शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डा केसीको मागले अदालतप्रतिको जनआस्था घटाउने काम भयो– बार

शुक्रबार, २८ पुस २०७४, १९ : ०५
शुक्रबार, २८ पुस २०७४

काठमाडौँ – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई व्यक्तिगतरुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने र आफ्नो अनुकूल फैसला नआए राजीनामा माग गर्ने अनशनरत प्रा डा गोविन्द केसीको कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

बारको बैठकपछि आज महासचिव खम्मबहादुर खातीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सक्षम, स्वतन्त्र, उत्तरदायी न्यायपालिका र न्यायाधीशप्रति वरिष्ठ चिकित्सक डा केसीले जनआस्था घटाउने काम गरेको उल्लेख छ । 

आफू अनुकूल फैसला आदेश नभएमा प्रधानन्यायाधीशको राजीनामा माग गर्ने, माग पूरा नहुञ्जेलसम्म आमरण अनशन जारी राख्नेजस्ता विषयवस्तुले प्रश्रय पाउने हो भने र त्यस विषयलाई अन्य पक्षले समर्थन गर्दै अगाडि बढ्ने हो भने जटिलता देखिने मात्र नभई गलत प्रक्रिया र पद्धतिको विकास हुनेतर्फ बारले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ । 

त्यसैगरी, न्यायाधीशविरुद्ध उजुरी गर्नुपरेमा न्याय परिषद्मा उजुरी गर्नुपर्ने, त्यसरी उजुरी परेमा परिषद्ले नै त्यस्तो मुद्दाको अध्ययन गर्नसक्ने र सोको प्रयोजनका लागि सम्बन्धित अदालतले माग गरेको कागजात वा फाइल उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था रहेकोसमेत बारले ध्यानाकर्षण गराएको छ । 

सर्वोच्च अदालतले अवहेलना मुद्दामा साधारण तारेखमा रिहा गर्ने निर्णय स्वागतयोग्य भएको उल्लेख गर्दै बारले डा केसीले जस्तोसुकै माग राखेर अनशन बस्नु उचित नभएको हुँदा तत्काल अनशन फिर्ता लिन आग्रह गरेको छ । 

सबै प्रकारको दबाब र प्रभाव स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय हुने हुँदा न्यायपालिकाको गरिमा कायम राख्न सबैले आफ्नो ठाउँबाट ध्यान दिनुपर्ने उल्लेख गरेको छ । साथै, यस्ता कामको समर्थन गर्दै अगाडि बढ्ने हो भने गलत परिपाटीको विकास हुनेहुँदा बारले डा केसीलाई यस्ता खालका माग राखेर आमरण अनशन नबस्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप