बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कविता-टाई–सुटको मूल्य

शनिबार, २९ पुस २०७४, १० : १९
शनिबार, २९ पुस २०७४

हिरामणि दुःखी
तपाइँले लगाएको टाई–सुटको मूल्य 
कति पर्छ कमरेड ?
जान्नु थियो मलाई त्यसको मूल्य
साँच्चै कति पर्दोरहेछ हँ ?
...
माफ गर्नुहोला कमरेड
मैले आफ्नो लागि होइन
तपाइँको गाथमा ठाँटिएको
टाई–सुटको मूल्य सोधेको
त्यत्रो आँट मैले कसरी गर्नु कमरेड ?
नत म तपाइँको सरकारी निवासमा
खादा र बुकी लिएर आउन सक्छु
नत मेरो गाउँको चौरीमा तपाइँ
हेलीबाट ओर्लेपछि
डिनरमा ककटेलको व्यवस्था गर्न सक्छु
म बबुरोको त्यत्रो हिम्मत 
कहाँबाट आउनु कमरेड ?
....
देखिरहेछु मैले 
तपाइँको टाई–सुटमा
त्रिवेणीमा जीवन खोज्दाखोज्दै पोखिएको
विजय घलेको कट्कटिएको रगत
घोराहीमा पेटको मूल्य खोज्दा खोज्दै
एलएमजीले उधिनेको
सपनाको एक टुक्रा आन्द्रा
मनिमारेको चौरमा छिरलिएको
सुनिलको एक मुठि गिदी
बर्गद्दीको खलियानमा
यत्रतत्र छिरलिएका
‘थारु’हरूको निर्जिव शरीर
दोरम्बामा दोब्रिएका हाड र छाला
बेथानमा बैंस गुमाएका
‘तिफदी’का यौवनहरू
तपाइँको टाई–सुटमा
मज्जैले टल्किइरहेछन् कमरेड ।
...
बर्मझियाका माडसाव
आँपपिपलका हेडसर
पूर्वेली विशाल र कुमार
त्रिचन्द्र कलेजमा कविता गुन्गुनाउने
इच्छुकहरूका सपना
मेचीकालीका हर मोर्चामा
कोटा पूरा गर्ने राप्तीका जोवनहरू
अथवा,
लखनऊ, बरेली र बहराइचबाट 
बेपत्ता पारिएका अर्धमृत जोवनहरू
अनेकोट, भावाङ, लहँ 
मुठभरा र जुफालका पाखाहरूमा
सारङ्गी रेट्दा रेट्दै
आफैँ रेटिएका सुरिला गीतहरू
सबैसबै
सौदा भएछन् कमरेड
तपाइँको टाई–सुटका लागि
त्यसैले यसको मूल्य 
महङ्गो होला हैन कमरेड ?
साँच्चै कति पर्दोरहेछ हँ यसको मूल्य ?
...
मेरो बारी र खेत खलियानका
विषालु झार उखेलेर
हिँड्थे जब तपाइँका नाङ्गा गोडा
गुप्तिलो ओत खोज्दै
कति सुन्दर देखिन्थे 
तपाइँका हिलाम्मे गोडाहरू
कति चमकदार थियो 
तपाइँको गुप्तवासको अनुहार
यतिखेर सुपर मार्केटबाट झिकाइएका 
शाही परिवारका
अत्तर र क्रिमले पनि तपाइँको अनुहार
किन अमिलो र उदासी देखाउँछ कमरेड ?
जब तपाइँका गोडाका बुटहरू
प्राडो र स्कार्पियोबाट ओर्लेर
उच्चकोटीको टाई–सुटको 
अर्डर गर्न पस्छन् श्रेष्ठ टेलरिङभित्र
र, पनि शरीरमा स्फुर्ती 
किन आउँदैन कमरेड ?
भन्नुस् त कमरेड
तपाइँको गाथमा सजिएको 
टाई–सुटको मूल्य कति पर्छ ?
जान्नु थियो मलाई त्यसको मूल्य
साँच्चै कति पर्दोरहेछ हँ ?
के त्यसको मूल्य सोध्नु
अर्घेल्याइँ होला र कमरेड ?
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप