

आइतबार, ३० पुस २०७४, १० : ५५
आइतबार, ३० पुस २०७४

काठमाडौँ । आफ्नो १२ वर्षे कार्यकालमा प्रशिक्षक ओस्कार वासिङटन टावरेजले उरुग्वेलाई फेरि विश्‍व फुटबलको शक्ति बनाएका छन् । जब, टावरेजले भर्खर प्रशिक्षणमा पाइला चालेका थिए । त्यतिबेला विश्व फुटबलबाट गुमनाम हुने अवस्थामा पुगेको उरुग्वे विश्वकपमा छनोट भएको थियो । यो थियो, १९९० को विश्वकपको कुरा । त्यतिबेला टावरेजको उमेर थियो, ४२ वर्ष ।

टावरेजले छाडेपछि उरुग्वेमा १६ वर्षभित्र १२ प्रशिक्षक फेरिए ।  यसबीच भएका ४ मध्ये उरुग्वेले सन् २००२ को विश्वकपमात्रै खेल्न पायो । सन् २००६ मा टावरेज फेरि उरुग्वेको प्रशिक्षक नियुक्त भए । त्यस संस्करणको विश्वकप खेल्न नपाएको उरुग्वेलाई सन् २०१० को विश्वकपमा छनोट गराउने जिम्मा टावरेजलाई दिइएको थियो । दोस्रो कार्यकालमा प्रशिक्षक बन्दा उनी ५८ वर्षको भइसकेका थिए ।

यी पाका प्रशिक्षकको अनुभव र युवा खेलाडीको जोशले उरुग्वे आज फेरि विश्व फुटबलको हेर्नलायक टोली बनेको छ । सन् २०१० को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा गरेको उरुग्वे यसपटक दक्षिण अमेरिकाबाट दोस्रो स्थानमा रहेर विश्वकपका लागि छनोट भयो ।  

ब्राजिलले दक्षिण एशियाली समुहबाट शीर्ष स्थानमा रहेर विश्वकपको यात्रा तय गर्दा विश्वकपमा छानिएका दक्षिण अमेरिकाका अन्य ३ टोली अर्जेन्टिना, कोलम्बिया र पेरुभन्दा उरुग्वेले छनोटमा राम्रो खेल्यो । छनोट चरणका१८ खेलमध्ये ९ खेल जितेको उरुग्वेले ४ खेल बराबरी खेल्यो भने ५ खेलमा पराजित भयो ।

उरुग्वेले टावरेजको कार्यकालमै सन् २०११ को कोपा अमेरिका उपाधि समेत जित्यो । यी सबै सफलता अन्डर २० टोलीसँग जोडिएको छ । जब आधुनिक फुटबलको कुरा आउँछ, त्यतिबेला ३० लाखभन्दा केही बढी जनसंख्याको यो सानो देशले विश्वकै लोकप्रिय खेलमा यस्तो सफलता हासिल गर्ला भनेर पत्याउन गाह्रो हुन्छ । हुनत स् इतिहास फरक छ । उरुग्वे विश्वकप फुटबलको सुरुवाती संस्करणको विजेता हो । सन् १९५० मा पनि उसले यो उपाधि जितेको छ । दक्षिण अमेरिकाको सर्वोच्च फुटबल प्रतियोगता कोपा अमेरिका उसले सर्वाधिक १५ पटक (अर्जेन्टिना पनि १५ पटक) जितेको छ ।

तर समय पनि फरक भइसकेको  छ । अहिलेको फुटबल कठिन बन्दै गइरहेको छ । धेरैभन्दा धेरै खर्च फुटबलमा भइरहेछ । विश्वका लगभग सबै देशले अन्तर्राष्ट्रय फुटबल खेल्छन् । यस्तो चुनौतीपूर्ण परिस्थितिमा सानो राष्ट्र उरुग्वेले निकालेको नतिजालाई सन्तोषजनक नै मान्‍नुपर्छ । 

उरुग्वेको सबैभन्दा ठूलो चुनौती नै नयाँ(नयाँ खेलाडी जन्माउनु हो किनकी उसले आफ्ना उत्कृष्ट खेलाडीलाई घरेलु लिगमा होल्ड गरेर राख्‍न सक्दैन । उत्कृष्ट खेलाडी विश्वका ठूला लिगमा गइ नै हाल्छन् । त्यसैले ग्रास रुटको फुटबल विकासमा ध्यान दिनुबाहेको उरुग्वेसँग अर्को विकल्प छैन ।

परिस्थिति यस्तो छ कि, प्रशिक्षक टावरेज क्लबका लागि खेलाडी खोज्ने स्काउटजस्तै देखिन्छन् । उनले उत्कृष्ट खेलाडी उत्पादन गर्ने बित्तिकै युरोपका ठूला क्लबले ति खेलाडी लैजानेछन् ।

जस्तो, गत वर्ष इक्वेडरमा भएको यु-२० दक्षिण अमेरिकी च्याम्पियनसिपलाई नै हेर्दा हुन्छ । यस प्रतियोगितामा उत्कृष्ट खेल्दै उरुग्वेलाई उपाधि जिताउने धेरै खेलाडी ब्राजिल, अर्जेन्टिना र युरोपका विभिन्‍न क्लबमा आबद्ध भइसकेका छन् । यही प्रतियोगितामा उत्कृष्ट खेलेका रोड्रिगो बेन्टान्कर त्यतिबेला अर्जेन्टिनाको बोका जुनियर्सबाट खेल्थे । अहिले इटलीको युभेन्टसमा छन् । सान्टियागो बुइनो बार्सिलोनाको युवा टोलीमा छन् । निकोलास सियापाकासेले एथलेटिको म्याड्रिड र फेडरिको भाल्भार्डेले रियल म्याड्रिडको युवा टोलीबाट खेलिरहेका छन् ।

यस युवा टोलीले गत वर्ष नै दक्षिण कोरियामा भएको यु–२० विश्वकपमा सेमिफाइनल यात्रा गरेको छ ।

उरुग्वेका लागि नतिजाभन्दा पनि अन्तर्राष्ट्रिय प्रतियोगिताबाट खेलाडीले पाउने एक्सपोजर ठूलो हो । ताकि, उनीहले भविष्यमा विश्वका ठूला लिगबाट खेल्ने अवसर पाउन् । राम्रा-राम्रा क्लबबाट खेल्दै देशलाई चिनाइरहुन् । त्यसपछि, अन्तर्राष्ट्रिय प्रतियोगितामा उनीहरुले निलो जर्सीमा गर्ने प्रदर्शन त भइ नै हाल्यो ।

उरुग्वे यसरी नै युथ प्रतियोगिताहरुबाट खेलाडी उत्पादन गर्दै आएको छ । सन् २००७ को यु-२० टोलीबाट एकसाथ खेलेका लुईस सुआरेज, इडिन्सन कामानी र मार्टिन सासिरेस अहिले राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य छन् । २ वर्षपछि निको लोडिइरो, अब्दल हर्नान्डेज, गास्टोन रेमिरेज, सेवास्टियन कोआटेस, सन् २०११ मा माथियस भेसिनो, २०१३ मा जोसे मारिया गिमिनेज, डियगो रोलान, गास्टोन सिल्भा, डियगो लाछाल्ट र गियोर्जियनडि अर्रास्केइटा खेलाडी उत्पादन भए । यस वर्ष विश्वकपमा उरुग्वेलाई छनोट गराउने क्रममा यी खेलाडीहरुले कुनै न कुनै खेलमा उरुग्वेको प्रतिनिधित्व गरेका छन् ।

सन् २०१५ को यु-२० टोलीका गोलकिपर गासटोन गुरुसियगा र मिडफिल्डर  नाहितान नान्डेज तथा गास्टोन पेरेइरोले राष्ट्रिय टोलीबाट खेलिसके । नान्डेज अर्जेन्टिनाको बोका जुनियर्स तथा पेरेइरो नेदरल्यान्डसको पिएसभी इन्डहोभिनबाट खेल्छन् ।

यसरी उरुग्वेले नयाँ-नयाँ खेलाडी जन्माइरहेको छ । विश्वकपअघि टावरेजको आँखा फेरि पनि नयाँ खेलाडीहरुमा छ । विश्वकप खेलेर राम्रो प्रदर्शन देखाउन सके युवा खेलाडीहरुले आफ्नो भाग्य बदल्न सक्‍नेछन्  । जसरी काभानीले बदले । जसरी सुआरेजले बदले । स्पष्ट के छ भने राम्रो खेल्नेलाई उरुग्वेका क्लबहरुले पाल्न सक्दैनन् । सुआरेज र काभानीले जस्तै उनीहरुले पनि युरोपका ठूला क्लबको यात्रा गर्नेछन् । प्रशिक्षक ओस्कार टावरेज जति बुढो हुँदैछन् , टोली त्यति नै युवा देखिएको छ । अहिले टावरेज ७० वर्षको पुगिसकेका छन् । त्यसैले अपेक्षा के गरिएको छ भने यो नै उनका लागि अन्तिम विश्वकप हो ।

त्यसो भए टावरेजपछि के ? यो पनि स्पष्ट छ । उरुग्वेले आफ्नो टोलीलाई सधैंको शक्ति बनाउने हो भने खेलाडी उत्पादन गरेर मात्रै पुग्दैन । उत्कृष्ट प्रतिभाहरुलाई देशमै राख्‍ने वातावरण पनि सिर्जना गर्नुपर्छ अर्थात  घरेलु लिगलाई पनि बलियो बनाउनुपर्छ ।  अहिलेको अवस्था हेर्दा त्यस्तो देखिदैंन । पछिल्लो पटक गत नोभेम्बरमा पोल्यान्ड र अस्ट्रिया विरुद्ध खेल्न निस्किएको फुटबल टिमका २३ जनामध्ये ३ जनाले मात्रै उरुग्वेबाट लिग खेल्छन् । त्यही टिममा स्पेनिस लिग खेल्ने ६ खेलाडी छन् । उरुग्वेको घरेलु लिग कति कमजोर छ भन्‍ने यहींबाट थाहा हुन्छ । यस्तो अवस्थाले उरुग्वे सधैं शक्तिशाली बन्‍न सक्दैन ।

कम्तिमा राष्ट्रिय टोलीका केही खेलाडीहरुलाई देशमै राख्‍न सक्‍ने वातावरण बनाउन सके अथवा त्यो पनि नसके सन्यासको समय नजिकिंदै गरेका स्टारहरुलाई घरेलु लिगमा फर्काउन सक्‍नुपर्छ  । ताकि, उनीहरुको अनुभवले युवा पिढींलाई हौसला मिलोस् । जस्तो, ब्राजिल  अर्जेन्टिनाका क्लबहरुले गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप