मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तामाकोशी जलविद्युत् आयोजना : कहिलेदेखि सुरु हुन्छ विद्युत् उत्पादन ?

बिहीबार, २७ पुस २०७४, १५ : ३८
बिहीबार, २७ पुस २०७४

काठमाडौँ–राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पहिलो युनिट जडान कार्य सुरु भएको छ ।

आगामी मंसिर मसान्तसम्म विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाले विद्युत् उत्पादनको पहिलो युनिट जडान कार्य सुरु गरेको हो ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेकाअनुसार इलेक्ट्रोमेकानिकल कार्यको ठेक्का लिएको एन्ड्रिज हाइड्रोले पहिलो युनिट जडान गर्न सुरु गरिएको हो ।  विद्युत् उत्पादन युनिट २को जडान थालिएको हो । उक्त युनिट १२२.५ टन बराबरको रहेको छ ।

माथिल्लो तामाकोशी आयोजनामा कुल ६ वटा विद्युत् उत्पादन युनिट रहनेछ । ६ वटा युनिटले क्रमशः ७६ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।

नेपाली लगानीमा निर्माण भइरहेको आयोजना भूकम्प र नाकाबन्दीका कारण लामो समय रोकिएको थियो । रु ३५ अर्ब लागत अनुमान गरिएको आयोजनाको लागत थप १५ अर्ब बढाउने तयारी गरिएको छ ।

आयोजनाको हालसम्म ९४ प्रतिशत निर्माण सम्पन्न भएको छ । कुल ८.५ किलोमिटर लामो सुरुङ समेत निर्माण सम्पन्न भइसकेको छ । तर ठाडो सुरुङ निर्माणको जिम्मा लिएको भारतीय ठेकेदारले सामान आयात गर्न नसक्दा समस्या पैदा भएको छ । कुल ३७३  मिटर र ३१० मिटर लामो ठाडो सुरुङमा स्टिल लाइनिङको कार्य अगाडि बढाउन समस्या पैदा भएको छ ।

पटक पटक भारतीय ठेकेदारलाई स्टिल लाइनिङको काम गर्न भनिएपनि सामान आयातमा समस्या भएको देखाउँदै सोचेजति प्रगति गर्न नसकेको बताइएको छ ।  सुरुङ निर्माण सम्पन्न भएपछि त्यसको मर्मत तथा सम्भार(कंक्रिटिङ) गर्ने कार्य भइरहेको छ । तर सोचेजति प्रगति भने हुन सकेको छैन ।

सो आयोजनाको सुरुङ अन्य आयोजनाको तुलनामा फरक ढंगले निर्माण गरिएको छ । नेपालमा पहिलो पटक सुरुङमार्गमा ठाडो सुरुङसमेत रहेको छ । ठाडो सुरुङमा ‘स्टिल लाइनिङ’ गर्ने कार्य नै सबैभन्दा अप्ठ्यारो कार्यको रुपमा रहेको आयोजना प्रमुख विज्ञान श्रेष्ठको भनाइ छ । आयोजनामा अत्यन्तै अप्ठ्यारो कार्यका रुपमा रहेको दुईवटा ठाडो सुरुङ निर्माण यसअघि नै सम्पन्न भएको हो ।

कुल ३११ मिटर लामो माथिल्लो पेनस्टक सार्प टनेल गत भदौ ३१ गते निर्माण सम्पन्न भएको हो भने ३७३ मिटर लामो तल्लो पेनस्टक सार्प टनेल २०७१ माघमा सम्पन्न भएको हो । तर सो कार्यमा संलग्न निर्माण व्यवसायीको कार्यशैली र कार्यक्षमतामा प्रश्न उठेको छ । पेन स्टक पाइप आयात गर्न समय लागेको छ । सो कार्यको जिम्मा भारतीय कम्पनी टेक्स म्याको रेल एण्ड इञ्जनियरिङ कम्पनीले लिएको छ ।

आयोजनाले ठेकेदारलाई कुनै पनि विषयमा लापरबाही नगर्न र तोकिएको समयमा काम गर्न निर्देशन दिएको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका अध्यक्ष समेत रहेका कुलमान घिसिङले आयोजना आम नेपालीको आशा र भरोसाको केन्द्रका रुपमा रहेकाले यसलाई शीघ्र सम्पन्न गराउन आयोजनामा कार्यरत सबै कर्मचारी र निर्माण व्यवसायीलाई गत मंसिरमा निर्देशन दिएका थिए ।  

प्रसारण लाइन निर्माणमा सफलता हासिल भएको छ । कुल २२० केभी क्षमताको प्रशारण लाइनमा निर्माण हुने १२७ टावरमध्ये हालसम्म ११० वटा टावर जडान कार्य सम्पन्न भएको छ ।

त्यस्तै धेरै जसो  टावरको जग निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएकामध्ये ९ किलोमिटर तार तान्ने कार्य समेत सम्पन्न भएको छ । 


सवस्टेशन कहिले बन्छ थाहा छैन

विद्युत् जोड्नका लागि निर्माणको क्रममा रहेको न्यू खिम्ती सवस्टेशनका कारण भने समस्या पर्ने देखिएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्न भारतको केइसिइन्टरनेशनले माटो परीक्षण गरिरहेको छ ।

लामो समयसम्म जग्गा प्राप्तिको समस्यामा अल्झिएको सवस्टेशनको निर्माणको हालको गति हेर्दा एक वर्षभित्र निर्माण सम्पन्न गर्न समस्या पर्ने देखिएको छ । रामेछापमा निर्माण गर्ने भनिएको सवस्टेशन माटो परिक्षणमा नै अल्झनुले आयोजनाबाट उत्पादित विद्युत् जोडन समस्या भएको छ । सवस्टेशन नेपाल विद्युत् प्राधिकरणले बनाउन लागेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप