शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाह्रविसे-कर्थली सडक कालोपत्र हुँदै, स्थानीय खुशी

शुक्रबार, २८ पुस २०७४, ०९ : १०
शुक्रबार, २८ पुस २०७४

कर्थली, सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको पूर्वी उत्तरी क्षेत्र कर्थलीमा दोलखा हुँदै छिमेकी मित्रराष्ट्र चीनसितको फलाटे नाका जोड्ने बाह्रविसेदेखि कर्थलीसम्मको नौ किलोमिटर बाटो कालोपत्र हुन लागेपछि स्थानीयबासीमा खुशियाली छाएको छ । 

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको बतासेदेखि दोलखा हुँदै चीनको सीमास्थित फलाटे नाकासम्म जोड्ने छोटो सडकमार्ग अन्तर्गतको कर्थलीमा नौ किलोमिटर बाटो कालोपत्र हुन लागेपछि ग्रामीण बस्तीमा खुशी छाएको हो । 

बाह्रविसे नगरपालिकाको बतासे, खागदलदेखि ठाँटीचौर, क्षमादेवी, कर्थली, दुरुमथली दोलङ्सा हुँदै दोलखाको विगुसम्म पुग्ने उक्त मोटरबाटो हाल बतासेदेखि दुरुमथलीसम्म कालोपत्र हुन लागेको छ । 

बाह्रविसे नगरपालिका–२ कर्थलीका ४१ वर्षीय मिङ्मा लामु शेर्पा चार घण्टा हिँडेर बाह्रविसे बजार पुग्ने गरेकामा अहिले एक घण्टामा नै बजारबाट घर पुग्दा साह्रै खुशी देखिन्थे । “धेरै मानिसले तपाईंको गाउँमा बाटो ल्याइदिन्छौँ भन्दै भोट माग्न आए, मलाई गाउँमा यसरी बाटो आउलाजस्तो लागेको थिएन, आज आयो, साह्रै खुशी छु,”, उनले  भने । 

उक्त सडक दोलखा जिल्लाको उत्तरी भेगमा पर्ने हालको विगु गाउँपालिका र साबिकका १३ गाविसलाई जोड्ने काठमाडौंदेखिको नजिकको मार्ग हो । बतासेदेखि लामाबगर हुँदै चीन नाकासम्मको दूरी झण्डै ५० किलोमिटरको हाराहारीमा रहेको छ । 

सो सडक गौरीशंकर हिमालको पदयात्राका लागि पनि महत्वपूर्ण मानिन्छ । उक्त सडकले छुने ठाउँमा चौँरीका साथै यार्सागुम्बा, पाँचऔँले, खोटेसल्लो र धुपीजस्ता महत्वपूर्ण वस्तु पाइन्छन् । 

निर्माणको जिम्मा पाएको जोइन्ट भेञ्चर (लुम्बिनी, बन्धक भगवती, ड्रागन) कम्पनीका इन्जिनियर रोहित पौडेल खत्री आफ्नो कम्पनीले पहाडी क्षेत्रमा बनाएको बाटोमध्ये सो बाटो नमूना बाटो भएको बताउँछन् । हाल कालोपत्र हुन लागेको बतासेदेखि दुरुमथलीसम्मको नौ किमी सडक ३३ करोडमा निर्माण हुन लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप