बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगले हलो अड्काउने काम गर्यो: माओवादी नेता शर्मा

शुक्रबार, २८ पुस २०७४, १८ : ०५
शुक्रबार, २८ पुस २०७४

काठमाडौं–नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नयाँ सरकार गठन गर्ने काममा निर्वाचन आयोगले हलो अड्काउने काम गरिरहेको आरोप लगाएका छन् । शुक्रबार राजधानीमा रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता शर्माले सो आरोप लगाएका हुन् । 

साक्षात्कार कार्यक्रममा बोल्दै नेता शर्माले भने,‘निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर अड्को थाप्ने काम गरिरहेको छ, यो समयमै मतपरिणाम घोषणा गर्नुपर्दथ्यो तर अहिलेसम्म गरेन, यो दुःखको कुरा हो ।’ उनले एउटा निर्वाचनको अर्को निर्वाचनसँग कुनै सम्बन्ध नभएको पनि जिकिर गरे ।

शर्माले समानुपातिकतर्फको मतपरिणाम आयोगले रोक्नुको कुनै कारण नभएको पनि स्पष्ट पारे । उनले भने,‘आयोगले अहिले जे गरिरहेको छ, त्यो बेठीक गरेको छ, सरकार बनाउने काममा आयोगले हलो अड्काउने काम गर्यो ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नयाँ सरकार गठनको लागि सहजीकरण नगरेको गुनासो पोखे । उनले भने, ‘एक दुई महिना बढि नै सरकारमा बसौंला भन्ने होला तर यसले स्वयम् कांग्रेसलाई नै बद्नाम गर्ने काम गरेको छ, मन्त्रीहरुलाई व्यक्तिगत रुपमा शुभ लाभ होला तर लोकतन्त्रको लागि राम्रो भएको छैन् ।’

एकल संक्रमणीय व्यवस्था अनुसारनै राष्ट्रियसभाको निर्वाचन हुने भन्ने सहमति भएपछि पनि देउवाले छिटो–छरितो काम नगरेको पनि शर्माको आरोप थियो । उनले भने,‘तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्दथ्यो तर यो काममा सरकारबाट ढिलाई भैरहेको छ, ढिलाई गर्नु भनेको सत्तालिप्सा मात्रै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप