शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यात्रा संस्मरण: ऐतिहासिक गोरखा दरबार

शनिबार, २९ पुस २०७४, ०८ : ३९
शनिबार, २९ पुस २०७४

-मोहम्मद वाहिद अली   

राजा देशका अभिभावक हुन् भन्ने सोचले मन मस्तिष्कमा जरो गाडेको थियो । बुढापाकाहरू भन्ने गर्थे राजा देशका गहना हुन् । घरको पुरानो फोटो एल्बममा राजारानीको स्याङ्जा भ्रमणका बेलाका केही स्मरणीय फोटोहरू थिए । जुन हामीले बेलाबखत हेर्ने गथ्र्यौ । बुबा राजारानीको स्वागतका निम्ति चिटिक्क नेपाली पहिरनमा अनि दाइहरू स्काउटको ड्रेसमा ती फोटोहरू ले राजसंस्था प्रतिको मोहमा केही हदसम्म प्रभाव थियो । बाबाले त्यो बेला दर्शनभेट पाउनुभएको थियो । तोकिएको ५ मिनेटभन्दा धेरै समय लिँदा पनि बाबाको कुरालाई ध्यानपूर्वक सुनिएको कुराले चर्चा पाएको थियो । बालमन्दिरको हलमा रानी ऐश्वर्यको हातबाट मैले पनि एक पोका चकलेट पाएको थिए । पक्कै पनि यी सबै व्यक्तिगत कुराहरू हुन् । तथापि राजारानीप्रति सकारात्मक प्रभाव पर्नुमा यी सबै कुराहरू महत्वपूर्ण थिए । त्यसो त भद्रशैलीका राजा अनि उनको परिवार सबै नेपालीको मन मुटुमा बस्न सफल भएका थिए । प्रायजसो घरहरूमा स्वस्फुर्त राजारानीका फोटोहरू टाँगिएको हुन्थे । सारा नेपाली उनकै भक्तिका गीत गायका थिए ।

बिहान बिहानै रेडियो टिभीमा विरक्तका धुन बज्यो । टोलटोलमा मान्छेहरू जम्मा हुँदै रेडियोको बेन्ड घुमाउँदै थिए । माघ २० गते बिहान एक किसिमले सन्नाटा छाएको थियो । केही अनिष्ट भएको छ, देशमा सोझै अनुमान लगाउन सकिन्थ्यो । राति दरबार हत्याकाण्ड भयो रे मान्छेहरू कानेखुसी शैलीमा एकअर्कालाई दुखद् समाचार सुनाउँदै थिए । हो हिजो राति त्यस्तै भएको रहेछ । तर आधिकारिक खबर पाउन निकै समय लाग्यो । एक दुई गर्दै मृत्युका खबर आउँदै गए । अन्ततः राजा वीरेन्द्रको वंशको नै नाश हुने गरी दरबार हत्याकाण्ड भएको रहेछ । हप्ता दिनसम्म हामी समाचारमै झुण्डी रह्यौँ । देशमा नयाँ राजा ज्ञानेन्द्र गद्दी सम्हाल्न आए । राजाले पहिलो पल्ट देशवासीका नाममा सम्बोधन गरे । म राजधर्म निभाउनका निम्ति राजा भएको हो । जुन शब्दले मनमा तरङ्ग छायो ।

 कक्षा ८ पढ्दा स्कुलबाट हामी शैक्षिक भ्रमण गएका थियौँ । सोही अवसरमा गोरखकाली टायर कम्पनी हेर्न भनेर मर्स्याङ्दी नदिको पुल तरेका थियौँ । गोरखा ऐतिहासिक जिल्ला । गोर्खा विश्वमा परिचित ठाउँ । मनमा एककिसिमको उत्साह थियो । बिडम्बना गोरखकाली टायर कम्पनी बन्द भएकाले हामी फर्किनु पर्यो । त्यसपछि लामो समय सम्म पनि त्यो मस्र्याङ्दीको पुल तर्ने अवसर जुरेन । 

 आज भन्दा ४ वर्ष पहिले फेरि गोरखा जाने अवसर जुर्यो । नेपाल बसाइको अन्तिम दिनहरू गन्दै थिए । गोरखा लमजुङ घुम्ने सोच बनाएर भाइ र म कार लिएर डुम्रेतिर सवारी भयाँै । डुम्रे दाजुको ससुराली । त्यो रात डुम्रे बितायौँ । भोलिपल्ट बिहानै हामी ऐतिहासिक गोरखा दरबार घुम्न भनेर हिँड्यौँ । मस्र्याङ्दी पुल तरेर अगाडि रमाइलो जङ्गलबीचको बाटो हुँदै हामी अगाडि बढ्यौँ । हाम्रा लागि यो नागबेली बाटो सामान्य थियो । हाम्रो स्याङ्जाको बाटोसँग मेलखाने । गोरखा बजार केही परबाट देखियो । पाल्पा बजारसँग मिल्दोजुल्दो । डाँडामा लस्करै घरहरू । बाइसे चौबीसे राज्यमध्येको शक्तिशाली राज्य पाल्पाको सेन राज्य र गोरखाको शाह राज्यको उस्तै भौगोलिकता देखेर अचम्मित भए । 

 हामी केहीबेरमै गोरखा बजारमा पुग्यौँ । । तल्लो दरबार बजारको मध्य भागमा अवस्थित रहेछ । दरबारभित्र छिर्ने बित्तिकै त्यहाँको सफा अनि शान्त वातावरणले मनमा एक किसिमको आनन्द दियो । तेली इट्टा आखिझ्यालहरू अनि विभिन्न आकृति कुदिएका झ्याल ढोका अनि टुँडाल । यो भव्य दरबार निकै सानसँग ठडिएको देख्दा गर्व महसुस भयो । मुख्य द्वारमा पुराना तोपहरू जसले दरबारको सान बढाएको देखिन्थ्यो । हामी सङ्ग्रहालयभित्र पस्यौँ । पुराना पुरातात्विक महत्वका समानहरू राम्रो संरक्षण गरिएको रहेछ । उहिले ‘न्याय नपाए गोरखा जानु’ भन्ने गर्थे । दरबारबाट बाहिरिँदै गर्दा त्यही रामशाहले न्याय दिने चौतारो देख्याँै । पढेका सुनेका इतिहास आफ्नो अगाडि थिए ।

 हामी काम नभएका अनि फुर्सद पनि नभएका मान्छे । यस्तो एतिहासिक ठाउँमा आउँदा केही घण्टा मात्र फुर्सद लिएर आउने योभन्दा ठूलो विडम्बना केही थिएन । दरबारको भित्री भाग राम्रोसँग अवलोकनका निम्ति फेरि अर्को पटक आउने वाचा गर्दै माथिल्लो दरबारतिर लाग्यौ ।

 कच्ची बाटो सानो कार मुस्किलले दरबार तल बनाइएको पार्किङसम्म पुग्यौँ । म सताँैकोटे (बाइसे चौबीसे राज्यअन्तर्गतको एउटा राज्य) बाट गोरखा राज्यमा पाहुना हुन आएको छु जस्तो आभास भयो । त्यहाँका बाटोघाटो पात पतिङ्गर अनि मौसम सबैले हाम्रो स्वागत गर्दै छन् जस्तो आभास भयो । हामी कुदेको ढुङ्गाको पर्खाल र सिँढी उक्लिँदै गर्दा वास्तवमै ठूलो किल्लाभित्र जाँदै छौँ भन्ने भान भयो । त्यो बाटो दरबारको पछाडिको भागमा पुगिने रहेछ । दुई डाँडाको खोँच जस्तो भागमा चौतारीहरू अनि लाम्चा लाम्चा आकारका ढुङ्गामा शिलालेखहरू कुदिएका । ती शिलालेखहरू पनि फेरि अर्को पटक फुर्सदमा आउँदा पढ्ने सोच बनाउँदै दरबारतिर अगाडि बढ्यौ ।

दरबारको पछाडि पट्टिको द्वारबाट भित्र प्रवेश गर्यांै । त्यो बेलादेखि नै हामी नेपाली होचा कदका रहेछौँ भन्ने लाग्यो । तर वास्तवमा त्यो दरबारको सुरक्षाका निम्ति रहेछ पछि थाहा भयो । जब दरबारको अघिल्लो भागमा पुगेर दरबारतर्फ फर्किएँ, ती नेपाल एकीकरणका अभियन्ता राजा पृथ्वीनारायण शाहप्रतिको सम्मानमा केहीबेर मौन उभिइरहे । निकै शान्त वातावारण चिसो हावा चल्दै थियो । म सतौँकोटे पाहुना हो भन्ने एकजना त्यहाँका रक्षकले कताबाट सुइँको पाएछन् । नजिकै आएर सोधे तपाईंहरू स्याङ्जाबाट आउनुभएको । मैले गर्वसँग हो भने । अब उनले दुरुस्त हामीले किताबमा पढेका इतिहास पस्किन लागे । हामीलाई हेरेक एउटा एउटा ठाउँको महत्व अनि त्यहाँका घटनाहरूलाई सुनाउन केही कन्जुस्याइँ गरेनन् । दरबार घुम्ने क्रममा जब दरबारको भित्रपट्टि रहेको राजा सुत्ने सामान्य खाट अनि सामान्य भित्री संरचना देखेँ । राजाप्रति अझै सम्मान बढेर आयो । जसरी केही वर्ष पहिले नारायणहिटी राजदरबार सङ्ग्रहालय घुम्दा लागेको थियो । राजाहरूले देशलाई गरिब बनाएर आफूहरू राजसी जीवन बिताएका थिए भन्नेहरू प्रति दया जाग्यो ।

 दरबार वरिपरिको मनमोहक दृश्यहरू रमणीय थियो । म तत्कालीन विशाल नेपालको परिकल्पना गरिएको राज्यको महत्वपूर्ण ठाउँमा थिए । लगभग तीन शताब्दी बित्न लाग्दा पनि दरबार वरिपरिका गाउँ समाज अनि मानिसहरूमा कुनै त्यस्तो त्यस्तो ठूलो परिवर्तन थिएन । तीन शताब्दी पहिले यो गाउँ समाज र मानिसहरू कस्ता थिए होलान् । राजाको दैनिकी कस्तो थियो होला । उनी यो डाँडामा जन्म लिएर विशाल नेपालको परिकल्पना कसरी गरे होलान् । म पुरानो यो राज्यको अवस्थालाई मनभित्र चित्र कोर्न थाले । मनभित्र अनेकौँ प्रश्नहरू उब्जिए । मैले कुनै जवाफ भेटिन । 

 हामी २१औँ सताब्दीमा छौँ । हामी डिजिटल युगमा छौँ । अहिलेको संसार एउटा सानो गाउँ जस्तो भएको छ । इन्टरनेटको सुविधा हिमाल पहाडका खोच कन्दरा अनि तराईका समथर फाँटहरूमा उपलब्ध छ । हामी मोबाइलको सानो स्क्रिनबाट संसारलाई नियाल्न सक्छौँ । गुगलको मध्यमबाट नयाँ नयाँ कुराको खोजि गर्न सक्छौ । हामी अनि हाम्रो समाजले निकै कोल्टे फेरिसकेछ । हामी विश्वका इतिहास बुझ्ने भएका छौँ । हामी विश्वमा भएका विकास र परिवर्तनलाई अध्ययन गर्न सक्ने भएका छौँ । हामीसँग प्रसस्त स्रोत साधन पहिचान भएका छन । जसको माध्यमले हामी धेरै कुराहरू परिवर्तन गर्न सक्छौँ । अहिलेको समयमा एउटा दृढ सोच बनाएर हिँडेमा असम्भव केही छैन । तर २१औँ सताब्दीमा पृथ्वीनारायण शाह न भेटेका छाँै न बन्न सकेका छौँ । 

मलाई त्यस ठाउँम अरू धेरै समय बिताउनु थियो । मनभित्रका धेरै जिज्ञासाहरू मेट्नु थियो । तर यो पालि सम्भव भएन । अब ढिलो भइसकेको थियो । हामी त्यहाँबाट पार्किङसम्म हिँडेर आयौ । हामी पक्की बाटोमा आइपुग्दा झिसमिस अँध्यारो हुन् लागेको थियो । बजारमा बत्तिहरू बल्दै थिए । हामी डुम्रे पुग्नु थियो । पक्की सडकमा आफूले चाहेको रफ्तारमा कारको चहकिलो लाइट बाल्दै हामी सजिलै गन्तव्य पुग्न सक्थ्यौँ । तर पनि डुम्रेसम्म पुग्नु पनि चुनौती जस्तो भयो । फेरि पृथ्वीनारायण शाहलाई सम्झिए । उनीसँग सवारीका नाममा गोडा अथवा घोडा नै थिए होलान् । उनले सीमित स्रोत साधनले दिनरात लगाएर नेपाल एकीकरण गरे । आफैलाई लज्जा बोध भयो । त्यसपछि गोरखादेखि डुम्रेसम्मको बाटो निकै सहज भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप