शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ राष्ट्रपति भण्डारीको ‘डिनर पोलिटिक्स’

शनिबार, २९ पुस २०७४, ११ : ५५
शनिबार, २९ पुस २०७४

काठमाडौं–एक साताभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा डिनरको आयोजना गरेकी छिन् ।
डिनर १
राष्ट्रपति विद्यादेखि भण्डारीले २३ गते साँझ एमाले र माओवादी केन्द्रका १२ नेतालाई डिनर दिइन् । एमालेका ६ माओवादी केन्द्रका ६ प्रभावशाली नेताहरूलाई बोलाएर डिनर दिइन् ।
 
डिनरका लागि आफ्नो निवासमा भण्डारीले एमालेका तर्फबाट पूर्वसभामुख साथै ओली समूहका नेता सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल सचिव प्रदीप ज्ञवाली र शंकर पोखरेललाई बोलाइन् ।
 
माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, वर्षमान पुन, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत राष्ट्रपतिको डिनरमा सहभागी भए । भण्डारीले नेता कृष्णबहादुर महरालाई बोलाए पनि उनी भने काठमाडौंमा थिएनन् ।
 
यो डिनरमा पछिल्लो राजनीतिक अवस्था, एमाले–माओवादी एकता, नयाँ सरकार गठन, शक्ति बाँडफाँडलगायतका विषयमा खुलेरै कुरा भएको डिनरमा सहभागी एक नेताले बताए ।
 
डिनर–२
राष्ट्रपति भण्डारीले माओवादी केन्द्र केन्द्रका अध्यक्ष प्रचण्डको परिवारलाई डिनर दिइन् । शुक्रवार साँझ अर्थात पुस २८ गते शीतलनिवासमा राष्ट्रपति भण्डारीले डिनर दिइन् ।
 
बेलुकी साढे ५ बजे परिवारसहित शीतल निवास पुगेको प्रचण्ड परिवार ४ घण्टा त्यहाँ बिताएर साढे नौ बजे खुमलटारस्थित आफ्नो निवासमा फर्किएको थियो ।
 
राष्ट्रपति निवासमा प्रचण्ड परिवारलाई दिइएको डिनरमा पत्नी सीता,  भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका दुबै छोरा प्रसिद्ध र प्रणब सहभागी थिए ।
 
डिनरमा जेठा ज्वाइँ सागर केसी र उनका छोरीहरु, कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्य लगायत उनीहरुका सबैजना छोराछोरी समेत सहभागी बने ।
 
राष्ट्रपतिसँग डिनरवारेको तस्बीर प्रचण्डका कान्छा ज्वाई जीवनले फेसवुमा राखेका थिए । दिउँसो म्याग्दीको कार्यक्रम सहभागी भएर साँझ प्रचण्ड काठमाडौं फर्केका थिए । त्यसलगत्तै उनी परिवारसहित डिनरका लागि राष्ट्रपति निवास पुगेका थिए ।
 
डिनरको सन्देश के ?
एक साताभित्र राष्ट्रपति भण्डारीले दुई वटा महत्वपूर्ण डिनरको आयोजना गरिन्,
जुन यस अघि उनको परम्परा थिएन ।
त्यसो भयो यी डिनरभित्र के छ त सन्देश ?
 
राष्ट्रिय राजनीतिमा अर्थपूर्ण त्यसमा पनि बामगठबन्धनको निर्णय प्रक्रियामा भूमिका खेल्न सक्ने १२ जना नेतालाई डिनर दिएर राष्ट्रपति भण्डारीले केही सन्देश दिन खोजेकी छिन् । जानकारहरु मान्छन्, ‘डिनर ती नेतालाई प्रभावित गर्ने र आफ्नो पक्षमा निर्णय लिन बाटो खोल्ने राष्ट्रपतिको सानो अस्त्र हो ।’
 
एमाले–माओवादी गठबन्धनका एक शक्तिशाली खेलाडी हुन् प्रचण्ड । तीनै प्रचण्डको परिवारलाई डिनर दिएर राष्ट्रपतिले सम्बन्ध अझ राम्रो बनाउन चाहेको सन्देश दिएकी छिन् । प्रचण्ड परिवारको शीतलनिवासमा चार घण्टा लामो बसाई अर्थपूर्ण हुने नै भयो ।
 
एमालेका एक नेता, जो राष्ट्रपतिसँग नजिक पनि मानिन्छन्, उनका अनुसार राष्ट्रपति भण्डारीले यस्ता डिनर दिएर आफ्नो कार्यकाल दोहोर्याउनको लागि लबिङ गरिरहेकी छिन् ।
 
राष्ट्रपतिको आफ्नो रुचि र त्यहीँस्तरको सक्रियता पनि छ । एमाले अध्यक्ष ओलीको चाहाना छ । माओवादी अध्यक्ष प्रचण्ड पनि सकारात्मक जस्तो देखिएका छन् । यी जोडकोणमा राष्ट्रपतिमा दोहोरिन सक्ने विद्याको आंकलन छ ।
 
राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा संघीय र प्रदेश सांसदहरूको मत चाहिन्छ, जहाँ एमाले र माओवादीको प्रस्ट बहुमत छ । यो सुविधाजनक बहुमतका बलमा राजनीतिक वातवरण बनाए सहजै राष्ट्रपति बन्न सकिने भण्डारीको सोच रहेको उनी निटक एक नेता मान्छन् ।
 
चुनावपछि सक्रिय
चुनावपछि देखिएका केही राजनीतिक जटिलता फुकाउन राष्ट्रपति आफै पनि सक्रिय बनिन् । जस्तो कि उनले लामो समय आफैले रोकेको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणीकरण गरिन् । राजनीतिक दलका नेताहरुलाई बोलाएर परामर्श पनि गरिन् ।


प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि आफ्नो निवासमा बोलाएर भण्डारीले नयाँ जनादेश अनुसार नयाँ सरकार गठनका लागि ठाँउ छोडिदिन आग्रह गरिन् ।
प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवलाई बोलाएर निर्वाचन परिमाम चाँडो सार्वजनिक गर्न ‘दवाव’ नै दिइन् । संवैधानिक जटिलताको व्याख्या गर्दै आयोगले राष्ट्रपतिको आग्रह भने मानेन ।
प्रदेशको अस्थायी राजधानी नतोक्ने मनिस्थितिमा पुगेका प्रधानमन्त्री देउवालाई बोलाएर राष्ट्रपति भण्डारीले अस्थायी राजधानी तोक्ने सरकारको संवैधानिक काम भएको स्मरण गराइन् ।
 
पुन र घर्तीको पनि चाहना
राष्ट्रपति भण्डारीजस्तै उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनशरी घर्तीले पनि दोहोरिने चाहना राखेका छन् । यसका लागि विभिन्न शक्ति केन्द्रमा उनीहरुले पनि लविङ शुरु गरेको स्रोतहरु बताउँछन् ।
 
संवैधानिक सुविधा
नयाँ संंविधानले राष्ट्रपति र उपराष्ट्रपति दुवैलाई फेरी नयाँ व्यवस्थाअनुसार चुनिएर आउन पाउने व्यवस्था गरेको छ । यही बाटो हुँदै राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र सभामुख घर्तीले कार्यकाल दोहोर्याउन चाहेका हुन् ।
 
संघीय संसद र प्रदेशसभाका सांसदले मतदान गर्ने निर्वाचक मण्डलबाट नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गरेपछि भण्डारी र पुनको कार्यकाल स्वतः अन्त्य हुने छ ।
 
तर, एमालेको संस्थापनपक्ष विद्यालाई दोहोराउन चाहन्छ । यद्यपी बरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपतिका लागि सार्वजनिक रुपमै रुचि राखेका छन् । ओलीले विद्यालाई अगाडि सारेपछि प्रचण्ड पनि यसका लागि करिव–करिव सकरात्मक जस्तो बनेका छन् ।
 
छोटो कार्यकाल
 
भण्डारी दुई वर्ष मात्र राष्ट्रपति भएकी छन् । यसअघि रामवरण यादवले करिब आठ वर्ष बिताएका थिए ।
भण्डारीको दुईवर्षे कार्यकाल विवादरहित ढंगले बितेको र एमाले अध्यक्ष ओलीसँग विश्वासको सम्बन्ध भएका कारण पनि उनलाई पुनः राष्ट्रपति बनाउँदा सत्ता सञ्चालन सहज हुने एमालेवृत्तमा बुझाइ  छ ।
एमाले–माओवादी एकता तयारीमा लागेकाले भण्डारीलाई दोहोर्याउँदा मदन भण्डारीको सम्मान गरेको पनि ठहर्ने तर्क एमाले नेताहरूले गरेका छन् । भण्डारी नै निरन्तर हुँदा तत्काल पूर्व राष्ट्रपतिको रुपमा उनका लागि भिन्दै व्यवस्था पनि गर्न नपर्ने तर्क पनि कतिपयको छ ।
 
 
पार्टी एकता र शक्ति बाँडफाँड
एमाले–माओवादीबीचको पार्टी एकतामा शक्ति बाँडफाँड सवैभन्दा महत्वपूर्ण मुद्दा हो । पार्टी एकता संयोजन समिति र प्राविधिक विषय टुंगाउन गठित कार्यदलमा पनि शक्ति बाँडफाँड नै प्रमुख एजेन्डा हो ।
भारी बहुमतले अघि रहेका यी दुई पार्टी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख र उपसभामुख कसले के लिने भन्नेमा छन् । पार्टीभित्रको शक्ति बाँडफाँड पनि छदैछ । दुवै पार्टीका नेताहरू सत्ता बाँडफाँटको छलफलबारे औपचारिक मुख खोल्न चाहँदैनन् । ‘आगामी सत्ताको बाँडफाँट कसरी गर्ने भनेर छलफल भएको छ । टुंगो लागेको छैन ।’ उनीहरु भन्छन् ।
 
एमाले नेताहरुको दावी छ कि, राष्ट्रपति, प्रधानमन्त्री र सभामुख एमालेबाटै बन्नेछन् ।
 
एमाले अध्यक्ष केपी ओली निर्विवाद रूपमा प्रधानमन्त्री बन्दैछन् । त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत सबै नेताहरू सहमत छन् ।
 
एमालेले केहीकारण देखाएर राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको दावी गरेको छ । जस्तो कि, गठबन्धन गरेर निर्वाचनमा गए पनि प्रत्यक्ष र समानुपातिक दुवैमा माओवादीभन्दा दोब्बरभन्दा बढी सिट ल्याएको एमालेको पहिलो दावी छ ।
 
प्रदेश–१ र ३ मा एक्लैले प्रदेश सरकार बनाउने अवस्था रहेको एमालेको अर्को दावी छ ।
वाम वर्चस्व रहेका ६ वटै प्रदेशमा माओवादीभन्दा धेरैले अघि रहेको एमालेको अर्को दावी छ ।
यी दावी पेस गरेर एमालेले तीन महत्त्वपूर्ण पद राष्ट्रपति, प्रधानमन्त्री र सभामुख आफैँले राख्न चाहेको छ ।
‘बाँडफाँडका क्रममा सभामुख माओवादीलाई दिन सकिने विकल्प पनि एमालेले खुला राखेको छ । तर, राष्ट्रपति र प्रधानमन्त्रीचाहिँ एमालेबाटै चुनिनेछन् ।’ एमालेका एक स्थायी समिति सदस्यले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप