केन्द्रीय संस्करण

कविता: दुःखले आर्ज्याको मुलुक

person access_timeपुस २९, २०७४ chat_bubble_outline0

-लक्ष्मण सिटौला  

कप्तान किनलकले २४ सय फौज लिई नेपाल खान आउँदा 
तिमी कुन होटेलमा डिस्को नाच्दैथ्यौ ?
गुरगुन खाँले तीन हजार फौज लिई
नेपाल निल्न आउँदा 
तिमी कता सुसेली हाल्दैथ्याँै
भन ओ मेरो दाजु !

पृथ्वीनारायणले यो देश नजोगाइ दिएका भए 
यतिखेर भारतको दरवानीमा कुल्ली गर्दै
नाम्लोले कुचिएको तालुमा
आलुको भारी बोक्दै 
गल्ली गल्ली हल्लिरहेका हुन्थ्यौ ?

नेपाली टोपी होइन, भारतीय धोतीमा उभिन्थ्यौ
अङ्ग्रेजले मान्ने नयाँ वर्ष, क्रिसमसमा र भ्यालेन्टाइनमा
ठमेलका गल्लीमा हल्लिने हे नेताहरू हो !
अलिकति लाज छैन ?
आज पृथ्वीनारायणले आर्जेको जमिनमा टेकेर
पृथ्वीनारायणलाई टाउकोमा बोकेर हिँड्ने कि
म्युजियममा राख्ने भन्न तिमीलाई लाज लागेन ?
इतिहास मेटेर कुन राष्ट्रवादका कुरा गर्छौ तिमी 
गाई काटेर रगत पिउँदा कुन धर्मको बयान गर्छौ तिमी ?
आफ्नो आमालाई आमा नभनेर

सौतेनी आमालाई आमा भन्न कुन पुस्तकले सिकायो ?
देश साक्षी छ, चन्द्र सूर्य झन्डा साक्षी छन्
तारा, जून, आकास साक्षी छन्
तलेजु भवानी साक्षी छिन् कुमारी देवी साक्षी छिन्
काष्ठमण्डप साक्षी छ, कीर्तिपुरको तरबार साक्षी छ
गोर्खा दरबार जस्ताको त्यस्तै साक्षी  छ 
यो देश पृथ्वीनारायणको सोच र सङ्घर्षको प्रतीक हो 
यो देश सानो दुःखले आर्जेको होइन
पृथ्वीले जिम्मा दिएर गएको देशलाइ सम्हाल 
माया गर, कर्तव्य पूरा गर

जसले हामीलाई गुलामी हुनबाट बचाए
तिनका सालिक भत्काउनु र तिनकै विरोध गर्नु
के त्यही थियो तिम्रो अन्धराष्ट्र भक्ति ?
र तिनलाई कुल्चिनु के राम्रो हो ?
यतिखेर को सामन्ती हो ? पृथ्वी कि तिमी हामी ?

दाइजो नल्याएको निहुँमा
आगो लगाएर बाल्न तयार छौ बुहारीलाई 
देश बाल्न पनि सिपालु छौ 
राम्रो कामको अनुसरण गर्न त सिक ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X