केन्द्रीय संस्करण

जहाँ कुकुर र मान्छेबीच कुनै फरक छैन

person access_timeपुस २८, २०७४ chat_bubble_outline0

भूमिका राय 

नयाँ दिल्ली । ‘जसरी कुकुरको बच्चा जन्मन्छ, त्यसरी नै जन्मियो । यही फ्लाइओभरमूनि, ब्लेडले हामीले साल–नाल काट्यौँ । अरु के.... ?’ 

यो घटना सुनाउने महिला २ महिनाअघि जन्मिएको बच्चाकी हजुरआमा हुन् । घरमा बच्चाको जन्म हुँदा हजुरआमा जत्तिको खुसी अरु को होला ? तर, यी महिला आफ्नै नातीबारे किन यस्ता शब्द ओकल्दैछिन् । 

नजिकै बसेकी एक महिला उठेर बोलिन् , ‘हामी र कुकुरमा थोरै मात्र अन्तर छ । जहाँ हामी सुत्छौँ, त्यहीँ कुकुर पनि सुत्छ । हाम्रो खाना खाने थालमा मुतेर हिँड्छ । सुतेका बेला मुखमै मुत्छ । हामीहरु त्यसलाई लात हानेर धपाउँछौं । हामीलाई ठूला मान्छेले त्यसरी नै धपाउँछन् ।’

यो सबै पढेपछि धेरैलाई पक्कै शंका लाग्नेछ, हामी कुन चाहीँ दिल्लीमा बसिरहेका छौँ ? 

भारतको राजधानी नयाँ दिल्लीमा एउटा त्यस्तो तप्का छ, जो यमुना नदीको किनारमा सुत्छ । त्यही यमुना नदी, जसको किनार हुँदै यात्रा गर्नेहरु दुर्गन्ध नआओस् भनेर रुमालले नाक छोप्छन् । 

घाम अस्ताउन थालेपछि बल्ल यहाँ नदी किनारमा चहलपहल शुरु हुन्छ । मानिसहरु आउन थाल्छन् र खाली रहेको स्थान विस्तारै भरिन थाल्छ । त्यसपछि खुला जमिनमा सुत्नका लागि हिसाब शुरु हुन्छ । मानिसहरुले बिहान जुन ढुंगाको मुनि आफ्नो ओछ्यान लुकाएर गएका हुन्छ । त्यही ढुंगा हटाउँछन् । ओछ्यान झिकेर बिछ्याँछन् र सुत्छन् । 

 

जो कहिल्यै जुत्ता खोल्दैनन् 

नचिनेको मान्छेको पाइलाको आवाज आयो भने सयौँ कुकुरहरु भुक्न थाल्छन् । मानौं, उनीहरुले भनिरहेका छन् – बिचराहरुलाई यहाँ त सुत्न देऊ । 

यस्ता सुकुम्बासीहरुका पक्षमा काम गर्ने स्थानीय व्यक्ति  शैलेन्द्र पटेल यी व्यक्तिहरुमध्ये धेरैले कहिल्यै जुत्ता नफुकाल्ने बताउँछन् । दिनमा काम गर्नका लागि र राती जाडोबाट बच्नका लागि उनीहरु जुत्ता लगाउन बाध्य छन् । ‘यमुना माईले नै यी व्यक्तिहरुलाई पालिरहेकी छिन् । यिनीहरु जुन पानीले दिसा धुन्छन् । त्यही पानीले नै कुल्ला गर्छन् । ओछ्यानलाई ढुंगाले किच्छन्  र काममा हिँड्छन् । यसरी नै लामो समयदेखि उनीहरुको गुजारा चलिरहेको छ ।’ 

 

सरकारी सेल्टर

नदी किनारबाट थोरै माथि आइपुगेपछि पीब्ल्यूडीको एक शान्दार बिल्डिङ भेटिन्छ । अलि तल पुगेपछि  गाई, कुकुर, गोबर,फोहर र पिसाब राखिएको ठाउँमा बोरामा सुत्ने मानिसहरु  । 

किनारबाट केही माथि आएर बाँया मोडिएपछि दृश्य बदलिन्छ । केही मानिसहरु सोफामा बसेर टिभी हेर्दै गरेको देखिन्छ । सोधेपछि थाहा हुन्छ, यो रात बिताउनका लागि तयार गरिएको सरकारी सेल्टर हो । 

दिल्लीको व्यस्त चाँदनी चोक र आईएसबीटी इलाकामा झन्डै ३० देखि ३३ को संख्यामा यस्ता सेल्टर छन् । स्थायी, अस्थायी र टेन्टगरी तीन किसिमका यस्ता सेल्टरमा पुरुषका लागि अलग, महिलाका लागि अलग र बृद्ध–बृद्धाका लागि अलग–अलग सुत्ने प्रबन्ध गरिएको हुन्छ । 

डीयुएआईबीका विपिन रायका अनुसार दिल्लीमा यस्ता २ सय ५८ वटा सेल्टर छन् । त्यसमध्ये पक्की घर ८३, अस्थायी ११५ र टेन्टको संख्या ७० छ । यमुना किनारमै रहेको यस सेल्टरमा केही सुविधा उपलब्ध छन् । जस्तो, खाट, कम्बल, पानी, शौचालय, उपचार र हरेक बिहान जलपानको व्यवस्था । यस्ता सेल्टरमा महिला र बच्चाको विशेष हेरचाह हुने गर्छन् । विपिनका अनुसार सेल्टरमा बस्ने चाहनेहरुको संख्या धेरै भएपनि सेल्टरले धान्न सक्ने अवस्था छैन । यसको स्थायी समाधान निकाल्न जरुरी छ । 

सेल्टरका केयरटेकर राजवीर जाधवका अनुसार सेल्टरमा बस्न चाहनेले आफ्नो बाबुको नाम, स्थायी ठेगाना र आफ्नो नाम लेखाए पुग्छ । सेल्टरमा बस्नका लागि पहिचान खुल्ने कागज जरुरी छैन । तर, आफ्ना सामानहरुको चेकजाँच गराउनुपर्ने हुन्छ । 

निजामुद्दीन पुलबाट थोरै पर रहेको अर्को सेल्टरको कथा फरक छ । 

यहाँ पनि ३ वटा सेल्टर छन् । ती सेल्टरमा कुल ५० देखि ६० जना बस्छन् । दुधे शिशुहरु बोकेका महिलाहरु पनि यहाँ बस्छन् । अधिकांश मुसलमानको बसोबास छ । 

यहाँ बस्ने यास्मिन भन्छिन्,’ अन्त कतै बस्न सकिएन । त्यसैले यहाँ बसेका छौँ । शौचालयदेखि हरेक कुराको समस्या छ । सेल्टरमा थुप्रै किसिमका मानिसहरु बस्छन् । डर पनि लाग्छ,’ उनले भनिन्, ‘तर अरु केही साहारा पनि त छैन । सडक किनारमा बसौँ भने बच्चाका कारण डर लाग्छ । त्यहाँ न बत्तीको व्यवस्था छ न कुनै औषधि उपचारको ।’ 

यहीँ एउटा सेल्टरमा सल्मा बस्छिन् । उनी तीन सन्तानकी आमा हुन् । तेस्रो शिशु जन्मिएको २ महिनामात्रै भयो । उनले सडकमै बच्चा जन्माएकी थिइन्, फ्लाइओभरको मूनी । उनीसँगै बसेकी महिलाहरुले बच्चाको सालनाल काटे । त्यसपछि उनी यस सेल्टरमा आइन् । 

‘यहाँ दुख छ । खानाको अभाव छ । औषधि पनि छैन, ’ सलमाले भनिन्,’ तर के गर्ने बच्चालाई लिएर अन्त जान पनि त सकिदैँन । कमसे कम यहाँ सुत्न त पाइन्छ ।’

सेल्टरमै बस्ने आठ महिनाकी एक गर्भवती महिलाले आफ्ना समस्या रुँदै सुनाइन् । ‘कसैलाई हाम्रो चिन्ता छैन । कहिले पेट दुख्छ । त कहिले बिरामी हुन्छौं । तर औषधि दिने कोही छैन ।’

बच्चा कस्तो जन्मन्छ र जन्मिएपछि उसलाई कसरी हुर्काउने भन्नेबारे यी महिलाले केही सोचेकी छैनन् । सेल्टरमा बस्नेहरुको दैनिकी यसरी नै चलिरहेको छ । 

एनजिओमा काम गर्ने सुनिल नामक एक व्यक्ति दिल्लीका कुनै पनि सेल्टर मापदण्ड बमोजिम नरहेको बताउँछन् । हरेक सेल्टरमा मानिसहरुको संख्या बढ्दो छ । सरकार राखेको मापदण्ड अनुसारको सेवा–सुविधा भने उपलब्ध हुँदैन ।

कबाडीको काम गर्ने जमद अली भन्छन्,’ मेरी छोरी १६ वर्षकी भइन् । ऊ सेल्टरमा बस्छे । एक छोरा पनि छ जो थोरै पागल छ । जब म बाहिर निस्कन्छु तब मलाई यो सम्झेर डर लाग्छ कि मैले आफ्नी छोरीलाई दर्जनौं व्यक्तिहरुको भीडमा असुरक्षित छाडेर काममा निस्किएको छु ।’

बीबीसीबाट
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ