शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माध्यमिक परीक्षाका दुई निकाय समायोजनमा ढिलाइले अन्योल

शनिबार, २९ पुस २०७४, २० : २२
शनिबार, २९ पुस २०७४

–प्रकाश सिलवाल 

काठमाडौँ - माध्यमिक शिक्षाको संरचनात्मक परिवर्तनका लागि शिक्षा ऐनको आठौँ संशोधन लागू भएको १८ महिना बितेपनि राष्ट्रिय परीक्षा बोर्ड र पुरानो परीक्षा नियन्त्रण कार्यालय (पनिका), सानोठिमीबीचको समायोजनमा ढिलाइ भएको छ । 

संशोधित ऐनअनुसार कक्षा ९ देखि १२ सम्मको माध्यमिक शिक्षाको परीक्षा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट रुपान्तरित बोर्डको भए पनि यस वर्षसमेत कक्षा १० को माध्यमिक शिक्षा परीक्षा सञ्चालनको कार्य पनिकाले गर्दैछ । बोर्डले कक्षा ११ र १२ को परीक्षा मात्र सञ्चालन गरिरहेको छ । 

बोर्डमा एक वर्षसम्म अध्यक्ष नियुक्ति नहुनु तथा शिक्षा मन्त्रालयले स्थानीय तहमा समायोजन भई जाने कर्मचारीको टुङ्गो लगाउन बाँकी रहेकाले दुई परीक्षा कार्यालयबीच समायोजन हुन ढिलाइ भएको हो । बोर्ड स्वायत्त निकाय र पनिका मन्त्रालयको मातहतको कार्यालय हो । बोर्डको मातहतमा कक्षा ११ र १२ का लागि आफ्नै परीक्षा नियन्त्रण कार्यालय छ । 

हाल बोर्डमा अस्थायीसहित कुल ३४० कर्मचारी छन् भने पनिकामा ६५ कर्मचारीको दरबन्दी छ । बोर्डले पनिकामा रहेको दरबन्दी उपलब्ध गराउन सरकारसँग माग गरेको छ । पनिकाका शिक्षा सेवाका कर्मचारी बोर्डमा सरुवा भएमा काजमा जानुपर्ने हुन्छ । 

बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले दुई कार्यालयको समायोजन नहुँदा आफूहरुले प्रत्यक्षरुपमा कक्षा ११ र १२ को मात्र परीक्षा सञ्चालन गरिरहेको बताउँदै स्थानीय तहमा कर्मचारी समायोजन कार्यले पूर्णता पाएर प्रदेशको राजधानी तथा नयाँ सरकार बनेपछि कक्षा ९ देखिको परीक्षा पूर्णतः आफूहरुले लिने बताउनुभयो । 

परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले दुई निकाय गाभ्ने काममा ढिलाइ भएको स्वीकार्दै ऐन र नीतिअनुसार माध्यमिक शिक्षाको परीक्षा सञ्चालनका लागि प्रयास भइरहेको बताउनुभयो । शिक्षा ऐन (२०२८) को आठौँ संशोधन २०७३ असार १५ मा प्रमाणीकरण भई कार्यान्वयनमा आएको सो ऐनले कक्षा १ देखि ८ सम्म आधारभूत र ९ देखि १२ सम्म माध्यमिक शिक्षाको संरचना मानेको छ । विसं २०७२ मा लागू भएको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) ले पनि सोही प्रकारको विद्यालय संरचनाको अवधारणा अघि सारेको थियो । 

मन्त्रालय मातहतको पनिकाले हाल बोर्डले अख्तियार गरेको अधिकारका आधारमा कक्षा १० को परीक्षा सञ्चालन गर्दै आएको छ । शिक्षा मन्त्रालयको २०७३ असार १६ को निर्णयबाट साविकको परिषद्ले गरी आएको उच्च माध्यमिक तहको विद्यालय व्यवस्थापन÷प्रशासनसम्बन्धी कार्य शिक्षा विभागले गरिरहेको छ । परिषद्को पाठ्यक्रम महाशाखाका सम्बन्धित अभिलेख तथा कागजात पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गरिएको छ ।Þ 

परीक्षा व्यवस्थापन गर्न साविकको परिषद् हाल राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कार्यालयले जिल्ला शिक्षा कार्यालयको समन्वयमा सञ्चालन गर्ने र नतिजा प्रकाशन जिल्ला शिक्षा कार्यालयले गर्ने हालको अन्तरिम व्यवस्था रहेकोमा आगामी चैतमा जिशिका खारेजीसँगै जिल्ला तहमा परीक्षाको नयाँ संयन्त्र बन्नुपर्ने देखिन्छ । बोर्डका प्रदेश नं ६ मा बाहेक अन्य प्रदेशमा कार्यालय रहेपनि जिल्लामा कुन सरकारी निकायले परीक्षाको व्यवस्थापन गरिदिने भन्ने अन्योल छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप