केन्द्रीय संस्करण

गाईपालनबाट मासिक एक लाख आम्दानी

person access_timeपुस २७, २०७४ chat_bubble_outline0

पाल्पा– तानसेन नगरपालिकाको बौघापोखराथोक चिनारीका एक युवाले विदेशबाट फर्केर व्यावसायिक रुपमा गाईपालन गर्न थालेका छन् ।  गाईपालनबाट यहाँका रनबहादुर रेश्मीले मासिक रु एक लाखसम्म आम्दानी गर्दै आएका छन् ।

रेश्मीले अहिले गोठमा ३२ ओटा गाई पालेका छन् । अन्य पेशा व्यवसायभन्दा सजिलो र दैनिक आम्दानी लिन सकिने भएपछि उनी गाईपालन व्यवसायमा सक्रिय रहेका  छन् । 

वैदेशिक रोजगारबाट फर्केर उनले तीनओटा गाईबाट व्यवसाय शुरु गरेका हुन् । विदेशबाट फर्केर गाईपालन गर्नेमा अर्गली बौघापोखराथोक, मदनपोखरा, रामपुरलगायत क्षेत्रका युवा बढी रहेका छन् । 

मलेसिया, साउदी अरब, कतार लगायतका देशबाट फर्केर यहाँका युवा गाईपालन तथा तरकारी खेतीमा लागेका छन् । सदरमुकाम तानसेनदेखि नजिकै रहेको उक्त बस्तीका बासिन्दा तरकारी, दूध तथा स्थानीय उत्पादनले बजार पाउने भएपछि व्यावसायिक रुपमा पशुपालन र कृषि उत्पादनमा केन्द्रित बनेका हुन् । 

स्थानीय बासिन्दा मानु रेश्मी १२ वटा गाईबाट दैनिक १२० लिटर दूध बिक्री गर्न सफल भएका छन् । घरपरिवारसँग बसेर नै गाईपालनबाट आम्दानी गर्न सकिने भएपछि विदेश जान नपर्ने उनले बताए । सहकारीमार्फत दैनिक ५०० लिटरभन्दा बढी दूध सदरमुकाममा बिक्री गरिँदै आएको छ । 

गाईपालन व्यवसायबाट स्थानीय युवा मासिक रु ५० हजारदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्न सफल भएका छन् । पर्याप्त आम्दानी लिन थालेपछि गाईपालन व्यवसायमा युवाको आकर्षण बढेको हो । विदेशबाट फर्केका युवाले सामूहिक रुपमा गाईपालन र तरकारी खेती गर्न थालेका छन् ।

वि.सं २०६७ मा वैदेशिक रोजगारीबाट फर्केका यहाँका १० जना युवा गाईपालनमा जुटेका छन् । वि.सं २०७० मा चिनारी दुग्ध उत्पादन सहकारी संस्था स्थापना गरी विदेशबाट फर्केका युवाले गाईपालन, दूध संकलन, बजार व्यवस्थापन, ऋणको व्यवस्थालगायत काम गर्दै आएका सहकारीका अध्यक्षय टीकाराम रेश्मीले बताए । सहकारीमा ६५ घरपरिवार आवद्ध रहेकामा २७ परिवारले व्यावसायिक गाईपालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ