लिफ्ट प्रविधिबाट अब म्याग्दी नदीको पानी खबरामा
– कमल खत्री
म्याग्दी– बेनी नगरपालिका २ खबरामा निर्मित ‘लिफ्ट प्रविधि’को सिँचाइ आयोजना सञ्चालनमा आएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकम समेत जुटाएर लिफ्ट सिँचाइ आयोजना निर्माण गरेको हो । तरकारी खेतीको पकेट क्षेत्र खबरामा “लिफ्ट” प्रविधिको आयोजनामार्फत हाँडेभिरस्थित म्याग्दी नदीको किनारबाट पानी तानेर सिँचाइ सुविधा पुर्याइएको हो ।
सो आयोजनाको गएको आइतबार प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरेका हुन् । करिब एक वर्षको अवधिमा निर्माण भएको सो आयोजनाबाट तरकारी खेतीमा आबद्ध स्थानीय कृषकलाई राहत मिलेको छ ।
कूल रु १८ लाख खर्च भएको यस आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्ला कृषि विकास कार्यालयले दश लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । त्यस्तै, रु ४ लाख बराबरको श्रमदान समुदायबाट गरिएको र रु ४ लाख रुपैयाँ ऋण खोजेर आयोजना सम्पन्न गरिएकोे उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताए ।
अहिले लभ्ली हिलको नजिकै पुर्याइएको पानीलाई संकलन केन्द्रमार्फत दोस्रो चरणको लिफ्ट प्रविधिको सहायताले खबराका अधिकाँश सर्वसाधारणको पहुँचमा पुर्याउने योजना रहेको अध्यक्ष कार्कीले जानकारी दिए ।
लभ्ली हिलको पुछारमा रहेको हाँडेभिरस्थित म्याग्दी नदी किनारमा दश मिटर गहिरो इनार बनाइएको छ । सो इनारबाट विद्युतीय उपकरणको सहायताबाट पानी तानेर २५० मिटर माथि लभ्ली हिलको डाँडामा पानी पुर्याइएपछि स्थानीयबासी हर्षित बनेका छन् ।
इनारदेखि पाँच सय मिटर ६० एमएमको पाइपबाट लभ्ली हिलमा पुर्याइएको पानी रिजर्भ टंकीमा संकलन गरेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । पानी तान्न २० हर्स पावर क्षमताको पम्प जडान गरिएको र प्रतिघण्टा १० हजार लिटर पानी तान्न सक्ने क्षमता रहेको सो आयोजनाका प्रविधिज्ञ कृष्ण खत्रीले बताए ।
यस आयोजनामा पानी खोल्न र बन्द गर्न मोबाइल एप्सको प्रयोग गरिएको छ । पानी खोल्न र बन्द गर्न खोलामा पुग्नुपर्ने झण्झटबाट मुक्त हुन मोबाइल एप्समार्फत (अन/अफ) खोल्ने र बन्द गर्ने प्रविधि जडान गरिएको हो ।
हालै मात्रै नेपालमा भित्रिएको लिफ्ट सिँचाइको प्रयोजनका लागि लिफ्टिङ आयोजनामा मोबाइलमार्फत पानी खोल्ने र बन्द गर्ने प्रविधि धौलागिरिमै पहिलो रहेको प्रविधिज्ञ खत्रीको दाबी छ ।
मोबाइल एप्समा सेटिङ मिलाएपछि अन बटन थिचेको करिब १० सेकेन्डमा पानी आउने र अफ बटन थिचेको करिब ६ सेकेण्डमा पानी बन्द हुने भएकाले उपभोक्ताहरुलाई यो प्रविधि बढी लाभदायी हुने विश्वास गरिएको छ ।
अहिले लभ्ली हिल नजिकै पुर्याइएको पानीलाई दारिमपाटासम्म पुर्याएर थप विस्तार गर्ने उपभोक्ता समितिले जनाएको छ । ब्यावसायिक तरकारी खेतीका हिसाबले प्रशस्त सम्भावना बोकेको खबरामा सिँचाइको समस्या समाधानका लागि कृषकहरुले म्याग्दी नदीको पानीलाई आधुनिक लिफ्ट प्रविधिमार्फत गाउँमा पुर्याउन सफल भएका हुन् ।
फेदीको पानी डाँडामा पुग्दा कृषकहरु समेत दंग छन् । बेनी बजार नजिकै रहेको यस गाउँमा लिफ्ट प्रविधि मार्फत सिँचाइ पुगेपछि यहाँका कृषकहरुले तरकारी खेतीतर्फ थप उत्साहित भएर लाग्ने प्रतिकृया दिएका छन् ।
जिल्लाका अन्य धेरै क्षेत्रमा सिँचाइको मार खेपेका कृषकहरुको लागि पनि गाउँदेखि तल भएर बग्ने खोलाहरुबाट पानी तानेर सिँचाइ गर्ने लिफ्टिङ प्रविधि उपयोगी बन्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी
-
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन
-
तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा
-
सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने
-
कास्कीमा दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ
-
यातायात कार्यालयका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न दीपक मनाङेको निर्देशन