शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समायोजनमा नजाने कर्मचारीका लागि सरकारले थाल्यो यस्तो तयारी

शुक्रबार, २८ पुस २०७४, १३ : ५६
शुक्रबार, २८ पुस २०७४

काठमाडौँ– सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी गरेको छ ।  मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी थालिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । 

कर्मचारी समायोजन ऐन, २०७४ कार्यान्वयन भएको तीन महिनाभित्रमा समायोजनमा नजाने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रावधानअनुसार मन्त्रालयले अवकाशको तयारी थालेको हो । 

अवकाशका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुअघि स्वीकृतका लागि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको प्रवक्ता न्यौपानेले जानकारी दिए । 

निजामती कर्मचारीलाई तीन तहमा समायोजन गरेर पठाउने तयारी गरिएको छ भने समायोजनमा नजाने कर्मचारीलाई पेन्सनबापत एकमुष्ट सात वर्षको रकम दिने प्रस्ताव गरिएको छ । मन्त्रालयले समायोजन नियमावली पारित भइसकेपछि कर्मचारी समायोजन गर्ने तयारी गरेको हो । 

अहिले सो नियमावली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । मन्त्रालयले कार्यरत पदमा ज्येष्ठताका आधारमा, संघ, प्रदेश र स्थानीय तहको रोजाइ र स्थायी बसोबासको ठेगाना र नागरिकताका आधारमा समायोजन गर्ने आधार तयार पारेको छ । अहिले करिब ८३ हजार निजामती कर्मचारी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप