बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जान्नुहोस् चिसोमा लाग्ने ६ रोग र बच्ने उपाय

शुक्रबार, २८ पुस २०७४, ११ : २१
शुक्रबार, २८ पुस २०७४

चिसो दिनप्रतिदिन बढ्दो छ । तराई क्षेत्रमा चिसोले दुई दर्जनभन्दा बढीको ज्यान लिइसकेको छ । यसैले पनि पुष्टि गर्छ कि अत्यधिक चिसो स्वास्थ्यका लागि जोखिमयुक्त छ । चिसो मौसममा स्वास्थ्यको उचित ख्याल राखेनौँ भने विभिन्न रोग लाग्न सक्छ । यी हुन् चिसोमा लाग्ने रोग र त्यसबाट बच्ने उपाय :

डा. तृष्णा कर्ण
दन्त चिकित्सक

जोर्नीको दुखाइ 
जाडो मौसममा धेरै मानिस जोर्नीको दुखाइबाट ग्रसित हुन्छन् । कतिपयलाई त दुखाइको कारण बेड रेस्ट नै गर्नुपर्ने अवस्था पनि सिर्जना हुन्छ ।

बच्न : यसबाट बच्ने उपाय भनेको जोर्नीहरूलाई चिसोबाट बचाउनु र नियमित व्यायाम गर्नु हो ।

चिसो (मौसमी फ्लु)
बाहिरी वातावरणअनुरूप परिवर्तन हुने प्रकृति मानव शरीरको हुँदैन । यसैको कारण हो, मानिसलाई अत्यधिक तातो वा चिसोको महसुस हुने । चिसो मौसममा शरीरको रोगप्रतिरोधी क्षमता घट्न जान्छ र विभिन्न जीवाणुको संक्रमणले बिरामी पार्छ ।

बच्न : चिसोमा शरीरलाई न्यानो बनाउन आवश्यक हुन्छ । तापजन्य खाद्यपदार्थ खाने, हिँडडुल कम गर्ने, खाना खानुअघि र पछि राम्रोसँग साबुनपानीले हात धुने, नाक मुख छोपेर राख्ने, मास्क लगाएर हिँड्नेलगायतका गतिविधि गर्नुपर्छ ।

घाँटीमा सुक्खापन
चिसो मौसममा भाइरल संक्रमण हुन्छ । जसले घाँटी खसखस हुने, सुक्खा पार्ने गर्छ ।

बच्न : यस्तो समस्या भएमा तातो पानीमा नुन राखेर मुख कुल्ला गर्नुपर्छ । त्यसका साथै आराम गर्ने, चिसो खानेकुराको प्रयोग नगर्ने गर्नुपर्छ ।

छालामा फुस्रोपना
चिसो मौसममा मानिसमा देखिने अर्को समस्या भनेको छालामा फुस्रोपना हो । यस्तो वेला सुक्खा हावा लाग्छ र शरीरको पानी उडेर जान्छ । चिसोको वेला शरीरमा पानीको मात्रा पनि कम हुन जान्छ । जसले गर्दा छाला र ओठ फुस्रो हुने र फुट्ने समस्या हुन्छ ।

बच्न : चिसो मौसममा अत्यधिक पानी पिउने गर्नुपर्छ । त्यस्तै मोस्चराइजिङ क्रिम, नरिवल, आलमन्डको तेल छालामा लगाउनुपर्छ ।

हृदयाघात
जाडो मौसममा हृदयाघातको सम्भावना बढी हुन्छ । चिसो मौसमका कारण मुटुलाई रगत पु¥याउने नलीहरू खुम्चिन जान्छन् । जसले गर्दा मुटुको मांसपेशीमा रगतको मात्रा कम हुन्छ । कहिलेकाहीँ मुटुको मांसपेशी नष्ट हुन जान्छ र रगत पम्पमा बाधा उत्पन्न हुन्छ । जसले हृदयाघातको समस्या बढाउँछ ।

बच्न : मुटुरोगीहरूले धेरै चिसोमा काम गर्नु हुँदैन । नियमित व्यायामलाई पनि दिउँसोको समयमा सार्नुपर्छ । सकेसम्म शरीरलाई न्यानो बनाएर राख्नुपर्छ । देब्रे भागको छाती दुखेमा भने तुरुन्त चिकित्सककहाँ जानुपर्छ ।

दम
चिसो र सुक्खा हावाले श्वासनलीलाई पनि साँघुरो पार्ने काम गर्छ र मानिसको श्वासप्रश्वास प्रणालीमा बाधा उत्पन्न हुन्छ । जसले गर्दा दमको समस्या बढ्न जान्छ ।

बच्न : यसबाट बच्नका लागि घरलाई धुवाँ, धुलोमुक्त गराउने प्रयास गर्नुपर्छ । त्यस्तै, समय–समयमा ओछ्यान घाममा सुकाउने र सफा गर्ने गर्नुपर्छ । बाहिर हिँडडुल गर्दा पनि धुलोबाट जोगिन आवश्यक हुन्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप