शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी हुन्छ रचनात्मक बर्थ–डे सेलेब्रेसन

शुक्रबार, २८ पुस २०७४, ११ : ०८
शुक्रबार, २८ पुस २०७४

के तपाईं जन्मदिन मनाउँदै हुनुहुन्छ ? उसो हो भने जन्मदिनमा केक काट्नु वा पार्टी नै गर्नुपर्छ भन्ने छैन । आफू जन्मेको दिन मानिसका लागि निकै महत्वपूर्ण हुन्छ । त्यसैले उक्त दिनलाई रचनात्मक तरिकाले नै महत्वपूर्ण बनाउन सक्नुहुन्छ । जन्मदिनलाई जीवनभर स्मरणीय बनाउनका लागि रचनात्मक काम गरेर पनि सेलेब्रेसन गर्न सकिन्छ :

सहयोग
यसपटकको जन्मदिनलाई तपार्इं नयाँ काम गरेर मनाउन सक्नुहुन्छ । त्यसका लागि कसैलाई सहयोग गर्न सक्नुहुन्छ । कल्याणकारी काम गरेर कसैको जीवनमा खुसी भर्न पनि सक्नुहुन्छ । त्यसका लागि यस्तो काममा आफ्नो रुचि छ वा छैन भन्ने कुराको चाहिँ यकिन गर्न आवश्यक छ । जन्मदिनमा असहाय महिला, बच्चा या बूढाबूढीलाई सहयोग गर्न सक्नुहुन्छ । यसको विकल्पमा कल्याणकारी काम गर्ने संस्थालाई सहयोग पनि गर्न सक्नुहुन्छ । जसले तपाईंलाई आत्मसन्तुष्टि प्रदान गर्छ ।

अपरिचितसँगको कुराकानी
परिचित मानिससँग भेटिरहेका हुन्छाँै, कुरा गरिरहेका हुन्छौँ । जन्मदिनमा अपरिचितसँग कुरा गर्नुहोस् र उसलाई आफ्नो बनाउनुहोस् । अपरिचित मानिसलाई आफ्नो बनाउँदा जति खुसी हुनुहुन्छ नि त्यो खुसी पार्टी गरेर पाउन सक्नुहुन्न ।

रोमाञ्चक यात्रा
जन्मदिनमा ‘एड्भेन्चर टुर’ गरेर पनि उक्त दिनलाई यादगार गराउन सक्नुहुन्छ । त्यसैले जन्मदिनका दिन ब्याग बोक्नुहोस् र यात्रामा निस्कनुहोस् । जसले तपाईंलाई नयाँ अनुभूति दिलाउँछ । त्यतिवेला मात्र तपाईं अत्यन्त रोमाञ्चित अनुभूति गर्नुहुन्छ जब योजनाविना नै यात्रामा निस्कनुहुन्छ । योजना बनाएर त जोसुकै मानिस यात्रामा निस्कन्छन् । विनायोजना यात्रामा निस्कँदा तपार्इंमा हलचल पनि पैदा हुन्छ । कुनै ठाउँ जानुहोस् र त्यहाँका मानिसलाई भेट्नुहोस् अनि अनुभव आदान–प्रदान गर्नुहोस् ।

पुराना काम
तपाईंले आफ्नो जन्मदिनमा थाती रहेका कामलाई पूरा गर्न सक्नुहुन्छ । कतिपय काम जीवनका लागि निकै महत्वपूर्ण हुन्छन् । तर, व्यस्तताका कारण काम गर्न ढिलाइ पनि भएको हुन सक्छ । जन्मदिनमा सानातिना अधुरा काम पूरा गर्दा पनि हुन्छ, जसले जीवनमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । पुराना कामलाई पूरा गर्दा आनन्दको अनुभूति हुन्छ ।

संकल्प
मानिसलाई नयाँ कामको संकल्प गर्न गाह्रो छ । संकल्प गर्न जति सजिलो छ, त्यसलाई पूरा गर्न त्यत्तिकै चुनौती पनि रहेको हुन्छ । त्यसैले आफ्नो जन्मदिनलाई कुनै काम गर्ने दृढ संकल्प गरेर मनाउन सक्नुहुन्छ । तपार्इं पार्टी गर्नुहोस् या साथीहरूसँग भेटघाट गर्नुहोस् । जसबाट तात्विक उपलब्धि नहुन सक्छ । तर, कुनै कुराको संकल्प गरेर त्यसलाई कार्यान्वयन गर्न सक्नुभयो भने त्यसले जीवनमा ठूलो अर्थ राख्छ ।

गिफ्ट दिनुहोस्
जन्मदिनमा तपाईंलाई धेरैले गिफ्ट दिएका हुन सक्छन् । तर, यसपालिको जन्मदिनमा आफैँले गिफ्ट दिएर मनाउन सक्नुहुन्छ । तर, खरिद गरेर होइन, आफँै तयार पारेर । आफ्नोनजिकको मान्छेलाई रचनात्मक गिफ्ट प्रदान गर्न पनि सक्नुहुन्छ । यसले सम्बन्धको दायरा थप फराकिलो बनाउन मद्दत गर्छ ।

कृति विमोचन
तपाईंमा कुनै क्षमता छ भने त्यसलाई जन्मदिनमा प्रस्फुटन गर्न सक्नुहुन्छ । तपाईंमा धेरै सोख हुन सक्छन् । तर, विविध कारणले पूरा गर्न नसकिएको हुन सक्छ । जन्मदिनमा यसलाई पूरा गर्न सक्नुहुन्छ । आफूसँग भएका प्रतिभालाई सार्वजनिक गर्न सक्नुहुन्छ । यसो गर्दा जन्मदिनलाई यादगार बनाउन मद्दत गर्नुका साथै सम्भावनाको नयाँ ढोका पनि खुल्न सक्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप